अर्थ / बाणिज्य

केपी ओलीले सत्ता छाडेपछि घट्यो पानी आयात

कमल धिताल |
जेठ ३१, २०७९ मगलवार १०:१३ बजे

काठमाडौँ — जलस्रोतका धनी मुलुकमध्येको एक नेपालले प्रत्येक वर्ष लाखौं लिटर खानेपानी समेत आयात गर्ने गरेको छ । उच्च गुणस्तरीय र खनिज पदार्थ पाइने नेपालको पानी प्रयोग नगरी विदेशबाट आयात गर्ने केही 'हाइ प्रोफाइल'हरूका कारण वर्षेनी नेपालमा करोडौँको पानी आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपाली 'हाइ प्रोफाइल' ले अमेरिकी तथा युरोपेली राष्ट्रदेखि भारत र चीनबाट समेत पानी ल्याएर तिर्खा मेटाउने गरेका छन् । 

हाल विभिन्न मुलुकबाट आयात भएको खनिजयुक्त (मिनरल वाटर), ग्यासयुक्त, गुलियोयुक्त र खनिज एवं गुलियोविहीन पानी बजारमा पाइन्छ ।


एमालेका अध्यक्ष केपी शर्मा ओलीले महँगो आयातीत पानी प्रयोग गरेको भनेर आलोचना समेत हुँदै आएको थियो । हिमालयको देश भनेर चिनिने देशको यहाँ रहेको पानी विश्वलाई निर्यात गर्नुपर्नेमा विदेशबाटै पानीसम्म आयात गर्ने गरेको देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखी वैशाखसम्म ४६ हजार लिटरभन्दा बढी पानी नेपालमा आयात भएको पाइन्छ । क्यानडा, फ्रान्स, इटाली चीन, भारत लगायतको मुलुकबाट यसरी लाखौँ लिटर पानी आयात भएको तथ्यांकले देखाउँछ । वैशाखसम्ममा पानी आयात गर्दा ५ लाख ६० हजार भन्दा बढी रकम विदेशिएको छ।

राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार नेपालमा विदेशी मुद्रा सञ्चिती नराम्ररी घटेको छ । बैंकका अनुसार वैशाख मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । यसरी विदेशी मुद्रामा कमी आउँदा पनि विदेशको भन्दा उच्च गुणस्तरको पानी पाइने नेपालमा पानी आयात भैरहनु दुखद रहेको व्यापारीहरू बताउँछन् । 

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्मको ग्राफ हेर्दा विगत पाँच वर्षको पानी आयातको ग्राफ हेर्दा १५ लाख लिटरभन्दा बढी बोतलपानी आयात भएको छ । यसरी पानी आयातमा नेपालले ७ करोड ३७ लाख रूपैयाँभन्दा बढी रकम बाहिर पठाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा अन्य राष्ट्रबाट ४ लाख ७२ हजार लिटर पानी आयात भएको छ। सो आ.व.मा पानी किन्नको लागी १ करोड ७७ लाख रूपैयाँ विदेशिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ४ लाख लिटर पानीको लागी २ करोड रूपैयाँ नेपालले खर्च गरेको छ । यस्तै आर्थिक वर्ष २०७५/७६ मा २ करोड ३६ लाख रूपैयाँ बराबरको ४ लाख ७९ हजार रूपैयाँभन्दा बढीको मिनरल वाटर आयात भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा आयातको ग्राफ केही घटेको देखिन्छ । कोभिडले आक्रान्त पारेको वर्ष भएर पनि सो वर्ष पानीको आयात ग्राफ केही कम भएको तथ्यांकले देखाउँछ। सो वर्ष ३८ हजार लिटर मिनरल वाटर आयात भएको छ । जसका लागि २९ लाख २३ हजार रूपैयाँभन्दा बढी रकम विदेशिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ५८ हजार लिटर मिनरल वाटरका लागि ९३ लाख ६२ हजार रूपैयाँ नेपालले खर्च गरेको थियो । यस आवमा पनि कोभिडले गर्दा आयात ग्राफमा केही कमी आएको देखिन्छ ।

यसरी पाँच वर्षमा पानी आयात गर्नमा देशले ७ करोड ३७ लाख रूपैयाँभन्दा बढी विदेशी मुद्रा खर्च भएको छ ।

अहिले पनि केही दूतावास र तारे होटलले ल्याउँछन् पानी

नेपाललमा आयात हुने पानी अधिकांश उच्च पदस्थ व्यक्ति तथा होटेल दूतावास लगायतको लागि आयात हुने गरेको छ। कतिपय विदेशी दूतावासले आफ्नै देशको पानी प्रयोग गर्ने गरेको कारण वार्षिक करोडौँको पानी आयात हुने गरेको छ । त्यस्तै तारे होटेलहरूले विदेशी पाहुना खुसी पार्नको लागि समेत आयातित पानीको प्रयोग गर्ने गरेका छन् ।

नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतम पानी आयात हुनमा व्यापारी तथा नेताहरूको स्वार्थ रहेको बताउँछन् । नेपालमा विदेशमा उत्पादन हुनेभन्दा उच्च गुणस्तरीय पानी उत्पादन भएपनि केही नेताहरूले देशमा उत्पादन हुने पानीमा विश्वास नहुँदा आयात उच्च हुने गरेको बताउँछन् ।

‘नेपालमा  विदेशी गुणस्तरीय पानी उत्पादन नहुने भन्ने होइन उताको भन्दा अझै उच्च गुणस्तरीय हिमालको पानी यहाँ उत्पादन हुन्छ तर हाम्रै नेता तथा उच्च पदमा रहेका व्यक्तिहरूलाई विश्वास नहुँदा आयातको ग्राफ बढेको छ’ उनले भने ।

नेपालमा आयात गर्न सजिलो हुँदा पनि ग्राफ बढेको उनी बताउँछन् । ‘हामीले निर्यात गर्दा त्यहाँ सयौँ टेस्ट गराउन लगाउँछ तर यहाँ उच्च व्यक्तिको एक कलले पानी आयात हुने गरेको छ’ गौतमले भने। गौतमका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट करिव ९ करोड रूपैयाँको पानी निर्यात भएको छ । नेपालबाट निर्यात हुने पानीको गुणस्तर उच्च हुँदा विस्तारै माग बढ्दै गएको उनको भनाइ छ । सरकारले पानी निर्यातलाई सहजीकरण गर्ने हो भने निर्यात अझै बढ्न सक्ने व्यापारीहरू बताउँछन् ।  

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायलाई पानी निर्यात गर्न सजिलो पार्नु सट्टा उल्टो विदेशबाट पानी आयात गर्नु गलत रहेको बताउँछन् ।  खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महँगो पनि छ। यसलाई चाँडो घटाएर विदेश सजिलो तरिकाले विदेश निर्यात हुने वातावरण मिलाउन उनले माग गर्छन् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x