जात्रा-पर्व

विवाह पञ्चमीमा ओर्लियो जनसागर, फितलो व्यवस्थापनले श्रद्धालुलाई सास्ती

सुभाष कर्ण |
मंसिर १२, २०७९ सोमवार १९:३० बजे

जनकपुरधाम- जनकपुरधाममा धुमधामका साथ श्रीराम जानकी विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।

भगवान श्रीराम जानकीको विवाहोत्सव हेर्न अहिले जनकपुरधाममा जनसागर नै ओर्लेको छ । नेपाल भारतका लाखौँ साधु सन्त श्रद्धालुहरू विवाह पञ्चमी मेलामा सहभागी हुन जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भगवान श्रीराम जानकीको विवाहोत्सव मैथिली रीतिरिवाज अनुसार आज राति मनाइने छ ।


यसअघि जनकपुरधामको बारह विघा रङ्गभूमि मैदानमा भगवान् श्रीराम तथा माता जानकीको स्वयंवर आयोजना गरिएको थियो । जानकी मन्दिर र राम मन्दिरबाट बाजागाजासहित निस्केको झाँकीसहितको डोला जनकपुरधामको रङ्गभूमि मैदानमा पुगेर स्वयंवर कार्यक्रम भएको हो ।

सो स्वयंवर कार्यक्रम अन्तर्गत भगवान श्रीराम र जानकीको दुवैको डोला मिलान गरी नगर दर्शन गराइएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आयोजना गरेको स्वयंवर कार्यक्रममा रंगभूमि मैदानमा लाखौँको संख्यामा नेपाल र भारतका साधु सन्त तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

रंगभूमि मैदानमा डोला मिलानपछि स्थानीय श्रद्धालुको दर्शनका लागि सो डोलालाई नगरको विभिन्न भागमा परिक्रमा गराउँदै जानकी मन्दिरमा पुगेका थिए । स्वयंवर कार्यक्रमको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गरेका थिए ।

स्वयंवरपछि आज राति त्रेतायुगमा भगवान श्रीराम जानकीको विवाह भएको स्मरणमा प्रतीकात्मक रूपमा विवाहोत्सव मनाइने छ । भगवान् श्रीरामको अभिभावक राजा दशरथको भूमिका राम मन्दिरका महन्थ बाबा रामगिरी र माता सीताको अभिभावक राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव रहने छन् । भारतको अयोध्या र उत्तराखण्डबाट आएका जन्ती समेत विवाहोत्सवमा हुनेछन् ।

भारतको उत्तराखण्डबाट विभूजी महाराज नेतृत्वमा र अयोध्याबाट आएका जन्ती जनकपुरधामको राम मन्दिर तर्फबाट बेहुला पक्षबाट विवाहोत्सव सहभागी हुनेछन् । विवाहोत्सव पश्चात भोलि (मंगलबार) रामकलेवा गरी सम्पन्न हुनेछ । बेहुला र बेहुली दुवै पक्षका अभिभावकबीच सम्धी मिलन (अंकमाल)सहित जन्तीलाई भोजन र विदाई गर्ने विधिलाई रामकलेवा भनिन्छ । ती विधि अन्तर्गत सम्धी मिलान र भारतको अयोध्या तथा उतराखण्डबाट आएका जन्तीलाई विदाई गरी विवाह पञ्चमी सम्पन्न हुनेछ ।

फितलो व्यवस्थापन

विवाह पञ्चमी महोत्सव हेर्न लाखौँको संख्यामा नेपाल र भारतबाट आएका साधु सन्तसहित श्रद्धालु भक्तजनहरूलाई फितलो व्यवस्थापनका कारण निकै सास्ती भोग्नु परेको छ ।

प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरधाम उपमहानगरपालिकाले शौचालय, आवास र खानेपानीको व्यवस्थापन गर्न नसक्दा विवाह महोत्सव हेर्न आएका श्रद्धालुलाई निकै कठिनाइको सामना गर्नुपरेको छ । शौचालय अभावका कारण मन्दिर परिसर नजिकै श्रद्धालुहरूले दिसा पिसाब गर्दा दुर्गन्धित एवं फोहर भएको देख्न सकिन्छ ।

आवासको उचित व्यवस्थापन हुन नसक्दा आइतबार राति श्रद्धालुहरू अत्यधिक चिसाेमा खुल्ला आकाशमुनि मन्दिर प्रांगण र सडकमा सुत्नु परेको छ । जनकपुरधाममा एक मात्र गोपाल धर्मशाला छ । उक्त धर्मशालामा पनि सशुल्क भएका कारण निम्न स्तर तथा विपन्न श्रद्धालुहरू सडकमै रात बिताउन बाध्य छन् ।

जनकपुरधामका केही स्थानीय संघ संस्थाहरूले नि:शुल्क चिया, पानी र खाजाको व्यवस्था गरेपनि श्रद्धालुहरूलाई पर्याप्त नभएपनि केही सहज भने भएको छ । हुन त उपमहानगरपालिकाले १ हजार वर्गफिट पण्डाल र १ सय २० शौचालय निर्माण गरेको दाबी गरेकाे छ । तर पनि एक लाखभन्दा बढी श्रद्धालुहरूका लागि त्यो सुविधा पर्याप्त भने नभएकाे स्थनीयकाे भनाइ छ ।

व्यवस्थापन सम्बन्धमा जनकपुरधामका मेयर मनोज चौधरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित निकायमध्येका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षले श्रद्धालुहरूको सुविधाका लागि स्वयंवर गर्न  ठूलाे मञ्च बनाएको, विवाहोत्सव हेर्न तीन/तीन ठाउँमा प्रोजेक्टर व्यवस्थालगायतका कामहरू गरेकाे देखाएकाे छन् । तर, श्रद्धालुहरूको आवासबारे जिज्ञासा राख्दा उनले केही जवाफ दिएनन्।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x