वातावरण

लमजुङका उच्च पहाडी भेगमा हिमपात, जनजीवन प्रभावित

इकागज |
माघ १२, २०७८ बुधबार १९:४१ बजे

लमजुङ – बुधबार दिउँसोदेखि लमजुङको उच्च पहाडी भेगमा हिमपात भएको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्ट भिलेज घलेगाउँमा बुधबार दिउँसोबाट हिमपात भएको हो । 

समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिउँ परेको स्थानीयले बताएका छन् । यस्तै लमजुङको बेसीशहर नगरपालिका १० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । 


पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुन्द्री सतहबाट १ हजार ९ सय ६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा बुधबार दिउँसोदेखि हिमपात भएसँगै आन्तरिक पर्यटक हिउँ खेल्नका लागी पिसहिल पुगेका छन् ।

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । हिउँ बाक्लो परेकाले घलेगाउँ पुगेका आन्तरिक पर्यटक हिउँमा सेल्फी खिच्न व्यस्त छन् । 

दुई वर्षअघि हिउँ परेको घलेगाउँमा पुनः यसवर्ष पनि हिउँ परेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै आन्तरिक पर्यटकहरू समूह/समूह बनाएर हिउँ खेल्न घलेगाउँ पुगेका छन् । 

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेक हुँदै मनाङको भूभागसम्मै हिउँले ढाकेको छ । यस्तै पुर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरी लगायतका उच्च पहाडी भेगमा बुधबार दिउँसोदेखि हिमपात भएको छ । 

बाँझाखेतको खाँचे र गाउँभाचोक जस्ता बस्ती नजिकै हिउँ परेको र त्यसमाथिका डाँडामा भने बाक्लो हिउँले ढाकेको दृश्य सदरमुकाम बेसीसहरबाटै देखिएको बेसीशहरकी कमला केसीले बताइन् । यस्तै पुर्वीभेगका ईलमपोखरी, विचौर, र दुधपोखरी गाउँको उच्च पहाडी भेगमा हिउँ परेको दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमायाँ गुरुङ बताउँछन् । 


Author

थप समाचार
x