अर्थ / बाणिज्य

केन्द्रीय बैंकको कारबाहीमा ९ वाणिज्य बैंक, जरिवानादेखि सचेत गराउनेसम्म

इकागज |
मंसिर १३, २०७९ मंगलबार १३:२८ बजे

फाइल तस्वीर

काठमाडौंँ - नियम विपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैँकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियम उल्लंघन गरेको भन्दै ९ बैंकमाथि कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारबाहीमा पर्नेहरूमा कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक,बैंक अफ काठमाण्डू, हिमालयन बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य रहेका छन् ।


राष्ट्र बैँकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै आधार दर भन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै सनराइज र मेगा बैंकका सीईओलाई सचेत गराइएको छ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा दिएको भन्दै सनराइज बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ ।

मेगा बैंकले विगतमा लगानी भएका कर्जा असुल नगरी पटक–पटक नवीकरण गरेको भन्दै बैंकका सीईओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराइएको छ । राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेड, प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

एक पटक लगानी भएको कर्जामा प्रिमियम दर वृद्धि गरेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ ।


Author

थप समाचार
x