अर्थ / बाणिज्य

भारतबाट तीन पटक घटेर आएपनि निगमले नघटाउने भयाे इन्धनकाे मूल्य

इकागज |
साउन ३१, २०७९ मंगलबार १९:११ बजे

काठमाडौँ- नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य समायोजन नगर्ने भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निगमले संस्थाको ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय भएको जनाएको हो । पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पछिल्लो तीन पटकको मूल्यसूची घटेर आएपनि ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिएको बताए ।


उनले यसअघि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा पूर्ण रुपमा निगमले वृद्धि नगर्दा करिब ५० अर्व घाटामा गएको जानकारी दिए । थानीले अहिले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नु पर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहको बताए ।

सरकार र वाणिज्य बैंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब बक्यौता गरी ३३ अर्बको भार अझैपनि रहेको थानीले बताए । आईओसीबाट आएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र ग्यासमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको उनले जानकारी दिए ।

अहिलेको मूल्यसूची अनुसार मासिक ६२ करोड रुपैयाँ घाटा हुने उनले बताए । 


Author

थप समाचार
x