वातावरण

तातिएको पृथ्वी, सुरुवाती संकट : विदेशमा मान्छे मर्दैछन्, नेपालका हिमाल झर्दैछन्

सुनीता साखकर्मी |
असार २४, २०७८ १७:३६ बजे

काठमाडौँ : इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसीमोड)का तत्कालीन निर्देशक डेभिड मोल्डेन नेपालमा वातावरणीय संकट नजिकै आइरहेको बताउँछन् । २०१९ मा उनको अन्तर्वार्ता नेपाली टाइम्समा छापिएको थियो । उक्त अन्तर्वार्तामा डेभिड भन्छन्,‘यदि हामीले विश्वको तापक्रम १.५ डिग्रीमा सीमित नगरे एकतिहाइ हिमनदी गुमाउन सक्छौँ, अहिलेकै अवस्थाले निरन्तरता पायो भने त दुई तिहाइ हिमनदी गुमाउनेछौँ, जुन एकदम डर लाग्दो छ ।’ 

विश्वको तापक्रम १.५ डिग्रीमा सीमित नगरे नेपालका हिमालहरू संकटमा पर्न सक्ने प्रष्टै बताउँछन् डेभिड। उनका अनुसार यो जलवायु परिवर्तनको शुद्ध संकेत हो, हिमाली क्षेत्रमा जलवायुको प्रभाव एकदम गम्भीर हुनसक्छ । इसीमोडका तत्कालीन निर्देशक डेभिडको आँकलनलाई मान्ने हो भने नेपालमा संकट भित्रिसकेको छ । किनकि विश्वको तापक्रमले एक वर्ष अगाडि नै १ डिग्री पार गरिसकेको छ ।


 वातावरणविद् भुषण तुलाधरका अनुसार गतवर्ष बढेको भनिएको १ डिग्री सय वर्षमा बढेको तापक्रमको औसत हो । थुप्रैलाई सय वर्षमा १ डिग्री बढ्दा के नै हुन्छ र भन्ने लाग्न सक्छ । तर, यो धेरै हो । यसले नेपालमा व्यापक असर गर्छ । गर्मी मौसममा मात्रै होइन, अन्य मौसमको पनि औसत तापक्रम बढिरहेको छ । 

‘नेपाल कृषिप्रधान मुलुक हो । मनसुनको महत्व धेरै छ । विद्युतको लागि खोलाको पानीमा भर पर्नुपर्छ । घाँस दाउराको लागि जंगलमा निर्भर हुनुपर्छ । हामी प्रकृतिमा भर पर्छाैँ,’ उनी भन्छन्, ‘तर यो प्रकृति खल्बलिँदा हाम्रो मानव जीवनका साथसाथै अन्य जीवजन्तुमा समेत असर गर्न थाल्छ ।’ 

त्यसैले हरितगृह ग्यासको उत्सर्जन घटाउनुपर्छ । अहिले वातावरणमा कार्बनडाइअक्साइडको मात्रा ४ सय पीपीएम भन्दा बढी भइसकेको छ । यो कम्तीमा पनि सय वर्ष वातावरणमा रहन्छ । त्यसैले कार्बनडाइअक्साइडको उत्सर्जन जति सक्दो कम उत्सर्जन गर्ने कोशिस गर्नुपर्छ । नत्र अमेरिका र क्यानडामा उत्तर पश्चिमबाट आएको गर्मीले जुन अवस्था निम्त्यायो, त्यस्ता घटनाहरू विश्वमा व्यापक रूपमा बढ्न थाल्छन् ।

अमेरिका र क्यानडाका राज्यहरूमा गर्मी बढ्ने मौसम पूर्वानुमान नगरेको होइन, गरिएको थियो । तर पनि उनीहरूले सोचे भन्दा बढी असर पुर्‍यायो । यसले गर्दा मौसम पूर्वानुमान गर्न गाह्रो हुन्छ । अतिवृष्टि हुने, अनावृष्टि हुने लगायत समस्या आइपर्छन् । उनी भन्छन्, ‘बदलिँदो परिवेश र अवस्थामा वायुमण्डल र पृथ्वीले कसरी रियाक्ट गर्छ भन्ने कुरा अनुमान नै लगाउन सकिन्‍न ।’

२०२१ जुलाईको पहिलो हप्तादेखि क्यानडा र अमेरिकाका केही ठाउँमा भयानक गर्मी भयो । सयौँ मानिसले ज्यान गुमाए । अझै थप मानिसको ज्यान जाने आशंका गरिएको छ । गत हप्ता ब्रिटिस कोलिम्बियाले ४ सय ८६ जनाको मृत्यु भएको खबर पाएको थियो । 

मौसम बैज्ञानिकहरूका अनुसार उत्तर पश्चिमी प्रशान्त क्षेत्रमा तापक्रम बढ्नाले क्यानडा र अमेरिकाको ओरेगन र वासिङ्गटन राज्यमा गर्मी बढेको हो । तर, यो गर्मीलाई ज्यानको दुश्मन भने जलवायु परिवर्तनले बनाएको उनीहरूको दावी छ । बैज्ञानिकहरूका अनुसार भविष्यमा यस्ता घटना थप देख्न पाइन्छ । 

