अर्थ / बाणिज्य

अर्थतन्त्र पुनरुत्थान ‘भी’ आकारमा, चालु वर्षमा ५.८% काे विस्तार

पुष्पराज आचार्य |
बैशाख १५, २०७९ बिहीबार १६:३८ बजे

कुन क्षेत्रको वृद्धिदर कति ? स्रोतः केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान

काठमाडौँ– कोभिड–१९ महामारीले आर्थिक वर्ष २०७६–७७ मा झन्डै साढे दुई प्रतिशत अर्थात् २.४ प्रतिशतले खुम्चिएको नेपाली अर्थतन्त्र त्यसयता लगातार विस्तार भैरहेको केन्द्रीय तथ्यांक विभागको संशोधित र प्रक्षेपित अनुमानले देखाएको छ । 

विभागले आज गत आर्थिक वर्ष २०७७–७८ को संशोधित र चालु आर्थिक वर्ष २०७८–७९को आर्थिक विस्तारको प्रक्षेपण सार्वजनिक गरेको हो । विभागका अनुसार गत आर्थिक वर्षमा ४.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको संशोधित अनुमान छ । 


त्यस्तै चालु आर्थिक वर्षमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान छ । यो उपभोक्ता मूल्यमा आधारित आर्थिक विस्तारको प्रक्षेपण हो । आधारभूत मूल्यमा अर्थतन्त्रको विस्तार ५.४९ प्रतिशत हुने प्रक्षेपण छ । अर्थतन्त्रको विस्तार आधारभूत मूल्यमा हिसाब गरिन्छ र त्यसमा कर जोडेर अनुदान (सब्सिडी) घटाएपछि त्यो उपभोक्ता मूल्य हुन्छ । 

बाह्य मुलुकहरूमा चलनचल्तीमा उपभोक्ता मूल्यमा नै अर्थतन्त्रको हिसाब गरिन्छ । नेपालमा भने अघिल्लो वर्षको कर कहिलेकाहीं पछिल्लो वर्षमा पनि उठ्ने भएकाले केन्द्रीय तथ्यांक विभागले आधारभूत मूल्यमा र उपभोक्ता मूल्यमा दुवैथरी तथ्यांक प्रकाशित गर्दै आएको छ । 

पछिल्लो एक दशकको आर्थिक वृद्धिदर

सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । अनपेक्षित वर्षा र बाढीका कारण धानबालीमा पुगेको क्षति र सरकारको खर्च अवस्था केही कमजोर भएकाले आर्थिक वृद्धिदरले सरकारी लक्ष्य हासिल गर्न कठिन देखिएको हो । यद्यपि, काेभिडभन्दा ठीक अघिको, काेभिडको समयको र काेभिडपछिको आर्थिक वृद्धिदर अंग्रेजी वर्णमालाको 'भी' जस्ताे देखिन्छ । कुनै आघातपछि अर्थतन्त्रमा 'यु' आकारको रिकभरी वा 'एल' आकारमा जाने जाेखिम पनि हुन्छ । 'भी' आकारको पुनरुत्थान धेरै राम्राे मानिन्छ । 

सरकारी लक्ष्य नजिक आर्थिक वृद्धिदर हासिल हुने भएपछि त्यसबाट सरकारी अधिकारीहरू पनि हौसिएका छन् । केन्द्रीय तथ्यांक विभागका तालुक निकाय राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दातृ निकायहरू खासगरी विश्व बैंक र एसियाली विकास बैंकले यसअघि सार्वजनिक गरेका प्रक्षेपणलाई ‘कन्जरभेटिभ ग्रोथ फोरकास्ट’ भनेका छन् । 

‘खासमा दातृ निकायले गर्ने प्रक्षेपण ज्वरो आएको मानिसको निधार छामेर अन्दाजमा बताए जस्तै हो,’ उनले भने, ‘उहाँहरू आउनुहुन्छ, हामीसँगै सोध्नुहुन्छ र हाम्रो तथ्यांक लिएर दक्षिण एसियाली परिदृश्य मिसाएर एउटा अनुमान सार्वजनिक गर्नुहुन्छ ।’ 

विश्व बैंकले हालै ‘साउथ एसिया इकोनोमिक फोकस रिसेपिङ नर्म्सः अ न्यू वे फर्वार्ड’ नामक प्रकाशन सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक विस्तार ३.७ प्रतिशत र आगामी वर्षमा ४.१ प्रतिशत रहने उल्लेख गरेको थियो । त्यस्तै, एसियाली विकास बैंक (एडीबी)ले ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो । 

