अर्थ / बाणिज्य

किन भेटिँदैनन् हराएका मोबाइल ?

कमल धिताल |
पुस ७, २०७८ बुधबार १०:८ बजे

काठमाडौँ - गत असारमा सुन्धारा घुम्न गएका मनिष शोतीको मोबाइल हरायो । साथीसँग घुम्न गएका उनले झोलापछाडि राखेको मोबाइल संकटा मन्दिरदेखि सुन्धारसम्म पुग्दा थिएन । कतै खस्यो कि भन्दै भौतारिए पनि उनले आफ्नो मोबाइल भेटेनन् । उनले महानगरीय प्रहरी परिसरमा पुगरे आफ्नो मोबाइल हराएको रिपोर्ट दर्ता गरे । भेटिन्छ भनेर केही महिना नयाँ मोबाइलसमेत नकिनी बसे। प्रहरीमा रिपोर्ट गरेको दुई महिना भन्दा बढी हुँदासमेत केही जानकारी नआएपछि उनले नयाँ मोबाइल किनेको बताउँछन् । प्रहरीबाट उनको मोबाइलको बारेमा हालसम्म कुनै जानकारी नआएको उनी बताउँछन् ।

गत वर्षको दसैंका लागि काठमाडौँ मलमा सपिङ सकेर गाडी कुर्न बसेकी दुर्गा आचार्यले मोबाइल हराइन्। दसैंको किनमेल गर्न जाँदाको भिडमा एकछिन अलमलिदा उनको मोबाइल व्यागमा थिएन । करिब ३० हजारमा किनेको मोबाइल छिनमै गायब भएपछि दुखी हुँदै प्रहरीकहाँ उजुरी गरेपनि हालसम्म अत्तोपत्तो छैन । अब त मोबाइल भेटिएला भन्ने आशा समेत मरिरसकेको उनी बताउँछिन् । 'हराएर अर्को मोबाइल किनेको पनि पुरानो भैसक्यो अब त्यो मोबाइल जसले लगे पनि दानै भो' आचार्य भन्छिन् ।


यस्तै गत वर्षको मंसिरमा कलंकीदेखि बसुन्धरासम्म जानको लागि महानगर यातायातमा चढेका दिनेश थपलियाको मोबाइल गाडीमै हरायो। गाडीको भाडा तिर्नको लागि पैसा झिक्ने क्रममा केहीबेर सिटमा राखेको मोबाइल हरायो । करिव ५० हजार पर्ने उनको मोबाइल गाडीबाटै हराउँदासमेत भेटिएन ।  प्रहरीमा रिपोर्ट गरेपनि हालसम्म उनको मोबाइल भेटिएको छैन ।

एक वर्षमा ९४६४ हराएका दर्ता हुँदा ११२१ फेला

मोबाइल हराउने दर्ता संख्या बढेपनि भेटिने भने संख्या भने निकै कम छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीमा ९ हजार ४ सय ६४ मोबाइल हराएका उजुरी दर्ता भएका छन्। वर्षभर दर्ता भएका उजुरीमा भेटिएका संख्या भने न्यून रहेको देखिन्छ । प्रहरीमा भएका ९ हजार ४ सय ६४ उजुरीमा जम्मा १ हजार १ सय २१ मोबाइल फेला परेका छन् । हराएका दर्ता भएका अनुपातमा भेटिने संख्या निकै कम रहेका रहेका छन् अर्थात हेराएका मध्ये १० प्रतिशत मात्रै भेटिने गरेका छन् ।

नेपाल दुरसञ्‍चार प्राधिकरणले गत असोजसम्म निकालेको तथ्यांक अनुसार हाल नेपालमा ४ करोड भन्दा धेरै सिम कार्ड विक्री भएको तथ्यांङ्क देखिन्छ । एक व्यक्तिले दुई सिम भएका मोबाइल बोक्दा पनि करिब २ करोड व्यक्तिसँग मोबाइल रहेको देखिन्छ । यसरी मोबाइलको प्रयोग बढ्दै जाँदा हराउने क्रम पनि बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रहरी समक्ष दर्ता भएका र भेटिएका मोबाइलको तथ्यांक

