अर्थ / बाणिज्य

डीएफसीले कृषिमा लगानी र साना व्यवसायहरूलाई बढुवा दिने

इकागज |
मंसिर २२, २०७९ बिहिवार १७:४७ बजे

फाइल तस्वीर

काठमाडौँ- नेपाल – अमेरिकी अन्तर्राष्‍ट्रिय विकास वित्त निगम (डीएफसी) का विकास ऋणसम्बन्धी उपाध्यक्ष जिम पोलनले यसै साता लक्ष्मी बैङ्कका साथै नेपालमा दीगो कृषि र खाद्य सुरक्षालाई टेवा पुर्‍याउने अन्य व्यवसायहरूसँग भेट गरेका छन् । एक भ्रमणको हिस्सा रहेका उक्त भेटहरूमा पोलन र डीएफसीका अधिकारीहरूले नेपाल र यस क्षेत्रमा विकासको प्रवर्द्धन गरिरहेका निजी क्षेत्रका व्यवसायहरूसँग कुराकानी गरेका छन् ।

हालसालै डीएफसीले नेपालमा कृषि व्यवसायमा संलग्न लघु, साना तथा मझौला उद्यमहरूलाई कर्जा प्रदान गर्न पुँजी उपलब्ध गराउन लक्ष्मी बैङ्कलाई ४ करोड ५० लाख अमेरिकी डलरको प्रत्यक्ष ऋण र २५ लाख डलरको ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । उक्त ऋण पोर्टफोलियो ग्यारेन्टी उपलब्ध गराउन डिएफसीले अमेरिकी सरकारको विकास नियोग युएसएआइडी(नेपालसँग सहकार्य गरेको थियो ।  


आर्थिक वृद्धि र विकासको गति बढाउन डीएफसीले लक्ष्मी बैङ्कका अतिरिक्त नेपालका प्रमुख क्षेत्रहरूमा लघु, साना तथा मझौला व्यवसायलक्षित थप वित्तीय परियोजनाहरूमा सहयोग गर्दै छ । यीमध्ये छन् नेपाली प्रविधि, स्वास्थ्य सेवा र नवीकरणीय ऊर्जा कम्पनीहरूलाई अति आवश्यक वृद्धि पुँजी उपलब्ध गराउन डोल्मा इम्प्याक्ट फन्ड २ मा सेयर लगानी  र कोभिड-१९ महामारीका कारण नेपालका लघु, साना र मझौला व्यवसायहरूमा सिर्जित ठूलो वित्तीय खाडललाई सम्बोधन गर्न एनएमबी बैङ्कलाई प्रदान गरिएको १० करोड अमेरिकी डलरको प्रत्यक्ष ऋण रहेको छ ।

हाल नेपालमा डीएफसीको १६ करोड अमेरिकी डलरभन्दा बढीको लगानी छ । साथै, डीएफसी नेपाल र यस क्षेत्रका नयाँ विकास परियोजनाहरूलाई सहयोग गर्दै आफ्नो लगानीको पोर्टफोलियो थप विस्तार गर्ने प्रयासमा रहेको जनाएको छ ।


Author

थप समाचार
x