अर्थ / बाणिज्य

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा ‘टान’

तीनै समूहको अध्यक्षको उम्मेद्वार बास्तोला

इकागज |
साउन २८, २०७९ शनिबार १३:१ बजे

काठमाडौँ- पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल  (टान) को आगामी निर्वाचनका लागी अध्यक्ष पदका प्रत्यासीले आ–आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेका छन । टानको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालसम्म तीन प्रत्यासी चुनावी अभियानमा छन् । यतिबेला वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोलाको  नेतृत्वमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएको देखिन्छ ।

कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट), एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन र एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठन बीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो ।  यता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट व्यवसायीको तर्फबाट कमल सापकोटा र स्वतन्त्रको तर्फबाट बोधराज भण्डारीले टान नेतृत्वका लागि आकांक्षा देखाएका छन् । 


आकांक्षीले आफ्ना चुनावी एजेण्डा व्ययसायी बिच पस्किरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्नसक्ने नेतृत्वको खोजिमा पर्यटन व्यवसायीहरु रहेका छन् । उनीहरुले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा मात्र यो क्षेत्रको सुधारमा टेवा पुग्ने विश्वास लिएका छन् । 

यसै बिच अध्यक्षका प्रत्यासी बास्तोलाले टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रुपमा विकास गर्ने, पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानवस्रोत साधनयुक्त बनाउनुपर्नेमा जोडिदिएका छन् । उनले “पर्यटन क्षेत्रलाई गुणस्तर अभिवृद्धि गर्न जरुरी रहेको भन्दै बिजनेस दर्ता गरेर मात्रै यो क्षेत्रको वृद्धिविकास नहुने बताए ।  व्यवसायी व्यवसाय गर्न योग्य र सक्षम छ कि छैन ? भन्ने कुरा महत्वपुर्ण रहेको भन्दै बास्तोलाले पदमार्गमा कुनै पदयात्री समस्यामा परेर सहयोग मागेमा टानले सहजीकरण गर्ने विषयलाई आफुले प्राथमिकतामा राखेको बताए ।”

टानमा व्यवसायीको सहजीकरणको लागि हेल्प डेस्क राख्ने, ७ वटै प्रदेशमा ट्रेकिङ ट्रेलको विकास गर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्नेमा उनले जोड दिएका छन् । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार ८०० सदस्य रहेका छन् । 

व्यवसायीको नजरमा टानमा कस्तो नेतृत्व ? 

टानका पूर्व अध्यक्ष रमेश धमलाले विषयवस्तुलाई बुझेर प्रस्तुत गर्ने, पर्यटन क्षेत्रको समस्यासँग जुध्नसक्ने नेतृत्व अहिलेको अपरिहार्यता रहेको बताए । अध्यक्षका प्रत्यासीमध्ये वास्तोला सफल पर्यटन व्यवसायी, पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा लगानी गरेर स्थापित रुपमा चिनिएको नाम भएकोले टान नेतृत्वका लागि उपयुक्त रहेको जिकिर गरे ।

टानको आन्तरिक प्रशासनलाई चुस्त र दुरुस्त बनाउँदै समस्याको पहिचान गरी सरोकारवालासँग समन्वय गरेर समाधान गरिनुपर्ने व्यवसायीको धारणा छ । लगानी, कनेक्टिभिटी र उत्पादनको चुनौतीलाई व्यवस्थापन गर्न बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरुले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा ब्यवसायकी जोड छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले महामारीले सुस्ताएको पर्यटन व्यवसायमा उत्साह भर्ने निर्भीक र जिम्मेवार नेतृत्व टानलाई आवश्यक भएको बताए । उनले पर्यटन क्षेत्रको अनुभव र विज्ञताको आधारमा नेतृत्व चयन गरिनुपर्ने औंल्याए । पर्यटन व्यवसायी निमा शेर्पाले टानलाई व्यवसायीको हितमा काम गर्ने संस्थाको रुपमा स्थापित गर्न सहि नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

काठमाडौँ एडभेन्चर ट्रेक्सका प्रबन्ध निर्देशक एक्सपेन्सन दाहाल पनि नयाँ नेतृत्वले टानलाई संस्थागत सुदृढिकरण र गतिशिल बनाउन जोड दिनुपर्ने बताए ।
बाँस्तोलाको एशियन हेरिटेड गुप्र अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यात लगायतका उद्योग व्यवसायमा लगानी छ । यस्तै उनले एशियन हेरिटेज फाउण्डेसन नेपाल मार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्ण रुपमा लागेका बाँस्तोला सोलुखुम्बु निवासी हुन् । उनी सन् २००२ मै टानको साधारण सदस्य थिए । बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका थिए ।


Author

थप समाचार
x