अर्थ / बाणिज्य

अफगानिस्तानलाई सीएनआईको मानवीय सहयोग

इकागज |
पुस ३०, २०७८ शुक्रबार १८:३ बजे

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)ले सार्क सदस्य राष्ट्र अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन् । अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख रुपैयाँ मूल्य बराबरको औषधी हस्तान्तरण गरेको छ ।

सहयोग सामग्री ग्रहण गर्नुहुँदै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए । ‘सरकारले निजी क्षेत्रलाई आव्हान गर्‍यो, तपाईंहरूले सहयोग जुटाइदिनुभयो,’ मन्त्री खड्काले भने, ‘यो क्रियाकलापले सरकार र निजी क्षेत्रको सहकार्य थप बलियो बनाएको छ ।’


मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौति पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने उल्लेख गरे । 

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालको कुटनीतिक क्षेत्रमा यो महत्वपूर्ण काम भएको उल्लेख गर्दै सरकारको आव्हानमा निजी क्षेत्रले मानवीय सहायतामा सधैं काम गरिरहेको जानकारी गराए । ‘हाम्रो छिमेकमा परेको अप्ठ्यारो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्र मिलेर यो उदाहरणीय काम भएको छ,’ अग्रवालले भने । 

परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइने बताइएको छ । हिमालयन एयरलाइन्सको च्यारिटी उडानमार्फत सहयोग सामग्री काबुल पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेश अग्रवाल र नेपालका लागि सेसल्सका अवैतनिक दूत एवं परिसंघ प्रदेश नं २ का संयोजक नरेश दास पनि उपस्थित थिए । 
 


Author

थप समाचार
x