अर्थ / बाणिज्य

प्रहरीको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा

शुरज थपलिया |
पुस २५, २०७९ सोमबार १८:४० बजे

काठमाडौँ – नेपाल प्रहरीको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ। २०७२ मा आएको गोरखा भुकम्पबाट हनुमान ढोका स्थित प्रहरी परिसरको कार्यालयमा क्षति पुगेपछि भद्रकालीमा निर्माण भएको भवनको काम अन्तिम चरणमा पुगेको हो । 

हनुमान ढोका प्रहरी बसेको भवनमा क्षति भएपछि त्यहाँको प्रहरी टोली टेकुस्थित साल्ट ट्रेडिङको जग्गामा सरेका थिए । प्रहरी बसेको टेकुको जग्गा साल्ट ट्रेडिङले नेपाल आयल निगमलाई बेचेको थियो। निगमले पटकपटक पत्राचार गरेर प्रहरीलाई ठाउँ खाली गर्न आग्रह गर्दै आएको भएपनि नयाँ भवन निर्माण नहुँदा महाशाखालाई समस्या परेको थियो ।


भुकम्पबाट क्षति भएको हनुमानढोका स्थित प्रहरी परिसरको कार्यालयको नयाँ भवन बनाउन जग्गा खरिदका लागि सरकारले काठमाडौं प्रहरी परिसरलाई एक अर्ब २० करोड निकास गरेको थियो । प्रहरी परिसरले भवन निर्माण गर्ने भद्रकालीमा रहेको नेपाल खाद्य संस्थाको १५ रोपनी जग्गा खरिद गरि कार्यालय भवन निर्माण कार्य थलिएको थियो।

सो भवन निर्माणको लागि २०७६ भाद्र २४ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका थिए । उक्त भवन निर्माणको काम ज्वाइन्ट भेन्चरमा रहेको कम्पनी लुम्बिनी/खानी/समानान्तर जे.भी.  ले भ्याट बाहेक रु. ८० करोड ९१ लाख ५० हजार ५६० रकममा ठेक्का पाएका थिए ।
उक्त भवनको निर्माण समयमै सम्पन्न भइ निर्माणकर्ता कम्पनीले हस्तान्तरण गर्ने तयारी गरेको छ । 

नयाँ निर्माण गरिएको भवन भूकम्प प्रतिरोधात्मक,अपाङ्गमैत्री, वातावरणमैत्री हुनुको साथै  बेस्मेन्ट पार्किङको समेत व्यवस्था छ । सुविधा सम्पन्न भवनको बेस्मेन्टमा ४ पाङ्ग्रे सवारी साधन ७० वटा र २ पाङ्ग्रे सवारी साधन २३२ वटा सम्मको अटाउने क्षमता छ । महाशाखाको भवनमा आधुनिक साथै सुविधा सम्पन्न कार्य प्रकृति अनुसारको कार्यालय, महिला र पुरुष ब्यारेक, मिटिङ हल, मेस, बाथरुम तथा अत्याधुनिक हिरासत कक्ष छ जसमा तीन सयसम्मलाई हिरासतमा राख्न मिल्छ । उक्त भवनमा जम्मा ५ ब्लक छन् । यस भवन नेपालकै प्रहरी भवन मध्येको ठूलो र सुविधा सम्पन्न भवन हो । 


 


Author

थप समाचार
x