ऊर्जा

इप्पानको उपाध्यक्ष आकांक्षी उत्तम भ्लोन लामाको घोषणा

विद्युत् लाइसेन्स ५० वर्ष र विद्युत् व्यापार विधेयकमा जोड

इकागज |
जेठ २७, २०८० शनिवार १६:२ बजे

काठमाडौँ-  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को आगामी जेठ ३२ गते हुने चुनावमा उत्तम भ्लोन लामाले उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

करिब एक दशकदेखि जलविद्युत् व्यवसायमा संलग्न रहेका युवा उद्यमी लामा हाल कार्य समिति सदस्य छन् । निजी क्षेत्रको जलविद्युत् उद्यममा देखिएका, भोगिएका समस्या समाधान गर्नका लागि लामा वार्ता गर्न, सहजीकरण गर्न निपुण मानिन्छन् ।


ऊर्जा क्षेत्रमा लगानी केन्द्रित गर्न स्थापित तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक (हाल एनएमबी बैंकमा मर्ज भएको) को सीइडीबी हाइड्रा फण्डले प्रवर्द्धन गरेको  राधी जलविद्युत् (४.४ मेगावाट) बाट मुलुकको जलविद्युत् प्रवेश गरेका लामा हाल ६ सय मेगावाटका आयोजनासँग विभिन्न तवरमा संलग्न छन् । यसमध्ये ६७ मेगावाटका आयोजनाहरू सञ्चालनमा आइसकेका छन् । ती हुन् दोर्दी खोला (१२ मेगावाट), तल्लो खारे खोला (११ मेगावाट), खुदी (४ मेगावाट), रुकुमगाड (५ मेगावाट), न्यादी (३० मेगावाट), स्यांगे (१८३ किलोवाट) र राधी (४.४ मेगावाट) ।

नेपालको प्रतिष्ठित बैंक एनएमबी बैंकका सञ्चालक समितिका सदस्य समेत रहेका लामा ४५ मेगावाटको कुसवा खोला (संखुवासभा) मा निर्माणमा तल्लीन छन् । निजी क्षेत्रबाट भारत, बंगलादेश लगायत आन्तरिक तवरमा विद्युत् व्यापार गर्न गठित नेपाल पावर ट्रेडिङ कम्पनीका सञ्चालक समेत रहेका लामाले इप्पानको कार्य समितिको निर्वाचनमा आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

नेपालको ऊर्जा बजार अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यसमा जोखिम तथा फाइदा दुवै खालको छ । यहाँबाट सबै सरोकारवाला निकायहरू सरकारसहित पूर्ण रुपमा सहकार्य गरेर अगाडि बढेको खण्डमा विश्वासै गर्न नसकिने उपलब्धिहरू जस्तै भारत, बंगलादेश लगायत म्यान्मा, श्रीलंका आशिसान मुलुकहरूमा विद्युत् व्यापार गरी आउँदो १० वर्षभित्रमा नै विद्युतबाट व्यापार घाटा करिब ५ खर्ब घटाउन सक्ने स्थिति रहेको छ । 

