जात्रा-पर्व

पशुपति क्षेत्रमा भोलिदेखि वत्सलेश्वरी/बज्रेश्वरी जात्रा सुरु हुने

इकागज |
फागुन २९, २०७९ सोमबार १८:५३ बजे

फाइल फोटो

काठमाडौँ - पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि वत्सलेश्वरी÷बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो । कोषले भोलि साँझ ५ बजेबाट जात्रा प्रारम्भ हुने र पशुपतिनाथ क्षेत्रमा ११ दिनसम्म जात्रा जारी रहने बतायो । 

चैत्र कृष्णाष्टमी÷शीतला अष्टमीमा शुरु भइ चैत्र शुक्ल तृतियामा सम्पन्न हुने यो जात्रा साझा जात्राको रुपमा मनाउने गरिन्छ । यो जात्रा लिच्छवीकालदेखि नै मनाउने गरिएको मान्यता छ । यो जात्रा पशुपतिनाथ मन्दिर परिसरबाट लगनलाक्षी र भुवनेश्वरी हुँदै भकुनटोल पुग्दा भुवनेश्वरीका गुठियार कर्माचार्यले निमन्त्रणा जात्रामा चढाउने पूजा भोग अर्पण गर्ने गर्दछन् । यात्रा अवधिभर बाटोमा चीराग बाल्ने तथा बाटोमा पर्ने देवीदेवताहरुलाई धुप बालेर पूजा गर्ने
गरिन्छ । 


बालकुमारी, इँटापाखा र जयवागेश्वरी मन्दिरलाई दायाँ पारेर नवारीटोल, भगवती, भगवतीवहाल भण्डारेश्वर महादेवको प्रदक्षिणा गरिन्छ । नक्शाल भगवती, भगवतीवहाल, नक्शाल चारढुंगे, नागपोखरी, हात्तीसार, लालदरबार पूर्वको गल्ली र तीनधारा पाठशाला हुँदै कमलाक्षी पुग्ने परम्परा रहेको छ । कमलाक्षीबाट असन अन्नपूर्ण मन्दिर परिक्रमा गराइ बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, मजिपाट र चिंकमुगल हुँदै जैशीदेवल लैजाने परम्परा रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ जात्राहरुको थलो भएकाले यसको संरक्षण र संवद्र्धनको आवश्यक्ता रहेको बताए । उनले पाशुपत क्षेत्रबाट शुरु हुने भएकाले यो जात्रालाई स्थानीय जात्रा भनेपनि यो मुलुकभर हुने जात्रा रहेको बताए । उनले यो जात्रालाई कोषले मुलककै जात्राको रुपमा विकास गर्ने र जात्रा हेर्न आउने विदेशीहरुका लागि आवश्यक सहयोग र फोटो खिचेर आफ्ना क्षेत्रमा प्रचार गर्नसक्ने वातावरण सिर्जना गर्ने बताए । 

उनले भने, ‘वत्सलेश्वरी माईको जात्रा गर्दा किन गरिन्छ ? कुन प्रकारको शक्तिबाट राष्ट्रका विभिन्न शक्तिहरुको जात्रा किन गरिन्छ भन्ने खोज्ने थलो यही हो । विभिन्न जात्राहरुको थलो यही हो । भन्दा हामीले स्थानीय भन्यौँ, किनभने पाशुपत क्षेत्रबाट शुरु हुने भएकाले स्थानीय भनियो,तर यो देशभरको जात्रा हो । यहाँ मात्रै ११ दिन चल्छ, पशुपतिको दुरुच्याँचा जात्रा प्रारम्भ भइसकेपछि देशभरका जात्राहरुको पर्व शुरु हुन्छ । यो मुलुककै जात्रा हो, यसलाई हामी मुलुककै जात्राको रुपमा विकास गर्न चाहन्छौँ । हामी पशुपति क्षेत्र विकास कोष चाहन्छ, यो क्षेत्रबाट शुरुवात हुने जात्रा स्थानीय जात्रा होइन, देशकै जात्रा हो, सम्पदा हो । यो जात्रा पनि संस्कृति, जात्राप्रेमीहरुको जात्रा हो । विदेशबाट आउने विदेशीहरुलाई जात्रा हुँदा आउनसक्ने, फोटो खिचेर आफ्ना क्षेत्रमा प्रचार गर्नसक्ने वातावरण बनाउनुपर्छ ।’

जात्रा सञ्चालनका लागि परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोकत्वमा १३ जनाको पर्व सञ्चालन एवं समन्वय समिति पनि गठन भएको छ ।


Author

थप समाचार
x