ऊर्जा

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

इकागज |
चैत १०, २०७९ शुक्रवार १४:५३ बजे

काठमाडौं- मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धारापानीमा २२० केभीका सबस्टेसनहरू निर्माणाधीन छन् ।


खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिक रूपमा विकट र सबस्टेसन निर्माण स्थलमा उपकरणहरू लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नुपर्ने परीक्षणका कामहरू भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरू निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरू जडान जारी छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् ।

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश: २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहने छन् ।

खुदी र धारापानी सबस्टेसनमा क्रमश: २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरणहरू निर्माण स्थलमा ढुवानी सुरु भएको छ । 

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।

दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।


Author

थप समाचार
x