खुला पहुँचको माध्यमबाट यो क्षेत्रको बजार सदाका लागि सुनिश्चित गर्न सक्ने र भविष्यमा उत्पादन हुने विद्युतका लागि समेत बजार सुनश्चित गर्ने स्वर्णिम अवसर हो । अर्काेतर्फ, फेरि पनि एकले अर्काेलाई दोषारोपण गरेर बस्यो भने नेपालको विद्युत् बजार सदाका लागि गुम्न सक्ने खतरा पनि  छ । उदाहरणका लागि हालको स्थितिमा सरकारले विद्युत् व्यापारको लागि राजनीतिक तवरबाट पहल नगर्ने, प्रसारण लाइन तथा आयोजना बनाउन सयौं झन्झट थपिरहने, पीपीए नभएर निजी क्षेत्र निराश हुने र विद्युत् प्राधिकरण प्रसारण लाइन बनाउन नसकेर घरेलु बजारमा पनि वितरण गर्न समय लगाउने जोखिम छ । यसबाट निजी क्षेत्रको विद्युत् खेर जाने तथा वित्तीय जोखिमले बैंकहरू धराशायी भएर राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो धक्का लागेर यो अवसर सदाका लागि बन्द हुने अवस्था हुन सक्छ । 
साथै जलविद्युत् बजारमा लागतहरू हरेक वर्ष बढ्दो छ भने अरु विद्युत् उत्पादनका लागतहरू अविश्वसनीय तवरबाट घट्दो पनि छ । उदाहरणका लागि सन् २०१९ मा विश्वभर १ लाख मेगावाट पनि नरहेको सौर्य विद्युत् हाल आएर झन्डै ९ लाख मेगावाटको हाराहारीमा पुगेको छ । हाइब्रीड विद्युत् उत्पादन तथा भण्डारमा भइरहेको विकासको कारण निकट भविष्यमा २० वर्षभित्र जलविद्युत् उत्पादन लगानी योग्य नहुने जोखिम पनि बढ्दै गएको छ । यद्यपि सौर्य ऊर्जाका आफ्नै महत्व तथा गुण छन् ।

यस अवसरमा मेरो उम्मेदवारी मुख्यतः मेरो पछिल्लो १० वर्ष यस क्षेत्रमा बिताएर प्राप्त ज्ञान, सीप र यस क्षेत्रको गाम्भीर्यता, अवसर र भविष्यलाई हेर्ने मेरो दृष्टिकोणको मेल नै प्रमुख कारण हो । जलविद्युत् क्षेत्र पहिले नै चलयमान छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय बजार तथा उत्पादकहरूबीचमा उचित समन्वय गरी जलविद्युतलाई कमोडिटी अर्थात् वस्तुका रुपमा बिना रोकतोक, बिना भेदभाव बजारको मात्रा अनुरुप संसारभर बेचबिखन गर्न सक्ने स्थिति बनाउन मेरो प्रमुख पहल रहनेछ । यसका लागि आउँदा दिनहरूमा मुख्यतया तीनवटा पहलमा जोड दिनेछु । पहिलो, मित्रराष्ट्रहरूमा ‘ओपन एक्सेस’ का लागि राजनीतिक तथा व्यापारिक लबिइङ (पहलहरू), दोस्रो दीर्घकालीन पीपीएका लागि सरकारी तथा निजी क्षेत्रको लगानी विशेष पहल, र तेस्रो मित्रराष्ट्रहरूबाट संयुक्त लगानीमा आयोजना निर्माणका लागि ‘रोड सो’ तथा अन्य कार्यक्रम ।

घरेलु बजारमा जलविद्युत् उद्यमीहरूले झेल्नुपरेका  विभिन्न समस्याहरूको समाधानका लागि हरसम्भव पहल र प्रयास गरी १० वर्षे जलविद्युत् दशक घोषणाको लागि विशेष प्रयास गर्नेछु । जसअन्तर्गत सरकारले १० वर्षभित्र उत्पादन हुने विद्युत् खरिदको जिम्मा लिने वातावरणका लागि प्रयास गर्नेछ ।  सरकारी कामका लागि एकद्वार नीति र टाइम कार्ड लागू गर्ने, आवश्यक प्रसारण लाइन निर्माण गर्ने, निजी क्षेत्रले पूर्ण समर्पित र अनुशासित भई विद्युत् उत्पादनमा लगानी गर्ने, अन्तर्राष्ट्रिय विद्युत् व्यापारसमेत सरकारसँगको सहकार्यमा गर्ने लगायतका मुख्य विषयमा मेरो ध्यान केन्द्रित हुनेछ  । यसका अलावा निम्न काम गर्ने प्रयास तथा पहल गर्नेछु :