महिना

दर्ता संख्या

फेला परेको संख्या

खोजी गर्न बाँकी

भेटिएको प्रतिशतमा

साउन

६५८

१२०

५३८

१८

भदौ

१९६

३१

१६५

१५

असोज

८८४

१५६

७२८

१७

कार्तिक

७१२

९९

६१३

१३

मंसिर

१०४५

१६०

८८५

१५

पौष

१२३५

१४२

१०९३

११

माघ

१२२१

१०८

१११३

फाल्गुन

१२७६

११२

११६४

चैत्र

१४६३

१३७

१३२६

वैशाख

५३१

४१

४९०

जेष्ठ

२३४

२३९

असार

४२५

११

४१४

जम्मा

९४६४

११२१

८७६८

१०

बढ्दै उजुरी संख्या

आर्थिक वर्ष २०७७/०७८ प्रहरीमा ९ हजार ४ सय ६४ उजुरी पर्दा यो आ.व.को साढे ४ महिनाको अवधिमा ६ हजार ३ सय ३२ उजुरी दर्ता भएको देखिन्छ । यसरी साढे ४ महिनामा प्रहरीमा परेको उजुरी संख्या निकै बढेको देखिन्छ । कतिपयमा मोबाइल हराएपछि उजुरी गर्दा भेटिन्छ भन्ने सूचनाले पुगेका कारणपनि उजुरी बढेको प्रहरी बताउँछ । यता बितेका ४ महिनामा हराएका र भेटिएका मोबाइलको तथ्यांक हेर्दा भेटिने संख्या भने निकै निराशाजनक देखिएको छ । यो आ.व.मा ६ हजार ३ सय ३२ मोबाइल हराउँदा जम्मा २ सय १७ वटा मोबाइल भेटिएका छन् । अर्थात प्रहरीले हराएका मध्ये ३.४२ प्रतिशत मोबाइल फेला परेको देखिन्छ ।

आइएमइआई नम्बर नहुँदा रिपोर्ट गर्न समस्या

मोबाइल हराउने संख्या बढेपनि कतिपयले भने आइएमइआई तथा झन्झटिलो प्रकृयाले गर्दा रिपोर्ट नै नगर्ने देखिएको छ । मोबाइल हराएपछि भेटिँदैन भन्ने मानसिकताले प्रहरीमा रिपोर्ट नै नगर्ने बताउँछन् । गत वैशाखमा भक्तपुरको एक कफिशपबाट मोबाइल हराएका असीम दाहालले नभेटिने आशामा रिपोर्ट समेत गरेनन् । 'रिपोर्ट गरेपछि आफ्नो पालो आउँनै वर्ष दिन लाग्छ । भेटिए पनि त्यो फोन कामै नलाग्ने भैसकेको हुन्छ । चोरी भएको भए पो रिपोर्ट गर्नु हराउने आफैं भएपछि आफूलाई सजाय भन्दै चित्त बुझाउँने' असीम बताउँछन् । 

यस्तै २ वर्षअघि कास्कीको बैदाममा मोबाइल हराएका सन्तोष अधिकारीले पनि प्रहरीमा रिपोर्ट गरेनन् । आफूसँगै मोबाइलको आइएमइआई नं नभएकाले उनले रिपोर्ट गरेनन् । उपहार पाएको सामसङको मोबाइल हराउँदा उनलाई निकै दु:ख लागेको बताए । प्रहरीमा रिपोर्ट गर्न मोबाइलको आइएमइआई नं चाहिने हुँदा उनको सो नं नभएपछि प्रहरीमा रिपोर्ट गर्न नपाएको अधिकारी बताउँछन् ।  

मोबाइल कतिपयले प्रहरीमा गएर रिपोर्ट गर्नुपर्ने तथा मोबाइलको आइएइआई चाहिने हुँदा रिपोर्ट दर्ता नगर्ने गरेको पाइन्छ । प्रहरीमा रिपोर्ट गरेपनि भेटिने सम्भावना निकै कम हुने तथा भेटिएपनि चलाउँनै नमिल्ने अवस्था हुने भन्दै प्रहरीमा नजाने समेत भेटिएका छन् ।

भेटिने सम्भावना किन कम ?

