वातावरण

मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर

इकागज |
पुस १४, २०७९ बिहीबार १५:३२ बजे

फाइल फोटो

राजविराज - तराई–मधेशमा दुई÷तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।
 
 एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ । 

बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित भएका छन् । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको राजविराजस्थित केअ मावि कक्षा ७ मा अध्यनरत प्रियंका साहले गुनासो गरिन । 


बाक्लो कुहिरो लागेका कारणले पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गका सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको चालक बताउँछन् ।

दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने गरेको छ । चिसोले गर्दा मानिस बिरामी पर्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले चिसोबाट बालबालिका र वृद्धवृद्धामा बढी असर परेको बताए ।  

यस्तै गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुप्रिण्टेण्डेन्ट डा प्रकाश साहले जाडोबाट बढी मात्रामा दमका रोगी, वृद्धवृद्धा र बालबालिकालाई सताउने गरेको जनाउँदै अहिले अस्पतालमा त्यस्ता बिरामीको चाप नरहेको बताए । उनले भने, “अहिले त जाडो भर्खर सुरु भएको छ, चिसोसँगै बिरामीको चाप बढनसक्छ ।”
    
त्यस्तै स्थानिय प्रशासनले चिसोबाट बच्न आगो ताप्दा सावधानी अपनाउन आग्रह गरेको छ । आगोबाट ठूलो क्षतिसमेत हुनसक्ने भएकाले सबैलाई सचेत रहनसमेत  आग्रह गरिएको छ । बाक्लो हुस्सु लागेका बेला सवारी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ । 
रासस


Author

थप समाचार
x