अर्थ / बाणिज्य

सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

इकागज |
माघ २२, २०७९ आइतवार १९:३६ बजे

काठमाडौँ- बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् ।
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।
    
भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि व्यवसायीसँग आवश्यकताअनुसार परामर्श गरेर अगाडि बढ्ने उनले बताए । मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी कारोबारको निर्देशिका जारी गर्न आग्रह गरेका थिए ।
    
यस्तै, सुनचाँदी व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रमा उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाइ बज्राचार्य र सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतले व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए ।



Author

थप समाचार
x