अर्थ / बाणिज्य

एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स

इकागज |
साउन ३१, २०७९ मगलवार १९:५ बजे

काठमाडौँ - आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह गत वर्षको तुलनामा ४.८ प्रतिशतले बढेको छ। आ.व. २०७८/७९ को १२ महिनामा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भएर  १० खर्ब ७ अर्ब ३१ करोड पुगेको छ ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भइ ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।


एक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भइ ३ लाख ५४ हजार ६ सय ६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भएर २ लाख ८२ हजार ४ सय ५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भइ ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो ।


Author

थप समाचार
x