जात्रा-पर्व

सुर्खेतबाट तीन हजार नौ सय खसी काठमाडौँ पठाइयो

इकागज |
असोज १४, २०७९ शुक्रबार १९:४९ बजे

सुर्खेत- बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीन हजार ९५८ वटा खसी काठमाडौँ पठाइएको हो । 

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेला महिलाले उत्पादन गरेका खसीबोका काठमाडौँमा पठाएको ‘पशु बस्तुको मूल्य श्रृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ का संयोजक पदमबहादुर दलामीले जानकारी दिए । उक्त परियोजना हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो । 


परियोजनामार्फत उद्यमी महिलाले उत्पादन गरेका खसीबोकाको न्यूनतम मूल्यसमेत निर्धारण गरिएको छ । जसअनुसार जिउँदो खसी प्रतिकिलो रु ५०० देखि रु ५३० मूल्य तोकिएको छ । पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थ प्रमाणपत्रका आधारमा खसीबोका खरीद गरेर काठमाडौँ पठाइएको पनि परियोजना संयोजक दलामीले जानकारी दिए ।

सुर्खेत जिल्लास्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी, सफल, उपहार सामाजिक, भेरी किनारा सामाजिक, सम्झौता, लाटीकोइली र उत्तरगङ्गा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँ लक्षित खसीबोका बिक्री गरिरहेका छन् । सहकारीले दसैँ-तिहारको अवधिमा मात्र छ हजार ८०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको परियोजना संयोजक दलामीले जानकारी दिए ।

महिलालाई व्यावसायिक बाख्रापालनबाट आत्मनिर्भर गराउन कृषि तथा पशुपालन व्यवसायमा सहकारीले सदस्यलाई वित्तीय सहयोग गर्दै आइरहेको छ । सहकारीले माछापुच्छ्रे बैङ्क, एभरेष्ट बैङ्क, आरएमडिसी, आरएसडिसी र राष्ट्रिय सहकारी विकास बैङ्कलगायत वित्तिय संस्थासँग समन्वय गरी सदस्यलाई सहुलियत कर्जा उपलब्ध गराउन थालेपछि सदस्य व्यावसायिक बाख्रापालन व्यवसाय गर्दै आइरहेका छन् । 

परियोजनामार्फत प्राविधिक र बजारीकरणमा पनि सहयोग गर्दै आएको संयोजक दलामीले जानकारी दिए । परियोजनाले सहकारीको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउनुका साथै महिला सदस्यलाई बाख्रापालनसम्बन्धी तालिम पनि दिँदै आएको छ । सहकारीले सङ्कलन केन्द्रमार्फत खसीबोकाको बजारीकरण गर्न थालेपछि उद्यमी महिलाले उचित मूल्य प्राप्त गरेको बताएका छन् ।


Author

थप समाचार
x