कुनै प्रयोगकर्ताको मोबाइल हराएपछि प्रहरी कार्यालयमा रिपोर्ट गर्दा प्रहरीले आइएमइआई नम्बरमार्फत यसको खोजी गर्छ। यदि कुनै मोबाइल हराएको खण्डमा अन्यले त्यसमा सिम राखेर प्रयोग गर्दा मात्र भेटिने प्रहरी बताउँछ । यदि कसलै अरुको मोबाइल चोरेर त्यसमा अन्य सिम प्रयोग भए त्यस्ता मोबाइल सजिलै भेटिन्छन् तर त्यस मोबाइलमा चिप तथा अन्य पार्टपुर्जा निकालेर बेचेमा भने भेटिने सम्भावना नरहने महानगरीय प्रहरी प्रवक्ता सुशील सिंह राठौर बताउँछन् । हाल नेपालमा मोबाइल चोरी गरि भारतमा समेत लगेर बेचिने गरेको हुँदा त्यस्ता मोबाइल भने भेटिन गाह्रो रहेको उनको भनाइ छ। कतिपय मोबाइल बर्षौंसम्म प्रयोग नगरी राख्‍ने गर्दा भेटिने सम्भावना कम हुने राठौर बताउँछन् । 

हराएका मोबाइल नेपालैमा अर्को सिम हालेर प्रयोग गर्न भने नसकिने बताउँछन् । हराएपछि मोबाइल सेवा प्रदायकको निगरानीमा हुने हुँदा त्यसमा नयाँ सिम हालेर नेटवर्कमा आउने बित्तिकै ट्र्याक हुने प्रवक्ता राठौर बताउँछन् । कतिपय अवस्थामा हराएका मोबाइल अपराधिक क्रियाकलापमा समेत प्रयोग हुने हुँदा सकेसम्म हराउनसाथ प्रहरीमा खबर गर्नुपर्ने राठौर बताउँछन् । 

यता नेपाल दुरसञ्चार प्राधिकरणले पनि मोबाइल हराएको ट्र्याक गर्नको लागि एक वर्षअघिदेखि छुटै वेब पोर्टल सञ्चालनमा ल्याएको छ। प्राधिकरणले पनि हराएको मोबाइल कुनैपनि नेपाली मोबाइल नेटवर्कमा आएपछि मात्र थाहा हुने दुरसञ्चार प्राधिकरण प्रवक्ता सन्तोष पौडेल बताउँछन् । कुनै पनि मोबाइल हराएपछि ट्र्याक गर्न प्राधिकरणको वेबसाइटमा गएर आइएमइआईलगायतका जानकारी हालेर पठाएपछि प्राधिकरणले सो जानकारी सेवा प्रदायकसम्म पुर्‍याउने गर्छ । कुनै पनि हराएको मोबाइल सेवा प्रदायकको नेटवर्कमा देखिएमा प्रहरीमा खबर गर्ने दुरसञ्चार प्राधिकारणका इन्जिनियर दिनेश मैनाली बताउँछन् ।   

हराएमा यसरी रिपोर्ट गर्न सकिन्छ

यदि आफ्नो मोबाइल हराएमा दुरसञ्‍चार प्राधिकरणको साइटमा गएर उजुरी दर्ता गर्न सकिने प्रवक्ता पौडेल बताउँछन्। उपत्यका बाहिरबाट मोबाइल हराएमा प्राधिकरणले सजिलै अनलाइन मार्फत रिपोर्ट गर्न सकिने व्यवस्था मिलाएको पौडेल बताउँछन् । प्रहरीमा जाँदा तपाईंले मोबाइलको आइएइआई नम्बर राखेर लिखित रिपोर्ट दिनुपर्ने हुन्छ । दुरसञ्‍चार प्राधिकरणको साइटमा गएर रिपोर्ट गर्नको लागि भने यहाँ क्लिक गर्नुहोस् । 

यो पनि पढ्नुहोस् : मोटरसाइकल चोरका हजार दाउ, हराएका ४० प्रतिशत मात्र भेटिन्छन्


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x