ऊर्जा

जलवायु प्रभाव मूल्यांकन कोषका लागि कृष्णप्रसाद भण्डारीले दिए ५१ हजार

जलवायु परिवर्तनको असर जलविद्युतमा

इकागज |
जेठ २६, २०८० शुक्रबार १७:९ बजे

काठमाडौँ- जलविद्युत् प्रवर्द्धक तथा अभियन्ता कृष्णप्रसाद भण्डारीले जलवायु प्रभाव मूल्यांकन कोष स्थापनाका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) लाई ५१ हजार रुपैयाँ नगद दिएका छन् ।

पृथ्वीको तापक्रम वृद्धिको असरबाट निजी जलविद्युत् क्षेत्रमा प्रभाव पर्न गएको र जानेक्रम बढ्दो रहेकाले त्यसबाट निम्तिन सक्ने जोखिमलाई व्यवस्थापन गर्न ‘सीड मनी’ (बीउ रकम) का रूपमा कोष खुलाउन रकम दिएको भण्डारीले बताए ।


इप्पानको साधारण सभाको पूर्वसन्ध्यामा इप्पानको नेतृत्व र व्यवस्थापनमा रहेर जलवायु प्रभाव मूल्यांकन कोष स्थापनाका लागि आफूले विशेष प्रस्ताव गरेको उनले बताए । ‘यो विशेष प्रस्तावलाई कार्यान्वयन गर्न इप्पानबाट अनुमोदनका लागि अनुरोध गर्दछु,’ रकमको चेकसहित कोष स्थापनार्थ पेस गरेको प्रस्तावमा भण्डारीले भनेका छन् ।

इप्पानको नेतृत्वमा हुने यो दूरगामी कोषको कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट परिचालन हुनसक्ने आर्थिक स्रोतबाट जलविद्युत् आयोजना र विद्युत् केन्द्रमा पर्यावरणीय सन्तुलन र कार्वन उत्सर्जनको प्रभाव अध्ययन अनुसन्धान र कार्यान्वयन गर्न सकिने उनको बुझाइ छ ।

‘जलविद्युत् क्षेत्रलाई आकस्मिक प्रकोप हुनबाट जोगाउन र विपद् न्यूनीकरण पूर्व तयारीका लागि अगाडि बढ्नु पर्ने बेला आइसकेको छ,’ उनले भने, ‘जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको खर्बाैं रकम खर्च भइसकेको छ, हुने क्रम जारी छ ।’

उनका अनुसार नेपालबाट उत्पादन हुने जलविद्युत ऊर्जाबाट हरित तथा स्वच्छ ऊर्जाले ‘ग्रीन हाइड्रोजन’ उत्पादनबाट रासायनिक मल र विद्युतीय परिवहनमा रूपान्तरण गर्न सकिनेछ । ‘अर्कोतर्फ कार्वन ट्याक्स तथा कार्वन क्रेडिटबाट लाभ लिन इप्पानले भूमिका खेल्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनको प्रस्तावमा छ, ‘यसबाट निजी जलविद्युत उत्पादकहरुलाई फाइदा पुग्न सक्नेछ ।’ 

नेपालले सन् २०४५ भित्र शून्य कार्वन उत्सर्जनको अन्तर्राष्ट्रिय लक्ष्य निर्धारण गरिसकेको छ । जसअनुसार खनिज ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापन गर्ने कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । यसलाई प्रभावकारी कार्यान्वयन गर्न हातेमालो गर्दै सरकार र निजी क्षेत्रले अधिकांश जलविद्युत क्षेत्रका जलाधार संरक्षण व्यवस्थापन, पानीका श्रोतहरूलाई यथास्थितिमा राख्ने र दिगो ऊर्जा विकासलाई समेत सहकार्यमा पुर्याउन इप्पानले महत्वपूर्ण भूमिका निभाउन सक्ने उनको विश्वास छ ।

प्रस्तावित कोषको सञ्चालक अध्यक्षमा इप्पानका वरिष्ठ उपाध्यक्ष उक्त कार्यक्रमको अध्यक्ष रहन सक्ने व्यवस्थाका लागि समेत भण्डारीले प्रस्ताव गरेका छन् । ‘प्रस्तावक यो कोषको संरक्षकमा रहेर श्रोत परिचालनमा सहयोग र समन्वय पुर्याउन सक्ने समेत प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।


Author

थप समाचार
x