अमेरिकाको सिएटल, क्यानडाको भ्यानकुभर र ब्रिटिश कोलम्बियाको अधिकांश घरहरूमा एअर कन्डिसन छैन । भ्याकुभरका प्रहरी सर्जेन्ट स्टीभ एडिसनले भने,‘भ्यान्कुभरले पहिले यस्तो गर्मी कहिल्यै देखेको थिएन । दर्जनौँ मानिस यही कारण मरिरहेका छन् ।’ 

१८८४ देखि २०२० सम्ममा विश्वको तापक्रममा भएको परिवर्तन दर्शाउँछ । निलो भागले औसत चिसो क्षेत्रलाई दर्शाउँछ भने गाढा रातो भागले औसत भन्दा अघिक गर्मी क्षेत्रलाई दर्शाउँछ । 

 

ब्रेकथ्रु इन्स्टिट्युटका मौसम विशेषज्ञ जेके हाउसफादरका अनुसार जलवायु परिवर्तन नभएको भएपनि उत्तर पश्चिमको प्रशान्त क्षेत्रमा गर्मी त हुन्थ्यो, तर यति भयानक भने हुँदैनथ्यो । ‘जलवायु परिवर्तनको कारण जुन नोक्सान भइसकेको छ, त्यसको भरपाइ हुन मुस्किल छ,’ उनी भन्छन्, ‘दुर्भाग्यवस, यदि हामीले कुनै जादुको छडी भेट्यौँ र कार्बन उत्सर्जनको मात्रालाई ‘जिरो’मा झा¥यौँ भने पनि पृथ्वी फेरी चिसो हुँदैन ।’  अब क्यानडा र अमेरिकी नागरिकले यस्तो गर्मी झेल्नुपर्ने तर्क उनले गरेका थिए । त्यसैले यस्तो मौसमको बानी पार्नु नै ठिक रहेको उनले सुझाव समेत दिए । 

क्यानडा र अमेरिकामा मात्रै होइन, गर्मीको मात्रा त कराँचीमा समेत हरेक वर्ष बढ्दै गइरहेको छ । कराँचीकी तलैहा चुगताईले गार्जियनसँग भनिन्,‘मलाई कराँचीमा बस्नै मन छैन ।’ 

त्यहाँको गर्मीले उनलाई समेत दुःख दिएको छ । केही नगरी बसिरहँदा पनि पसिनाले निथ्रुक्क भिज्छन् उनी । गर्मी कै कारण सास फेर्न पनि समस्या भएको छ उनलाई । फेरि उनले कराँचीको हावामा भएको अचेल धुलो मिसिएको छ । जसले हरेक सास प्रदुषित बनाइरहेको छ । उनी भन्छन्,‘काममा दिमाग लगाउनुपर्छ । तर गर्मीको कारण दिमागले काम नै गर्दैन । हरेक २५ मिनेटमा हावामा गएर बस्न मन लाग्छ ।’ 

उनलाई प्राय यस्तो भइरहन्छ । कामबाट घर आइपुग्दा उनलाई आफ्नो शरीरले काम नगरेको जस्तो महशुस हुन्छ । घर बाहिर जान सक्दैनन्, काम गर्न सक्दैनन् । उनलाई बेचैनी हुन्छ । जब तापक्रम ४४ डिग्री सेल्सियसभन्दा बढी भयो भने मर्छु कि भन्ने डर हुन्छ । 

उनी यही सहरमा हुर्केका हुन् । यो सहर पहिले यति गर्मी नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘पहिलेको गर्मी अहिलेको भन्दा फरक थियो । सूर्यको प्रकाशको कारण गर्मी हुन्थ्यो । तर अहिले त दिउँसै तातो समुद्री हावा चल्छ । हाम्रो घरले त्यस्तो हावा छेक्न सक्दैन । खाना खान मन लाग्दैन ।’

सन् १९३१ देखि २०१५ कराँचीको मौसमको रेकर्ड हेर्ने हो भने ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम हुनु नयाँ कुरा होइन । तर २०१५ देखि गर्मीको कारण भारी संख्यामा मानिसहरूको ज्यान नै जान थालेको थियो । कराँची, क्यानडा, अमेरिकामा मात्रै होइन, पछिल्लो समय पृथ्वीको तापक्रम दु्रत गतिमा परिवर्तन हुँदै छ । मानवीय क्रियाकलापहरूको पृथ्वीको तापक्रममा असर पर्दै गएको देखिन्छ । 

समयसँगै विश्वको तापक्रम बढ्दै गएको छ । सन् १८८० देखि २०२० सम्मको तथ्यांक हेर्ने हो भने यो प्रष्ट हुन्छ । अहिले विश्वको तापक्रमले १ डिग्री छोएको छ । 

 

