अर्थ / बाणिज्य

जुम्लाका डिलरमै भेटिन्छन् अखाद्य वस्तु

इकागज |
असार ९, २०७९ बिहिवार १९:० बजे

जुम्ला- जुम्लाको सदरमुकाममा रहेका ठूला व्यापारीका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएका छन् । जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिने गरेपछि यस पटक जुम्ला बजारका केही गोदाममा अनुगमन गरिएको छ । जुम्ला बजारमा रहेका केही ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमनका क्रममा अखाद्य वस्तु फेला पारिएको हो । 


यसअघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फेन्सी पसल अनुगमन थालेको छ । अनुगमन समितिले रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो । 

जुम्लामा खाद्य तथा खुद्राको व्यवसायको ब्राण्ड मानिएको लुम्बिनी टेड्रसको डिलरमा म्याद गएका सामान भेटिएका छन् । सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको पाइएपछि यस पटक डिलर अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, धेरैको पसलको मूल्य सूचि नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइने गरेको छ । 

त्यस्तै लुम्बिनी टेड्रसको डिलरमा बिकानो बिस्कुट– ३० हजार मूल्य बराबरको, गोल्डेन बिस्कुट एक हजार मूल्य बराबरको, कुकिज बिस्कुट एक हजार मूल्य बराबरको, ललिपप बिस्कुट तीन सय रुपैयाँ मूल्य बराबरको, रक्कि चक्की मिठाई पाँच सय बराबरको, अधुरी बिस्कुट पाँच सय बराबरको कफी चकलेट १९ सय बराबरको गरी ३५ हजार २०० बराबरको म्याद गुज्रिएको अखाद्य वस्तु नियन्त्रणमा लिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदीले बताए । 

उनले भने, जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको हो । डाक्टर सुवेदीका अनुसार  यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । 

मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । जुम्लाका गोदाममै मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ । यसका लागी सबै भन्दा पहिला उपभोक्ता समिति सचेत हुन जरुरी छ ।  

त्यस्तै जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म स्थापना भएका बजारको अनुगमन पटक पटक गर्दै आइराखेको छ । 

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अधिकांश पसल दर्ता नभएको जानकारी दिइन् । उनले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन,‘फेन्स पसलबाट पछि उपभोक्ता मारमा परेकाले  अनुगमन थालिएको छ । उनीहरूलाई अनुगमनका फेन्सी पसलले पनि कुन कपडा कति मूल्यको हो भनेर मूल्य सुची टाँस गर्न भनिएको छ । फेन्सी पसलले समान खरिद गर्दा  बिलमा  न्यून मुल्य राख्ने  भोक्तालाई बिक्री गर्दा दोब्बर मूल्यमा बेच्ने गरेको पाइएको छ ।

 यसले गर्दा राज्यलाई कर छली गर्ने गरेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताइन् । सामान खरिद गर्दा बिलमा मुल्य कम राख्दा भ्याट तिर्न सस्तो पर्ने भएकाले  व्यापारीले यस्तो  क्रियाकलाप गर्ने गरेका छन् । उनले समयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गरिन् । न्युज कारखाना


Author

थप समाचार
x