अर्थ / बाणिज्य

नुवाकोटमा वनपाखा मासेर अवैध ढुंगाखानी सञ्चालन

इकागज |
असोज १२, २०७९ बुधवार १६:१५ बजे

नुवाकोट- नुवाकोटको बेलकोटगढीमा गाउँगाउँमा अवैध ढुंगाखानी सञ्चालन भएका छन् । दर्ताबिनाको ढुंगाखानी चलाएर ठेकेदारहरुले स्थानीय स्रोतसाधनमाथि दोहन मात्र गरेका छैनन्, राज्यले पाउनुपर्ने करोंडौ राजश्वसमेत छलेका छन् । अवैध खानी सञ्चालन गर्न चलाइएका स्काभेटरले बनपाखा रित्तिनुका साथै सिंगो बस्ती नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ ।

नुवाकोटको बेलकोट गढी वडा नम्बर १३ मा बनिरहेको बाराही शक्ति मावि बडारे बस्नेत गाउँ सडकखण्ड अन्तर्गतको सात किलोमिटर सडक अहिलेसम्म अलपत्र छ । सडक अलपत्र छाडेर ठेकेदारहरू अवैध खानी सञ्चालन गर्न लागेका छन् । 


नार्गाजुन कल्पवृक्ष निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडकका लागि यतिखेर सिँगारे खोलामा अवैध खानी सञ्चालन भइरहेको छ । सडक बनाउने जिम्मा पाएको नार्गाजुन कल्पवृक्ष निर्माण सेवा र त्यस्का सञ्चालक रामबाबु जिसीले अवैध खानीबाट दैनिक एक सयभन्दा टिप ढुंगा निकाल्ने गरेका छन् । तर सम्बन्धित निकायको ध्यान यसतर्फ जान सकेको छैन । 

अवैध खानी सञ्चालन गरेको भन्दै जिसीविरुद्ध वडा कार्यालयमा समेत उजुरी परको छ । कानुनतः निर्माण व्यवसायीले सडकको काम गर्दा अवैध खानी सञ्चालन गर्ने र अवैध खानीको सामग्री किन्न पाउँदैनन् । नाफाका लागि गाउँमै अवैध खानीबाट ढुंगा झिक्ने र राज्यलाई फर्जी विल दिएर रकम असुल्ने धन्दामा लागेका जिसी हाकाहाकी भन्ने गरेका छन् । लालपुर्जा भएको जग्गामा किन खानी चलाउन पाइन्न भन्दै उनले कारबाही गरेर देखाउन चुनौतीसमेत दिने गरेका छन् । खोला, वन, बस्ती, हाइटेन्सनलगायतका क्षेत्र वरपर खानी खोल्न प्रतिबन्ध लगाइएको छ । 

जिसीको कम्पनीले बनाइरहेको वाल, ग्राभेलिङलगायतका काममा गुणस्तरहीन सामान प्रयोग भइरहेको इन्जिनियरहरुले नै बताउन थालेका  छन् । पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियरले गुणस्तरहीन सामानको प्रयोग गरेर सडक निर्माण भइरहेको भन्दै पटकपटक उनलाई सचेत गराए पनि जिसीले त्यसको बेवास्ता गर्दै आएका छन् । 

आफूले निर्माण गरिरहेको सडकमा कमसल सामान प्रयोग भएको उनले स्विकारेका छन् । उनले आफूले धेरैतिर काम लिएकाले सडकको काम के भइरहेको छ हेर्नेसमेत नपाइरहेको दाबी गरे । नुवाकोटका दर्ता भएका धेरै खानी अवैध भएको भन्दै आफूले पनि खानी सञ्चालन गर्न पाउनुपर्ने दाबी गरे । ‘दर्ता गरेका खानी पनि मापदण्डअनुसार छैनन् । सडक बनाउन सामग्री धेरै टाढाबाट ल्याउन सम्भव भएन, त्यसैले ढुंगा निकालिएको हो, यस्लाई ठूलो विषय नबनाउनुहोस्,’ उनले भने । 

अवैध खानी सञ्चालनका विषयमा वडा कार्यालयमा उजुरी र गुनासो आइरहेको वडाध्यक्ष नवराज पाण्डेले बताए । उनले यो विषयमा आफूले पूर्वाधार कार्यालय र सम्बन्धित निकायसँग बुझिरहेको बताए । 

सडक अनुगमनको जिम्मा पाएका बेलकोटगढी नगरपालिकका उपमेयर शिवप्रसाद दाहालले पनि अवैध ढुंगाखानी सञ्चालन गर्नु आपत्ति  भएको बताए । ‘बिना अनुमति यदि कसैले ढुंगाखानी सञ्चालन गरेको हो भने त्यस्लाई तत्काल रोक्नुपर्छ, कानुनी कारबाहीमा ल्याउनुपर्छ,’ दाहालले भने ।


Author

थप समाचार
x