अर्थ / बाणिज्य

इन्टरनेटमा 'प्राइसवार'सँगै गुणस्तरप्रति उपभोक्ताको गुनासो बढ्दै

कमल धिताल |
माघ ५, २०७८ बुधबार १४:२५ बजे

काठमाडौँ - गत जेष्ठमा चौधरी ग्रुपले १२० एमबीपीएस सहितको इन्टरनेट प्रदान गर्नेगरी नेपाली इन्टरनेटको बजारमा डेब्यू गर्‍यो । सिजीले मासिक शुल्क ९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस इन्टरनेट दिँदै गर्दा नेपालका अन्य ठूला इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक, भायनेट, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायकले भने २५ एमबीपिएस कै झन्डै १२ सय रुपैयाँ माथि असुल्दै आएका थिए ।

सिजी नेटले आएको केही समयसम्म चुपचाप लागेका पुराना इन्टरनेट सेवा प्रदायकहरू केहि महिना पछि भने (प्राइस वार) मूल्य समायोजन तथा स्पीड बढाउने तर्फ लागे । यसरी नेपालमा केहि महिनाअघि सम्म अत्यन्तै महंगो रहेको इन्टरनेट र यसको मूल्य केहि महिना मै निकै घटेको छ ।


हाल ग्राहक संख्याका आधारमा ठूलो बजार हिस्सा ओगट्ने वर्ल्डलिंक कम्युनिकेशन रहेको छ । वर्ल्डलिंकको गत कार्तिक सम्मको ग्राहक संख्या हेर्दा ५ लाख ५० हजार भन्दा धेरै ग्राहक थिए । यसहिसाबले सिजी नेटको आगमनसँगै ठूला इन्टरनेट प्रदायकलाई चुनौती थपिएको थियो । यसरी सिजीले १ सय २० एमबीपीएस इन्टरनेट झन्डै आधाभन्दा सस्तो मूल्यमा दिन थालेपछि वर्ल्डलिंक, भायनेट लगायताका ठूला इन्टरनेट कम्पनी पनि आफ्नो मूल्य घटाई स्पीड बढाउन थालेका छन् । इन्टरनेट बजार प्रतिस्पर्धी हुँदा यसले उपभोक्तालाई केही हदसम्म फाइदा भएको छ ।

यसमा अर्को योगदान गर्नेमा सिजीनेट भन्दा केहि अगाडी  डाइरेक्ट टु होम (डिटिएच) सेवामा रहेको डिसहोम समेत रहेको छ । यसले पनि नेपाली इन्टरनेटको बजार घटाउनमा सिजीसँगै उभिएको थियो।  मोबाइल सेवाको लाइसेन्स पर्खिरहेको चौधरी ग्रुपलाई तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा तथा युवराज खतिवडाले लाइसेन्स नदिँदा  सीजी इन्टरनेटको बजारमा प्रवेश गरेको थियो ।

यसरी सिजी नेट बजारमा आएको केहि समयमा सुविसुले १५० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गर्‍यो। त्यसपछि भने सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक पनि प्राइसवारमा उत्त्रियो।  वर्ल्डलिंकले ७ सय ९९ रूपैयाँमा सस्तो प्याकेज बजारमा ल्यायो जसमा इन्टरनेट सहित आइपिटिभी समेत हेर्न सकिने सुविधा रहेको थियो ।

त्यसपछि क्लासिकटेकले ग्राहक तान्न तथा अन्यलाई काउन्टर दिनको लागि ७ सय ९९ मै २० एमबिपिएस सहितको इन्टरनेट तथा आइपीटीभी सहितको प्याकेज ल्यायो । भायनेटले आफ्नो ६० एमबीपीएस प्याकेजलाई सोही मूल्यमा १ सय एमबीपीएसको इन्टरनेट दिन थाल्यो। भायनेटको यस अफरलाई समेत प्रतिवाद गर्दै क्लासिक टेकले सोही अनुसारको प्याकेज १८ सय रुपैयाँमा उपलब्ध घोषणा गर्‍यो ।

अब सेवाप्रदायकहरु सस्तो मूल्यमा कम स्पिडको इन्टरनेटको ठाउँमा कम मूल्यमा बढी स्पिड दिने प्रतिस्पर्धामा देखिएका छन् । मासिक ६०० रुपैयाँमा डिशहोम टिभी प्रयोग गरिरहेका ग्राहकका लागि भन्दै डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क गरेको छ भने मासिक २ सय ३३ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट अफर गरिरहेको छ ।

