जात्रा-पर्व

पशुपतिमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

इकागज |
साउन १६, २०७९ सोमवार १२:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान सवा तीन बजे बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा लाममा बसेको उनको भनाइ थियो । 

भक्तजनलाई सहजरूपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ । बिहान तीन बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजनलाई वर्षाले केहीबेर असर पारेको थियो । विगतका दुई हप्तामा भन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको भिड लागेको छ । बोल बम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि बिहान लाम गुह्येश्वरी मन्दिरसम्म पुगेको थियो । 


बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छु्याइएको छ । सुन्दरीजलबाट पहेँलो एवं हरियो बस्त्र पहिरिएका भक्तजन लाम लागेर खाली खुटृा आएको दृश्य देखिन्थ्यो । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका थिए । केही भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेषगरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजाआराधना गर्ने गर्छन् । 
 
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । 


राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान ४ बजेदेखि नै यी मन्दिरको ढोका खुला गरिएको थियो ।यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घर घरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । रासस
 


Author

थप समाचार
x