१) विद्युत् खरिद सम्झौता (पीपीए) कुरिरहेका सम्पूर्ण आयोजनाहरू बजार सुनिश्चित हुँदै गएको परिप्रेक्ष्यमा बिना भेदभाव यथाशक्य गर्ने गराउन पहल गर्नेछु ।
२ं आउँदो १० वर्षमा न्यूनतम उत्पादन सुरु गर्न सक्ने आयोजनाहरूका लागि विशेष सहुलियतसहित एकद्वार प्रणालीको लागि पहल गर्नेछु । जसअन्तर्गत सरकारसँग विभिन्न किसिमका सरकारी रोकावटहरू हटाउन विशेष टायम बाउण्ड ‘सनसेट ल’ (निश्चित उद्देश्यका लागि लागू गरिने कानुन) का लागि पहल गर्नेछु ।
३) बढ्दै गएको वित्तीय लागत स्थिर गराउन राष्ट्र बैंकसँग क्षेत्रगत सीमितता १० देखि १० वर्षभित्र २० प्रतिशत बनाउन ‘सिंगल डिजिट फिक्स्ड’ ब्याज दर, पुनर्कर्जा, इनर्जी बण्ड तथा ग्रीन बण्डका लागि पहल गर्नेछु ।
४) उत्पादकहरूको विभिन्न समस्या तथा गुनासो पहलका लागि हेल्प डेस्क स्थापना गर्नुका साथै सेक्टोरियल एक्सपर्ट, उत्पादन, वितरण, बजार तथा पुँजी बजारजस्ता उपसमूहहरू गठन गरी विशेष सहयोग गरिनेछ ।
५) विद्युत् ऐनलाई यथाशक्य टुंगोमा पुर्याउन र सबै किसिमका विद्यु्त अनुमति पत्रको म्याद ५० वर्ष गर्न र विद्युत् व्यापार विधेयक अघि बढाउन पहल गरिनेछ ।
६) नेपाल विद्युत् प्राधिकरणलाई समय सापेक्ष सुधार गरी निजी क्षेत्रबाट सञ्चालक समितिमा प्रतिनिधित्वका लागि पहल तथा निजी क्षेत्रसँग मिलेर विद्युत् व्यापारका लागि पहल गर्नेछ ।
७) हाइड्रोजन उत्पादन तथा पेट्रोलियम आयात प्रतिस्पर्धा गर्न सक्ने कामहरू विशेष पहल तथा प्रोत्साहन गर्नेछु ।
८) विभिन्न किसिमका गोष्ठी, सेमिनार, समिटहरू आयोजना तथा तथा सहभागी भई यो सेक्टरको छवि निर्माण तथा योगदान प्रदर्शनी (कन्ट्रिब्यूसन सोकेस) गर्न पहल गर्नेछु । 
अन्तमा नेपालको तुलनात्मक लाभ जलविद्युत् तथा जलविद्युतसँग सम्बन्धित हाइड्रोजन जस्ता उत्पादन, वितरण तथा व्यापारमा छ । नेपालले तौलमय वस्तुहरू उत्पादन गर्दा बुद्धिमानी देखिन्छ । अतः ३० वर्षमा नेपाल सरकारकाले एकमुस्ट ठूलो सम्पत्ति (झन्डै ३४ खर्ब बराबरको)  पनि प्राप्त गर्न सक्ने, तुरुन्त कर, रोजगारी तथा प्राकृतिक स्रोतको उचित प्रयोगबाट प्रकोपमा समेत कमी ल्याउन सक्ने यस किसिमको काममा दिलोज्यान दिएर लाग्नेछु । साथै १० हजार मेगावाट १० वर्षभित्र उत्पादन गर्न नेपाल सरकार लगायत सम्पूर्ण जनता एकजुट भई लाग्नुपर्ने देखिन्छ ।


Author

थप समाचार
x