ऊर्जा

अबको डेढ वर्षमा राहुगंगा

इकागज |
माघ ९, २०७८ आइतबार १७:१६ बजे

काठमाडौं : म्याग्दीमा निर्माणाधीन राहुगंगा (साविकको राहुघाट) जलविद्युत् आयोजना (पिकिङ ४० मेगावाट) निर्माण सम्पन्न हुन अझै डेढ वर्ष लाग्ने भएको छ । आयोजना निर्माणको पुनःसंरचना गरी ठेक्कापट्टा गर्दा नोभेम्बर २०२२ मा पूरा गर्ने लक्ष्य थियो । 

आयोजना प्रमुख गणेश केसीका अनुसार कोभिड–१९ का कारण भएका लकडाउन, निषेधाज्ञा, सामान आपूर्तिमा अवरोध लगायतका कारण निर्धारित समयमा पूरा हुन नसकेको हो ।


अहिले तीनै चरण (चौबीसै घण्टा) काम भइरहेको र अबको डेढ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको केसीले बताए । ‘हालसम्म सम्पूर्ण आयोजनाको निर्माण कार्य ३५ प्रतिशत पूरा भएको छ,’ केसीले आइतबार इकागजसँग भने, ‘मुहानदेखि विद्युत्गृहसम्म एकनासले काम भइरहेको छ, कोभिडको कहर भए पनि काममा बाधा परेको छैन ।’

आयोजना सम्पन्न हुने औपचारिक मिति तोक्ने प्रक्रियामा रहेको पनि केसीले बताए ।

यो आयोजनाको सिभिल ठेक्का भारतीय कम्पनी आइभीआरसीएलले सन् २०१२ को नोभेम्बरमै पाएको थियो । ठेक्का सम्झौता भएको मितिले २२ महिनाभित्र पूरा गर्नुपर्ने शर्त थियो । तर त्यस अवधिमा सिभिल ठेकेदारले जम्मा १२ प्रतिशत काम पनि पूरा गर्न सकेन । 

भारतीय एक्जिम बैंकको ऋण लगानी हुनुपर्ने भएकाले ठेकेदारहरु र परामर्शदाता भारतीय हुनुपर्ने शर्त थियो । तर प्राधिकरणले परामर्शदातामा भने चिनियाँ कम्पनीलाई नियुक्त ग¥यो । भारतले सहमति जनाएन । उता सिभिल ठेकेदार आइभीआरसीएललाई नगद प्रवाहमा समस्या भएपछि काम गर्न सकेन । 

प्राधिकरणको कार्यकारी निर्देशकमा पहिलोपटक कुलमान घिसिङ नियुक्त भएपछि राहुगंगालाई पुनःसंरचना गरियो । ठेक्का सम्झौता रद्द भए । प्राधिकरणको सहायक कम्पनी ‘राहुगंगा हाइड्रोपावर लिमिटेड’ स्थापना गी ३२ मेगावाट नदीप्रवाहीबाट ४० मेगावाटको पिकिङ बनाइयो । 

यसरी पुनःसंरचना गर्दा घिसिङले इलेक्ट्रो–मेकानिकल लटको पहिलोको अनुमानित लागतभन्दा ३० प्रतिशत घटाए । आयोजनाको कूल लागत ८ करोड १८ लाख ९० हजार अमेरिकी डलर कायम भयो । यसमध्ये ६ करोड ७० लाख भारतीय एक्जिम बंैकको ऋण र बाँकी नेपाल सरकार अनि विद्युत् प्राधिकरणले बेहार्ने गरी अघि बढाइयो ।

आयोजना निर्माणको उपक्रमलाई दुई भागमा विभाजन गरियो । लट १ मा सिभिल र हाइड्रोमेकानिकलको लट बनायो । यसको ठेक्का भारतीय कम्पनी जैप्रकाश एसोसियट्स लिमिटेड नोयडाले पायो । जैप्रकाशसँग सन् २०१७ कोे नोभेम्बर २१ मा सम्झौता भयो भने कम्पनीले २४ मे २०१८ मा कार्यादेश दियो ।

त्यसैगरी लट २ अन्तर्गत इलेक्ट्रो–मेकानिकल कार्यको डिजाइन, उत्पादन, आपूर्ति, जडान, उठान, परीक्षण र सञ्चालनसम्बन्धी ठेक्का भारतकै भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडले पायो । यसको सम्झौता ३० नोभेम्बर १९१९ मा भयो । कम्पनीले यो ठेकेदारलाई सन् २०१९ को डिसेम्बर ४ मा कार्यादेश जारी गर्‍यो ।

ठेक्का पाइसकेको चिनियाँ कम्पनीलाई हटाएर भारतकै वाप्कोस लिमिटेडलाई परामर्शदाता नियुक्त गरियो । वाप्कोससँग भने सन् २०१२ को फेब्रुअरी १६ मा परामर्शदाता नियुक्तिसम्बन्धी सम्झौता भयो । 

आयोजना प्रमुख केसी सहज रुपमा तीनै चरणमा काम भइरहेको र निर्माण कार्यमा कुनै लफडा नरहेको बताउँछन् । 


Author

थप समाचार
x