जात्रा-पर्व

चितवनको 'कर्णाली' बाँदरझुला अबदेखि हनुमानझुला

इकागज |
असार १०, २०७९ शुक्रबार २०:४८ बजे

तस्बिरः सुर्य बिन्दास

काठमाडौँ- चितवनको बाँदरझुलालाई 'कर्णाली' भनेर पनि चिनिन्छ । माडी नगरपालिकाभर बिजुली बत्ती देख्‍न सकिन्छ । त्यहाँका सबै वडामा बिजुली बत्ती भएपनि  वडा नम्बर ९ को बाँदरझुला मात्र अँध्यारोमा छ । याे ठाउँमा  बिजुली बत्ती मात्र नभएर यातायातका साधन पनि सजिलै पुग्दैनन् ।

बाँदरझुलामा विद्युत्‌का पोल छैनन् । बत्तीका पसल पनि देखिँदैनन् । यहाँका स्‍थानीयहरू टुकी र सोलारको उज्यालोमा बस्‍न बाध्य छन् । यातायातका साधनहरू पनि बेलाबेलामा पुग्‍ने गर्छन् । कतिपय अवस्थामा समयमा एम्बुलेन्स नपुग्द बिरामीको बाटोमा मृत्यु हुने गरेको छ ।


वडाको अन्य भागमा बिजुलीको प्रकाश छरिएको छ । बाँदरझुलावासी सोलारको उज्यालोमा बस्‍न विवश छन् । जहाँ नेपाल टेलिकमको राम्रोसँग सिमकार्ड पनि चल्दैन । सोही वडामा सोलार बिग्रेर टेलिकमको टावर एक महिनादेखि चल्न सकेको छैन ।

बिडम्वना भनौ या आवश्यकता, अबदेखि बाँदरझुलावासीले आफ्नो टोलको पुरानो नाम पाउने छैनन् । किनभने यहाँ अब हनुमानको मूर्ति राखिँदैछ । हनुमानको मूर्ति राखिएपछि यस ठाउँको नाम पनि 'हनुमानझुला' हुनेछ ।

माडी नगरपालिकाले उक्त वडामा हनुमानको मूर्ति राख्‍न पाँच लाख रूपैयाँ बजेट छुट्याएको थियो । नगरपरिषदले बजेट मात्र छुट्याएको थिएन । उक्त टोलको  नामसमेत परिवर्तन गराएको थियो ।

स्थानीय सुर्य बिन्दास टोलको नाम परिवर्तन भएपछि विकास हुनेमा विश्‍वास गर्छन् । 'बाँदरझुलाबाट हनुमानझुला नाम राख्दा टोलका कसैलाई पनि थाहा थिएन,' उनले भने,' मूर्ति भन्दा पनि हामीलाई विकास चाहिएको छ ।' हनुमानको मूर्ति भरतपुरबाट लगिएको उनले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’ जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा गत वर्ष राम नवमीका दिन ‘भगवान’ राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरेका थिए । काठमाडौँबाट मूर्ति  लैजाने टोलीलाई तत्कालीन प्रधानमन्त्री ओलीले बिदाइ गरेका थिए । केही समय ती मूर्तिलाई बालुवाटारमा राखेर लगिएको थियो ।

गतवर्ष भानु जयन्तीको दिन ओलीले रामको जन्म भारतमा नभएर नेपालमा भएको र वीरगञ्जदेखि पश्चिम ठोरी तिर राम जन्मभूमि रहेको दाबीसहित भाषण गरेका थिए । उनको भनाइ विवादमा परे पनि चितवन माडी अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढेको थियो । रामधामको गुरूयोजना बन्दै गरेको हुँदा तत्कालका लागि मूर्ति मात्रै अस्थायी मन्दिरमा राखिएको छ ।


Author

थप समाचार
x