जात्रा-पर्व

जहाँ च्यांग्रासँगै दसैं भित्रिन्छ...

धनबहादुर गुरुङ |
असोज १०, २०७९ सोमबार २१:३६ बजे

पोखरा- पोखरा १ याम्दीमा दसैंका लागि भेडाच्यांग्रा झरिसकेका छन् । हरेक वर्षको दसैंमा हेम्जा हुँदै पोखरा भित्रने भेडाच्यांग्राले पोखरामा दसैंको आगमन गराउँछन् । यसपटक पनि घटस्थापना अघिदेखि नै भूपी शेरचन मार्गमा बझाङबाट भेडाच्यांग्रा झरिसकेका छन् । 

पोखरा ३ नदीपुरका राजन आचार्यले सोमबार याम्दी क्षेत्र पुग्दा दसैं आएको अनुभूती गरे । पोखरेलीहरूलाई च्यांग्रासँगै दसैं आएको भान हुने उनको भनाइ थियो । ‘याम्दी हेम्जामा भेडाच्यांग्राको बथान देखिन थालेपछि दसैं आएको भान हुन्छ,’ उनले भने, ‘पहिले घटस्थापना सुरु भएपछि ल्याएको थाहा थियो, अहिले अलि छिटो ल्याएछन् ।’


पोखरा ९ न्युरोडमा राई फ्रेस हाउस संचालन गरिरहेका दिलबहादुर राई पनि भेडाच्यांग्रा र पोखराको छुट्टै सम्बन्ध रहेको सुनाउँछन् । सोमबार याम्दी क्षेत्रमै भेटिएका राईले पोखरेलीहरूलाई दसैंमा भेडाच्यांग्राको मासु खानै पर्छ भन्ने छाप परिसकेको सुनाउँछन् । पोखरामा हिमाली जिल्लाबाट च्यांग्रा भित्रिसकेपछि दसैं चहलपहल सुरु हुन्छ । हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएको भेडाच्यांग्राको मासु स्वास्थ्यवर्द्धक र स्वादिलो हुने भएकाले यसको मासु रुचाइन्छ । भेडाच्यांग्राले हिमाली जडिबुटी खाने भएकाले स्वादिलो र स्वास्थ्य उपयोगी मानिन्छ । यसै कारण पनि वर्षमा एक पटक दसैंका बेला पोखरेलीहरू च्यांग्राको मासु खाने गरेको उनले बताए ।

दसैंका समयमा ल्याइने भेडाच्यांग्रा पछिल्लो समय भाउ बढ्न थालेको राईले बताए । दसैंमा धेरैले सिंगै घर लगेर काट्छन् भने सिंगै लैजान नसक्नेहरू फ्रेस हाउसबाटै लगेर भएपनि एक छाक च्यांग्राको मासु खाने गरेको उनले बताए । ‘पोखरामा दसैंका बेला च्यांग्राको मासु नखाए दसैं नै खल्लो हुने जस्तै भइसकेको छ,’ उनले भने, ‘धेरैले एउटै डोर्‍याएर लैजान्छन् । तर सिंगै किन नसक्नेहरू फ्रेस हाउसमा खोज्न आउँछन् ।’ पछिल्लो समयमा भेडाच्यांग्राको भाउ बढेको भएपनि माग उस्तै रहेको उनको भनाइ थियो ।

भेडाच्यांग्राको हुलसँगै भेटिएका जुम्लाका भेडाच्यांग्रा व्यावसायी कमानसिंह थामीले गत शुक्रबार बझाङबाट भेडाच्यांग्रा पोखरा झारेका बिक्री सुरु गरिसकेका छन् । उनले हिमाली जिल्ला बझाङबाट भेडाच्यांग्रा पोखरासम्म ल्याएका हुन् । अरुले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने उनले बताए । ‘दसैं लागेसँगै पोखरामा भेडाच्यांग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,’ उनले भने, ‘बरू जति छिटो ल्याउन सक्यो उति धेरै बिक्री हुने र फाइदा पनि हुन्छ भनेर अरूले भन्दा पहिला नै ल्याएको हुँ ।’ उनले घटस्थापना भन्दा पहिला नै भेडाच्यांग्रा पोखरा झारेका हुन् । ६० वटा ल्याएका उनले २० वटा बिक्री गरिसके । उनको बथानमा ३२ देखि ३५ हजारसम्मको भेडाच्यांग्रा छन् । 

गत वर्ष घाटा व्यहोरेका व्यावसायी थामीले यो वर्ष केही नाफा होला की भन्ने आशा गरेका छन् । गतवर्ष र यसवर्ष दरभाउमा त्यति फरक नपरेकाले यो वर्ष सबै बिक्ने र केही फाइदा हुने उनको भनाई थियो । खरिदमा केही रकम मात्र बढी जोडेर बेचेको उनले बताए । ‘उतै महँगो छ । पालिकाले लिने कर तिर्नै पर्‍यो । ल्याएर मात्र भएन, खोरको पैसा तिर्नुपर्छ । चराएको पैसा नि तिर्नै पर्छ,’ उनले भने, ‘बझाङबाट पोखरा ट्रकमा झार्न ३ दिन लाग्यो । भाडा मात्रै एक लाख २० हजार तिरेको छु ।’ सोही कारण महँगो पर्न गएको व्यवसायी थामीको तर्क छ । गत वर्ष ३५ खेदि ४७ हजारसम्ममा च्यांग्रा बिक्री गरेको उनले सम्झे । गत वर्ष आफूले ल्याएको च्यांग्रा पनि ४७ हजार रेटकै रहेको उनी सुनाउँछन् । यो वर्ष पनि सामान्य ३२ हजारदेखि ४५ हजारसम्मको च्यांग्रा पोखरा आएका छन् । कुनै कुनै ठूला देखिएकाहरूको मूल्य ५० हजारसम्म रहेको छ ।

थामी जस्तै याम्दी पुल वारी धेरैले भेडाच्यांग्रा बिक्री सुरु गरिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनि ल्याउने गरिएकोमा यसपालि पनि झर्ने क्रम सुरु भइसकेको छ । दार्चुला लगायत पश्चिमी क्षेत्रबाट भेडाच्यांग्रा आइसकेका छन् भने, मुस्ताङबाट मंगलबारसम्म झर्ने व्यवसायीहरू बताउँछन् । तर, किन्न जानेहरूमध्ये कोही मूल्य सुनेर जिब्रो टोक्दै फर्किने गरेका छन् भने कोही दसैंमा जति महँगो भए पनि खानै पर्‍यो भन्दै डोर्‍याउँदै हिँडेको पाइन्छ ।


बझाङबाट करिब २ सय ५० भेडाच्यांग्रा पोखरा झारेका राजेन्द्रबहादुर धामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिददर नै बढी भएकाले रेट बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार पर्‍यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न पर्‍यो, पालिकालाई तिर्न पर्‍यो, अनि ल्याउँदा ट्रक भाडा लाग्यो हामीलाई पनि अलिअलि फाइदा त हुनै पर्‍यो नी ।’

दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुने गर्छन् । भेडाच्यांग्रा किन्न नसक्नेहरू खसीबोकामै रमाउँछन् । पोखरामा विशेषगरी नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइन्छ ।


Author

थप समाचार
x