अर्थ / बाणिज्य

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

इकागज |
असोज १७, २०७९ सोमबार २०:५४ बजे

फाइल फोटो

काठमाडौँ- मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअष्टमीको दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब दुई करोडको लड्डु बिक्री भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए ।


उनले भने, “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री भएको हो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भएको छ । यस हिसाबले हेर्ने हो भने करिब रु दुई करोडको लड्डु बिक्री भएको अनुमान छ ।”

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको दुई सयभन्दा बढी मिठाई पसलबाट मिठाइ बिक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए ।

बजारमा आइतबार साँझदेखि नै मिठाई पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरु पनि अत्यधिक मात्रामा बिक्री भएको उपभोक्ताहरुले बताएका छन् ।

बजारमा सानादेखि ठूला मिठाई पसल सञ्चालन गर्ने पसलेहरुले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् । रासस


Author

थप समाचार
x