जात्रा-पर्व

जनकपुरधाममा दसैंको रौनक, दुलही झैं सिँगारिए शक्तिपीठ

सुभाष कर्ण |
असोज १०, २०७९ सोमबार २१:२२ बजे

जनकपुरधाम- हिन्दु धर्मावलम्बीहरूको पर्व वडा दसैं आजबाट सुरु भएको छ । दसैंको पहिलो दिन देशका विभिन्न शक्तिपीठहरूसहित जनकपुरधामका राजदेवी मन्दिरलगायत गाउँ-गाउँका दर्जनौं मन्दिरहरूमा नवरात्र पूजा आरम्भ भएको छ ।

शास्त्रीय विधि विधानअनुसार नेपाल पंचागको साइत १० बजेर २३ मिनेटमा राजदेवी मन्दिरसहितका शक्तिपीठहरूमा गरिएको घटस्थापनाका लागि पवित्र सरोबर गंगा सागरबाट जल भरेर पूजास्थलमा राखिएको छ । घटनास्थापनासंगै नवरात्र पूजा शक्तिपीठहरूमा सुरु भएको छ ।


जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, अमरखाना मन्दिर, सोनासती माई, र पिडरिया माई मन्दिर सहित विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोक आयोजना हुने दुर्गापूजा स्थल दुलही झै सिँगारिएका छन् ।

कोरोना संक्रमणको त्रासका कारण पछिल्ला तीन वर्ष श्रद्धालुहरू डरत्रासले मन्दिर गएका थिएनन् । तर, यस वर्ष अवस्था सामान्य भएपछि भक्तजनहरूको घुइँचो पहिलो दिनदेखि नै बढेको छ । राजदेवी मन्दिर लगायतका शक्तिपीठहरूमा बिहानैदेखि पूजा आराधना गर्ने श्रद्धालुहरूको घुइँचो लागेको थियो ।

यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरको सजावटकाे काम पूरा भएको पूजा व्यवस्थापक महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिएका छन् ।

राजदेवी मन्दिरको सजावटदेखि पूजा तथा त्यसको व्यवस्थापनका लागि यस वर्ष २० देखि २५ लाखसम्म खर्च हुने अनुमान रहेको उनले बताए । दसैंमा महावीर युवा कमिटीको मुख्य अर्थ आर्जनको श्रोत बोका बलि रहँदै आएको छ । राजदेवी मन्दिरमा अष्टमीको एक रातमा मात्रै १४ हजारभन्दा बढी बोका बलि हुँदै आएको छ । यस वर्ष पनि सोही हाराहारीमा बलि प्रदान हुने उनले बताए ।

उनले भने, ‘बलि प्रदान हुँदा त्यसबाट आउने पैसा र चन्दाबाट पूजा खर्चको व्यवस्थापन गर्ने गर्दै आएका छौं ।' दस दिनको पूजा व्यवस्थापनका साथै श्रद्धालुहरूको भीड व्यवस्थापनका लागि २ हजार बढी स्वयंसेवक परिचालन गरिने महावीर युवा कमिटीका अध्यक्ष साहले जानकारी दिए ।

महावीर युवा कमिटी बाहेक जनकपुरधामका राम युवा कमिटीले बौधीमाता मन्दिर, अमरखाना मन्दिर र अन्नपूर्णा माता मन्दिरको पूजा व्यवस्थापन गर्दै आइरहेका छन् । दसैंमा यी मन्दिरहरूमा घटस्थापनादेखि विजय दशमीसम्मका लागि सम्पूर्ण व्यवस्थापन पूरा भइसकेको अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेहरूको हजारौंको संख्यामा घुइँचो हुन्छ भने अष्टमीका दिन बोका बलि दिनेहरूको भीड लाग्ने गरेको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x