वातावरण

शीतलहरका कारण पर्साको जनजीवन प्रभावित

इकागज |
पुस २१, २०७९ बिहिवार २०:१९ बजे

फाइल फोटो

पर्सा - दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।


चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका  बिरामी ह्वात्तै बढेको नारायाणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।  “अस्पताल आउनेमा वृद्धवृद्धा तथा बालबालिका बढी छन्”, उनले भने  । उनले चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव दिए । 

चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।  
रासस


Author

थप समाचार
x