ऊर्जा

अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्दैन : कुलमान घिसिङ

इकागज |
मंसिर २२, २०७९ बिहीबार १७:१७ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताएका हुन् । उनले नेपालमा उत्पादन विद्युत् नेपालमा नै खपत बढाउनका लागि विभिन्न इभि एक्स्पोहरू भइरहेको उल्लेख गरे ।


घिसिङले विद्युत् खपतका लागि चार्जिङ स्टेसनहरू विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत् प्रशारण, वितरण र सव स्टेसनको विकास नभइ विद्युत् खपत बढाउन नसक्ने बताए । उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाइ गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको जिकिर गरे ।

घिसिङले​ अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नआउने दाबी गरे । उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको उल्लेख गरे । उनले  विद्युत् खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिट विद्युत् पनि खेर फाल्नु नहुने बताए । 


Author

थप समाचार
x