अर्थ / बाणिज्य

गहुँ निकासीमा भारतको प्रतिबन्ध, नेपालमा भएको थियो ९ महिनामै ६ अर्बको आयात

इकागज |
बैशाख ३१, २०७९ शनिबार १९:३८ बजे

काठमाडौँ– विश्वकै दोस्रो ठूलो गहुँ उत्पादनकर्ता भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि त्यसले नेपाल प्रभावित हुने देखिएको छ । नेपालले भारतबाट ठूलो परिमाणमा गहुँ आयात गर्दै आएको छ । 

यसै वर्ष ९ महिना (साउन–चैत)मा नेपालले भारतबाट २ लाख ९ सय १५ टन गहुँ आयात गरेको भन्सार विभागको तथ्यांक छ । उक्त आयात ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ बराबर रहेको र गहुँ आयातबाट सरकारले ३१ करोड ४९ लाख रुपैयाँ राजस्व उठाएको छ । 


भारतबाट नेपालमा मात्र होइन, विश्वका धेरै देशमा गहुँ निर्यात हुन्छ तर यसपटक युक्रेन युद्धले गहुँको उत्पादनमा कमी आएको छ । जसका कारण खाद्य संकटको पर्न सक्ने आँकलन समेत भइरहेको छ । 

युद्धले गर्दा युक्रेनमा मात्र होइन, रुसमा पनि गहुँ उत्पादनमा कमी आएको छ । रुस र युक्रेन पनि मुख्य गहुँ निर्यातकर्ता हुन् । युद्धले ब्ल्याक सीमा गहुँ निर्यात ढुवानीमा समस्या आएको छ । 

त्यसो त यो वर्ष चीनमा पनि गहुँ उत्पादनमा कमी आएको छ भने भारतमा पनि तातो हावाका कारण गहुँ उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आएका कारण भारतले आन्तरिक खपतका लागि पनि गहुँ निकासीमा सतर्कता अपनाउन सक्थ्यो । 

भारतमा विश्वभरको खाद्यान्नको सञ्चितिको १० प्रतिशत हिस्सा रहेको अमेरिकी कृषि मन्त्रालयको तथ्यांक छ । धेरै ठूलो खाद्यान्न बचत किसानलाई प्रदान गरिएको प्रशस्त सहुलियतका कारण सम्भव भएको हो । भारतले विश्वव्यापी खाद्यवस्तु आपूर्तिको कमीलाई धान्न सक्ने भएकाले यसको विशेष जिम्मेवारी रहेको अन्य राष्ट्रहरू समेतको मत छ । 

भारतको वाणिज्य मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गरी गहुँ निकासीमा रोक लगाएको थियो । 


Author

थप समाचार
x