अर्थ / बाणिज्य

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा

इकागज |
बैशाख १४, २०७९ बुधवार १९:१० बजे

काठमाडौं – फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सीईओका रुपमा कार्यरत थिए । 

सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए । उनी यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ ।  आइटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको कम्पनीले जनाएको छ । 


फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । 

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैँकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड  ४० लाख भन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।


Author

थप समाचार
x