सन् १८००को मध्यदेखि विश्वमा औद्योगिकरणको युग सुरु भएको थियो । त्यस बेलादेखि विश्वभरी नै तापिय उर्जाहरूको अत्याधिक मात्रामा बाल्न थालिएको थियो । जसले गर्दा पृथ्वीको वातावरण परिवर्तन हुन थाल्यो । ग्रिन हाउस ग्याँसहरूलाई असर गर्न थाल्यो । पृथ्वीको तापक्रम बढ्ने, समुन्द्री सतह बढ्ने लगायत इकोसिस्टममा अवरोध पुर्‍याउन थाल्यो । 

बैज्ञानिकहरूका अनुसार यदि पूर्वऔद्योगिक युगको स्तरमा विश्वको तापमान २ डिग्री सेल्सियको स्तरभन्दा पार हुन्छ भने यसको प्रभाव नराम्रो हुन्छ । दुनियाँभरका अरबौँ मानिसहरूका लागि यो खतरनाक हुन्छ । त्यसकारण विश्वका थुप्रै मुलुकले सन् २०१५ मा पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा पृथ्वीको तापक्रम २ डिग्री सेल्सियस भन्दा बढी हुन नदिन र १.५ डिग्री सेल्सियस भन्दा कम नै राख्ने महत्वाकांक्षा सहित सहमति भएको थियो । 

तर, दिनानुदिन विश्वको तापक्रम बढ्दै गइरहेको छ । नासाको तथ्यांकहरुले पनि यसको पुष्टि गर्छ । समयसँगै विश्वको तापक्रम बढ्दै गएको छ । सन् १८८० देखि २०२० सम्मको तथ्यांक हेर्ने हो भने यो प्रष्ट हुन्छ । 

विश्वमा बार्षिक रुपमा बढ्दै गएको मिड–ट्रोपोस्फेरिक कार्बनडाइअक्साइडको मात्रा रातो रंगले संकेत गरिएको छ । सन् २००२ को सेप्टेम्बर देखि २०१६ को डिसेम्बरसम्मको तथ्यांकका आधारमा यो देखाइएको हो । 

 

मानिसले सास फेर्दा कार्बनडाइअक्साइड फाल्छ । तर मानिसका अन्य गलत क्रियाकलापबाट पनि अत्याधिक मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको छ । यसरी उत्सर्जन भएका कार्बनडाइअक्साड हरिगृहमा गई बस्छ । जंगल फडानी, तापिय उर्जा बाल्ने, ज्वालामुखी विस्फोटन लगायतले पनि कार्बनडाइअक्साइड उत्सर्जन गर्छ । मौना लोवा अब्जरभेटरीले हालैको दिनमा वातावरणमा कार्बनडाइअक्साइडको मात्राको ग्राफ हो । 

औद्योगिक युग सुरु हुनु भन्दा अघि कार्बनडाइअक्साइडको उत्सर्जनको मात्रा र अहिलेको उत्सर्जनको मात्रा तुलना गर्दा ४८ प्रतिशतले बढेको देखिन्छ । सन् १८५० देखि १७१ वर्ष पछि मानवीय क्रियाकलापको कारण उत्सर्जन भएका कार्बनडाइअक्साइडले मानिसलाई नै हानी गरिरहेको छ । 

आर्कटिक समुन्द्री आइस प्रत्येक सेप्टेम्बरमा न्युनतम स्तरमा पुग्छ । १९८१ देखि २०१० सम्ममा प्रतिदशक १३.१ प्रतिशतको औसतमा यो आइस घटिरहेको छ । स्याटलाइटको माध्यमबाट यसको निरिक्षण भइरहेको छ । १९७९ पछि प्रत्येक सेप्टेम्बरमा औसत मासिक आर्कटिक समुन्द्री आइसको सीमालाई दर्शाउँछ । 

स्याटलाइटको माध्यमबाट लिइएको तथ्यांक अनुसार यो एनिमेटेड समय श्रृंखला तयार भएको छ । १९७९ मा देखिएको आर्कटिक समुन्द्री आइस २०२० सम्म आइपुग्दा क्रमशः घट्दै गएको देखिन्छ । २०१२ मा यो आइस सबैभन्दा कम देखिएको थियो । 

 

९० प्रतिशत समुन्द्रमा जलवायु परिवर्तन भइरहेको छ । जसले गर्दा समुन्द्रको पानीमा तापक्रम बढ्दै गएको छ । १९५५ देखि आधुनिक रेकर्ड राख्न सुरु भएको थियो । समुन्द्रमा जमेको तापको कारण यसको पानी विस्तार हुन थाल्छ ।

जसले गर्दा समुन्द्रको स्तर एक तिहाइदेखि डेढ गुणा बृद्धि हुन जान्छ । अधिकांश अतिरिक्त ताप सतहमा शून्यदेखि ७०० मिटरको गहिराइमा जमेको हुन्छ । पछिल्लो १० वर्षमा समुन्द्रमा बढी गर्मी बढेको छ । २०२० मा महासागरमा सबैभन्दा बढी गर्मी भएको तथ्यांक पाइएको थियो । (अन्तर्राष्ट्रिय संस्था र संचार माध्यमका प्रकाशनको सहयोगमा)


 



Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
ad
x