अर्थ / बाणिज्य

परिवर्तनको नेतृत्व गर्दै ‘नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप’

कमल धिताल |
जेठ २१, २०७९ शनिबार १३:३६ बजे

काठमाडाैँ- डल्लु बस्ने राजविक्रम महर्जनले सामाजिक संजालमा एउटा समाचार देखे । समाचारबाट उनले नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि ‘नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप’(नबिल एसएसई) सुरु गरेको थाहा पाए । आफूसँग परियोजना भएपनि एउटा राम्रो व्यवसायिक योजनाको अभावमा लगानीको अवसर नहुँदा युवाहरू अन्योलमा रहेका बेला यो समाचारले उनलाई राहत दियो । नबिलको यस कार्यक्रम राज जस्तै सामाजिक उद्यमशीलताबारे जानकारी पाउने र सीप भएका युवाहरूको सो सीपलाई विशेष रूपमा बाहिर ल्याउने कार्यक्रम हो ।

यसका लागि राजले तुरुन्तै आवेदन दिए । तीन सयभन्दा बढी सहभागीलाई पछि पार्दै उनी टप ट्‌वान्टीमा छानिए । यस कार्यक्रममा सहभागी भएपछि उनमा धेरै परिवर्तन आयो । ‘यस कार्यक्रममा जोडिएपछि ममा धेरै परिवर्तन आयो,’ उनले भने, ‘यसअघि मसँग आइडिया भए पनि के गर्ने र कसरी गर्ने भन्ने एक प्रकारको दुविधा थियो । अहिले सबै दुविधा मेटिएको छ ।’


राज एक एइरोनटिकल इन्जिनियर हुन् । उनले ‘गल्ली म्याप्स’ नामको एप्लिकेसन बनाएर प्ले–स्टोरमा राखेका छन् । अब त्यसैलाई विस्तृत गर्ने योजना राजले बनाएका छन् । 

राज जस्तै अर्की व्यवसायी बिनिता तामाङ पनि नबिलले सुरु गरेको सामाजिक उद्यमशीलता कक्षामा भेटिइन् । बिनिताको हस्तकला व्यवसाय राम्रो चलिरहेको थियो । व्यवसाय नै छोडेर उद्यमशीलता कक्षामा किन भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले यहाँ आएर आफूमा निकै परिवर्तन पाएको छु ।’ सुरुसुरुमा क्लास लिदाँ आफ्नो व्यवसायलाई लिएर उनी निकै अन्यौलमा थिइन् । ‘व्यापारलाई कसरी अझ अगाडि लाने होला भन्ने चिन्ताले सताएको थियो,’ उनले भनिन्, ‘अब भने निकै मोटिभेटेड (उत्प्रेरित) महसुस गरेको छु । यसले मेरो  विजनेसमा निकै सहयोग पुग्नेछ ।’

कार्यक्रममा व्यवसाय संचालन गरिरहेकादेखि खाद्य प्रविधि, आइ.टी.मा पढाइ गरिरहेका लगायत विभिन्न क्षेत्रका सहभागी छन् । उनीहरू सबैको प्रतिक्रिया सकारात्मक छ । नबिलले सुरु गरेको यसप्रकारको कार्यक्रमले व्यक्तित्व विकासको लागि निकै सहयोगी बनेको उनीहरू बताउँछन्। यसले आफूजस्ता युवाहरू उद्यमी बनाउनेमा सहभागीहरू निकै विश्वस्त छन् । 

के हो नबिल स्कुल अफ सोसल आन्टरप्रेरनरसिप ?

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने उद्देश्यसहित नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल स्कुल अफ सोसल आन्टरप्रेरनरसिप सुरु गरेको हो । यसले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप र वित्तीय सहयोग गर्नेछ । यसका दुइ प्रमुख कार्यक्रम छन् । जसमा  सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम रहेको छ । पहिलो कार्यक्रमले कलेजमा अध्ययनरत विद्यार्थीहरु जसलाई सामाजिक उद्यममा रुची रहेको छ, सामाजिक उद्यमी अथवा सामाजिक उद्यमशिलतामा चासो भएका व्यक्तिहरुलाई समावेश गर्ने छ जसअन्तर्गत कम्पनीले पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा विद्यालयसँग सम्झौता गरेको छ । सहकार्यमार्फत वार्षिक सात सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्न सहयोग गर्नेछ ।

फेलोशिप कार्यक्रम आवासीय तालिममा आधारित हुनेछ । जसको लागि बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेर कक्षा सञ्चालन गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकले नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसमा धेरैले दान गर्ने, मन्दिर बनाउने लगायतका काम गर्दै आएकोमा नबिलले समाजको हीत र मुलुकमा जनशक्ति विकासमार्फत दीर्घकालीन लाभ सिर्जना गर्ने यो पहल अघि सारेको नबिल बैंकका सीएफओ (प्रमुख वित्त अधिकृत) मनोज ज्ञवालीले बताए । ‘हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको पैसालाई समाजिक हितका लागि खर्च गरेका छौँ,’ उनले भने, ‘यसमा हाम्रो उद्देश्य भनेको त्यसले सामाजिक प्रभाव पारोस्, उद्यमीहरू जन्मिऊन् भन्ने हो ।’ 

सामाजिक उद्यमशलिता कक्षा लिएका व्यक्तिहरूले उद्योगधन्दा व्यापार व्यवसाय गर्छन्, जसबाट उनीहरूकाे आयआर्जन गर्छन् साथसाथै उनीहरूले उक्त ठाउँको आर्थिक सामाजिक विकासमा सहयोग गरिरहेका हुन्छन् । ‘यसबाट उहाँहरूले नाफा मात्र कमाउने होइन कि उहाँहरूले त्यहाँको दीर्घकालिन विकासको लागि काम गर्नुहुन्छ,’ ज्ञवालीले भने । 

यस्ता कार्यक्रमको लागि नबिलले नेतृत्वदायी भूमिका लिएको र अन्य वित्तीय संस्थाहरूले पनि यस्ता कार्यक्रम सुरु गर्न सक्ने उनले बताए । उनले युवाहरूले हरेक कुरामा नकारात्मक देख्ने र आफ्नाे उमेरको प्रडक्टीभ समय खेर फाल्ने भन्दा पनि स्राेतसाधनकाे अधिकतम उपयोग गर्ने राेजगारी सिर्जना गर्ने लगायत सकारात्मक कामबाट दीगो विकासमा योगदान गर्न सक्ने भन्दै ज्ञवालीले नबिल बैंकको यो कार्यक्रमले दीगाे विकास (सस्टनेबल डेभलपमेन्ट) मा सहयोग गर्ने बताए । 
 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x