अस्वस्थ प्रतिस्पर्धा भयो: आइस्पान

हाल नेपालमा भएको इन्टरनेट प्राइसवार अस्वस्थ प्रतिस्पर्धाका भएको नेपाल इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) बताउँछ । हाल कतिपय सेवा प्रदायकले घोषणा गरेको अनुसारको स्पीड समेत नदिएमा आफ्नै टाउकामा आरोप आउने आइस्पान अध्यक्ष सुधिर पराजुली बताउँछन् ।

हाल सबैले आफूखुसी नयाँ नयाँ अफर ल्याएको र यसलाई आइस्पानले हस्तक्षेप गर्दा नराम्रो म्यासेज जाने बताउँछन् । हाल यस सम्बन्धमा प्राधिकरण तथा सेवा प्रदायकहरूसँग छलफलमा रहेको पराजुली बताउँछन् । 'हाल इन्टरनेट सेवामा अस्वस्थ प्रतिस्पर्धा धेरै बढ्यो यसमा नियमक निकायलाई पनि प्रभावकारी नियमनका लागि समन्वय गर्न आग्रह गरेका छौँ' उनले इकागजसँग भने । प्रतिस्पर्धामा कोही पनि पछाडी पर्न नचाहाने हुँदा यसलाई नियमकका तर्फबाट नै उचित कदम चाल्नुपर्ने पराजुली बताउँछन ।

भनेको जति स्पीड दिन्छन् त ?

हाल इन्टरनेट सेवा प्रदायकबीच इन्टरनेटमा थ्री डिजिट वार चलिरहेको देखिन्छ । केहि  समयअघिसम्म धेरै भनेको ६० एमबीपीएस इन्टरनेट दिएका सेवा प्रदायकहरू हाल भने ५ सय एमबीपीएस सम्म दिइरहेका हुन्छन् । कतिपय इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई धेरै स्पीड भनेर कम दिइरेहका समेत देखिन्छन् । इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई इन्टरनेट जडान गर्ने बेलामा सेयरिङ रेसियोमा हस्ताक्षर गराएका हुन्छन । जसमा १:८, १:१६, १:३२ हुन्छन ।

उदाहरणका लागि १ जीबी स्पीडलाई सेवा प्रदायकले ८ जना ग्राहकलाई बाँडेका हुन्छन् । सबैले एकैपटक प्रयोग गरेको खण्डमा स्पीड बढाएर त्यसमा कमी आउने हुन्छ । इन्टरनेटमा ग्राहकले बिहान तथा बेलुका निकै स्लो भएको गुनासाहरू गर्नुमा यसलै गर्दा रहेको सुविसु केबलनेटका सञ्‍चालक तथा आइस्पान अध्यक्ष सुधिर पराजुली बताउँछन् ।

अनुमतिबिना मुल्य घोषणा गर्न नमिल्ने

उता इन्टरनेट सेवाको अनुगमन गर्ने जिम्मा पाएको नेपाल दुरसञ्चार प्राधिकरणले भने बिना जानकारी तथा अनुमतिबिना मूल्य तय गर्न नपाउने नयम रहेको बताउँछ । सिजीले आफ्नो सेवाको सुरुवातमा प्रवर्धनात्मक अफर ल्याएपछि अन्यले आफ्नो ग्राहक होल्ड गर्ने भन्दै प्राधिकरणको अनुमति बिना नै मूल्य तथा स्पीड बढाउँदै आएपछि प्राधिकरणले कहि समयअघि अनुमति लिएरमात्र मूल्य एवं स्पीड बढाउन सूचना निकालेको प्राधिकरण आर्थिक विश्लेषण शाखाका उप-निर्देशक झलकबहादुर थापा बताउँछन् ।

हालसम्म १ सय एमबीपीएसको लागि मात्र प्राधिकरणले अनुमति दिएको थापा बताउँछन् । इन्टरनेट सेवा प्रदायकले अफर ल्याउँदा १ महिना ३ महिना लगायतको रूपमा भने ल्याउन पाउने र यसको लागि प्राधिकरणलाई जानकारी सूचित गराउनुपर्ने हुन्छ । मासिक शुल्कका तलमाथि गर्दा भने प्राधिकरणबाट अनुमति प्राप्त पश्चात मात्रै गर्नुपर्ने आइस्पान अध्यक्ष पराजुली बताउँछन । हाल अधिकांस सेवा प्रदायकले अफर भन्दै स्पीड तथा मूल्य निर्धारण गर्ने गरेका छन् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x