जात्रा-पर्व

भाटभटेनीलाई लगियो टुँडालदेवीमा

इकागज |
बैशाख २, २०७९ शुक्रबार २२:१३ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा नं. ५ रहेको भाटभटेनी देवीको मूर्तिलाई महानगरपालिकाको वडा नं। ४ स्थित टुँडालदेवी पुर्‍याइएको छ ।

टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने  भाटभटेनीको जात्रा अन्तर्गत आज बेलुकी देवीलाई सारिएको हो । 


प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका वडा नं. ५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा सुरु भएको हो । 

 जात्राका लागि नक्साल चार ढुङ्गेको माने खटसमेत आज रातिसम्म टुँडालदेवी लगिने जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिए । 

भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उनले गराए । आज बेलुकीदेखि सुरु भएको भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ । 

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ ।

 धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल अर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ । त्यसै समयदेखि जात्रा सुरु भएको विश्वास गरिन्छ ।रासस


Author

थप समाचार
x