अर्थ / बाणिज्य

लगानी बोर्डले बुझायो आ.व. २०७८/७९ कार्यसम्पादन प्रतिवेदन

इकागज |
साउन २५, २०७९ बुधबार १९:४१ बजे

काठमाडौँ - प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवा समक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आ.व.२०७८/७९ को कार्यसम्पादन प्रतिवेदन पेश गरेका छन्। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच २०७८ साउन ३२ मा आ.व.२०७८/७९ को लागि ४२ वटा क्रियाकलापमा समय सारिणी सहितको मापनयोग्य सूचकको आधारमा कार्यसम्पादन करार भएको थियो।

लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बा परियोजना विकास र व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय सहकार्य र साझेदारीमा केन्द्रीत रही भएको करार ,बमोजिम सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिए अनुसारका सम्पूर्ण सूचकहरु पूरा भइ शत प्रतिशत कार्य सम्पन्न भएका छन्।


उक्त आर्थिक वर्षमा १ खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको व्यवसायिक योजना , सहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको लगानी बोर्डको परियोजना बैंक , सम्बन्धी मार्गदर्शन तयार भएको र परियोजनाको अनुगमन सम्बन्धी ड्यास बोर्ड समेत तयार भएको छ।

त्यस्तै पश्चिम सेती तथा सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको विकास ढाँचा सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको , वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिहरुको तुलनात्मक विश्लेषण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।

साथै लगानी बोर्डलाई सूचना प्रविधिमैत्री बनाउन प्रोजेक्ट बैंक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम ( पिबिएमआइएस), वान स्टप सर्भिस ( ओएसएस)  प्रणालीहरुको विकास भएका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न निकायसँगको समन्वयमा लगानी प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरु आयोजना गरिएको छ।

उक्त कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै सम्माननीय प्रधानमन्त्री देउवाले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत् भइरहेका कार्य र उपलब्धीको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन प्रमुख कार्यकारी अधिकृतबाट भएका कार्यहरुको खुलेर प्रशंसा गरेका थिए। साथै लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारको लागि सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्रीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरू चुनौतीको रूपमा देखापरेको परिप्रेक्ष्यमा ठूला लगानी आकर्षण तथा परिचालन गर्नका लागि लगानी बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिए। प्रधानमन्त्री समक्ष आ.व.२०७८/७९ को कार्यसम्पादन प्रतिवेदन पेश गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले लगानी आकर्षण, परियोजनाको सम्पूर्ण चक्रमा सहजीकरणका साथै लगानी बोडको कार्यलयलाई पीपीपी सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न प्रतिवद्ध रहेको जानकारी गराउँदै कार्यालयले परिणाममुखी र उत्तरदायी कार्यप्रणली एवं संस्थागत क्षमता विकासमा फड्को मार्न सफल भएको बताए।


Author

थप समाचार
x