अर्थ / बाणिज्य

प्रविधिको शीतयुद्धमा शक्ति राष्ट्रहरू

इकागज |
असोज १७, २०७९ सोमबार १७:१५ बजे

काठमाडौँ - औद्योगिक क्रान्तिले धेरै नयाँ विचारधाराहरूलाई जन्म दिएका छन्। औद्योगिक क्रान्ति नभएको भए आधुनिक संसारमा साम्यवाद र पुँजीवाद जस्ता विचारधाराले आकार लिन सक्ने थिएन । औद्योगिक क्रान्तिको कारण धेरै नयाँ आविष्कारहरू भएका छन्। 

यसले आजको आधुनिक संसारलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। हाल विभिन्न शक्ति सम्पन्न राष्ट्रहरू डाटा, आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम कम्प्युटिङमा पहिला को हुने भन्ने दौडमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।


यसलाई हेर्दा ठूला महाशक्तिहरू राष्ट्रहरूबीच सूचना युद्ध चलिरहेको भन्दा फरक नपर्ला । शक्ति राष्ट्रहरू जासुसी गर्न र एकअर्काको प्रविधिहरू हडप्ने प्रयास गरिरहेका देखिन्छ। यसरी हेर्दा हाल टेक्नोलोजीको प्रयोग गरेर ठूला शक्तिहरू शीतयुद्ध गर्न थालेको विज्ञहरू बताउँछन्। लडाई बम र बारूदसँग होइन, तथ्यांक र बौद्धिक सम्पतिसँग हुने गरेका छन् ।

केही वर्षअघि अमेरिकाले चीनमाथि आफ्नो बौद्धिक सम्पत्ति चोरेको आरोप लगाएको थियो । हाल चीनको धेरै चतुर औद्योगिक नीति छ यसमा विदेशका सबै ठूला कम्पनीले चीनमा प्लान्ट स्थापना गरेका छन् । यसले गर्दा यी कम्पनीहरूले चीनसँग आफ्नो प्रविधि साझेदारी गर्नुपर्छ। जसका कारण धेरै कम्पनीहरु जस्तै एप्पल, सामसुङ आदिले आफ्नो टेक्नोलोजी चीनियाँ प्रविधिसँग सेयर गर्ने गर्छन् ।

यसले गर्दा चीनले सजिलैसँग अन्य कम्पनीका स्मार्टफोन, ग्याजेट वा अन्य कुनै पनि चीजहरू 'क्लोन' गरी विश्वभर सस्तो मूल्यमा बिक्री गर्छ। यसबाहेक चीनले मुद्रा हेरफेर गरेर व्यापारमा फाइदा उठाउने गरेको आरोप पनि बेलाबेलामा चीनमाथि लाग्दै आएको छ ।

चीनको यस कदमले गर्दा अमेरिकाले चीनविरुद्ध व्यापार युद्ध सुरु गरेको थियो कतिपय जानकारहरूको तर्क छ । राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालमा उनले चीनबाट अमेरिका आउने सामानमा ४ प्रमुख तहमा प्रतिबन्ध लगाएका थिए । त्यसपछि अमेरिकाले ठूलो चिनियाँ कम्पनी हुवावेलाई पनि देशमा प्रतिबन्ध लगाएको थियो । हुवावेले अमेरिकामा ठूलो फाइभजी सेटअप गर्न लागेको थियो। 

प्रतिबन्धका कारण उनको यो परियोजना पूर्ण रुपमा ध्वस्त भएको थियो । अमेरिकाले हुवावेमाथि प्रतिबन्धमा कम्पनीले व्यक्तिगत डाटा चोरेको आरोप थियो। अमेरिकी जनताको सूचना चोरी गरि यस्ता डाटा चिनियाँ सेनालाई पठाउँछ भन्ने आरोप लगाएको थियो। जसका कारण आगामी दिनमा हाम्रो सुरक्षामा ठूलो खतरा हुनसक्छ भन्ने आरोप समेत लगाइ हुवावेलाई प्रतिबन्धित गरेको थियो ।

हुवावेसँगै चीनको निकै ठूलो दूरसञ्चार कम्पनी जेडटीईलाई पनि अमेरिकाले आफ्नो देशमा प्रतिबन्ध लगाएको छ । अमेरिकाको बाटो पछ्याउँदै बेलायत र अष्ट्रेलियाले पनि आफ्ना देशमा हुवावेमाथि प्रतिबन्ध लगाएका छन् । यसबाहेक अमेरिकाले बेलाबेलामा चीनमाथि औद्योगिक जासुसी गरेको आरोप पनि लगाउँदै आएको छ ।

यस्तै केही समयअघि भारतले चीनका धेरै एप्समा प्रतिबन्ध लगाएको थियो जसमा टिकटक, यूसी ब्राउजर, सेयरिट प्रमुख थिए । चीन र भारत सीमामा तनाव बढ्दा भारतले चीनका एप्सहरू प्रतिबन्धित गरेको थियो । यस्तै हालै राष्ट्रसंघले एक रिपोर्ट जारी गर्दै उत्तर कोरियाले करोडौं डलर बराबरको क्रिप्टोकरेन्सीको चोरी गरेको आरोप लागाएको छ । 

हुवावेको फाइभजी नै प्रतिबन्धको कारण बन्यो

हुवावेले फाइभजीमा छलाङ मार्नु नै उसलाई अमेरिकामा प्रतिबन्ध हुनुपर्ने कारण बनेको कतिपय विज्ञहरू बताउँछन् । अमेरिकाभन्दा अगाडि नै चिनियाँ कम्पनी हुवावे फाइभजी सेटअप अभियानमा लागेको थियो । यसले अमेरिका, बेलायत लगायतका देशमा फाइभजी सेवा सुरु गर्ने तयारी गर्दा नै अमेरिकाको आँखा पर्न जाँदा प्रतिबन्ध हुन पर्‍यो ।

अमेरिकाले हुवावेलाई आरोपमा उसले अमेरिकी जनताको सूचना चिनियाँ सरकार समक्ष पुर्‍याउने लगायतका थिए । यसले गर्दा अमेरिका समर्थित तथा इतर राष्ट्रहरू एकअर्का प्रति साइबर हमला लगायतका कार्य गर्ने गरेको आरोप लगाउँदै आएका छन् । 

यस्तो अवस्थामा आजको युगमा युद्धको स्वरूप बदलिएको छ भन्नु पटक्कै गलत हुनेछैन । अहिले विश्वका देशहरूबीचको युद्ध बम र बारूदले भन्दापनि तथ्याकं र बौद्धिक सम्पत्तिलाई लिएर भइरहेको छ । विश्वका धेरै देशहरूले आफ्नो डेटा सुरक्षालाई ध्यानमा राख्दै आर्थिक नियमहरूमा धेरै परिवर्तनहरू गरिरहेका छन्।

विश्व व्यवस्था बदल्नमा अमेरिका र चीनको सबैभन्दा ठूलो भूमिका छ । यिनै दुई विश्व नयाँ प्रविधिको शीतयुद्धमा प्रवेश गरिरहेको छ । अमेरिका र चीनबीच सुरु भएको यो प्राविधिक शीतयुद्धमा बिस्तारै अरु धेरै देश पनि सामेल हुँदैछन् । यस्तो अवस्थामा आगामी दिनमा यसको सम्भावित चित्र के हुन्छ भन्न गाह्रो छ ? तर यो आन्दोलनले पक्कै पनि संसारलाई नयाँ ढंगले परिवर्तन गर्नेछ । 


Author

थप समाचार
x