यससँगै नेपाल पनि भारत र बंगलादेश झैं दक्षिण एसियामा तीव्र आर्थिक  विस्तार हासिल गर्ने मुलुकमा परेकाे छ । भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ८.३ प्रतिशत र आगामी वर्ष सन् २०२३ मा ८.७ प्रतिशत हुने प्रक्षेपण छ । बंगलादेशको आर्थिक वृद्धिदर सन् २०२२ मा ६.४ प्रतिशत र आगामी वर्ष ६.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । 

व्यापार, विद्युत्, निर्माण, आवास क्षेत्रले उकास्यो आर्थिक वृद्धिदर

चालु आर्थिक वर्षमा खासगरी खुद्रा र थोक व्यापारमा विस्तार, विद्युत क्षेत्रमा भएको विस्तार र आवास र निर्माण र आवास क्षेत्रमा भएको विस्तारले आर्थिक वृद्धिदरमा सुधार आएको देखिएको छ । 

चालु आर्थिक वर्षमा व्यापारको क्षेत्र ९.१२ प्रतिशतले वृद्धि हुने केन्द्रीय तथ्यांक विभागको अनुमान छ । व्यापार र मोटर तथा मोटरसाइकल मर्मत लगायतले कुल अर्थतन्त्रमा १६.४ प्रतिशतको योगदान गर्छन् । त्यस्तै, अर्थतन्त्रमा ६.१७ प्रतिशत हिस्सा रहेको निर्माण क्षेत्रको वृद्धिदर ९.५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । 

विद्युत, ग्यास, बाफ लगायतका क्षेत्रको वृद्धिदर सबैभन्दा उच्च ३६.६७ प्रतिशत रहने अनुमान छ । यद्यपि यस क्षेत्रले अर्थतन्त्रमा गर्ने योगदान भने १.३७ प्रतिशत छ । अर्को, राम्रो विस्तार गरेको क्षेत्र आवासको योगदान पनि अर्थतन्त्रमा सीमान्त छ । १.६५ प्रतिशत हिस्सा रहेको आवास, भोजन लगायत सेवाजन्य क्रियाकलापको ११.४ प्रतिशत वृद्धि हुने अनुमान छ । ​

औद्योगिक वर्गीकरण अनुसार अर्थतन्त्रमा कुन क्षेत्रको योगदान कति छ ?

कृषिको योगदान घट्दै र उद्योग एवं म्यानुफ्याक्चरिङको बढ्दै

अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षसम्म अर्थतन्त्रमा कृषिको योगदान २६.४ प्रतिशत रहेकोमा घटेर २४.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागको अनुमान छ । त्यस्तै, उद्योग र सेवा क्षेत्रको योगदान बढेको छ । अर्थतन्त्रमा उद्योग, म्यानुफ्याक्चरिङ लगायत क्षेत्रको योगदान १३.७ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत पुगेको अनुमान छ । 

आर्थिक वर्ष

             जीडीपीमा योगदान

प्राथमिक क्षेत्र (कृषि ,वन)

द्वितियक क्षेत्र (उद्योग, म्यानुफ्याक्चरिङ)

सेवा क्षेत्र

२०५७–५८

३७.६

१४.४

४८

२०६७–६८

३४

१३.९

५२.२

२०७७–७८

२६.४

१२.५

६१.१

२०७८–७९

२४.५

१३.७

६१.८

 

४८ खर्ब ५१ अर्बको अर्थतन्त्र 

चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतले अर्थतन्त्र विस्तार हुने विभागको प्रारम्भिक अनुमान अनुसार नेपाली अर्थतन्त्रको कुल आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुग्ने भएको छ । त्यस्तै चालु मूल्यमा कुल उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान छ । यो उपभोग कुल गार्हस्थ उत्पादन अर्थात् अर्थतन्त्रको ९०.७३ प्रतिशत हो । 

यस आर्थिक वर्ष २०७८–७९ मा नेपालको निर्यातमा सुधार भई ३ खर्ब २० अर्बको निर्यात पुग्ने अनुमान छ, जुन कुल गार्हस्थ उत्पादनको ६.६१ प्रतिशत हुन आउँछ भने आयात १८ खर्ब २० अर्ब अर्थात् कुल गार्हस्थ उत्पादनको ४१.४९ प्रतिशत पुग्ने अनुमान छ । पछिल्लो वर्षमा निर्यात हुने वस्तुको मूल्यको तुलनामा आयातीत वस्तुको मूल्यवृद्धि उच्च भई ‘टर्म्स अफ ट्रेड’ को सूचकांक ओरालो लागेको छ । 

त्यस्तै नेपालीहरूको प्रतिव्यक्ति आय चालु आर्थिक वर्ष २०७८–७९ मा १ लाख ६४ हजार पाँच सय ९८ अर्थात् १,३७२ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x