ऊर्जा

बाेनस माग्‍ने प्राधिकरणका कर्मचारीलाई मन्त्रीले यसरी झपारिन्

इकागज |
भदौ १, २०७९ बुधवार १८:५७ बजे

काठमाडौँ- १६ अर्ब नाफा कमाएपनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले बोनस नपाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री मन्त्री पम्फा भुसालले कर्मचारीलाई बोनस बोनस नमाग्न अनुरोध गरेकी हुन् ।

प्राधिकरणले आफ्नो ३७ औं वार्षिकोत्सव कार्यक्रम आयोजनाका अवसरमा प्राधिकरण सम्बद्ध विभिन्न संगठनहरूले गरेको मागमा बोल्दै ऊर्जामन्त्री भुसालले आफू कर्मचारीहरूको मागप्रति सकारात्मक रहे पनि भर्खरै सरकारले कर्मचारीहरूको १५ प्रतिशत तलव बढाएको र बोनस भने बिर्सिनुपर्ने बताइन् । कोभिड-१९ को महा विपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन्।


‘मलाई अचम्म लागेको छ, अहिले बोनसको कुरा उठ्दैछ, यो देशमा ३ करोड जनता छैनन्? अरबका खाडीमा जाने ४० लाख युवा बारे एक पटक सोच्नुस् ।,’ उनले प्राधिकरणका कर्मचारीलाई प्रश्न गरिन्, ‘ यो सोचनीय कुरा हैन ? यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’

यस्तै हालको प्राधिकरणका कर्मचारीहरूको कार्यशैली प्रति पनि भुसालको आक्रोश थियो । उनले सरकारले विद्युत् खपत बढाउन आग्रह गर्दै हिँड्ने तर प्राधिकरण कर्मचारीले एउटा थ्री फेज मिटर दिन पनि महिनौं लगाएको भन्दै आगामि दिनमा त्यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन दिइन् ।  एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको जानकारी आफूलाई रहेको भन्दै वितरण विभाग प्रमुख मनोज सिलवालको ध्यानाकर्षण समेत गराइन् ।

‘काम केन्द्रको गर्ने भत्ता स्थानीयको खाने प्रवृत्ति राम्रो हैन । सञ्चालन नै नभएका आयोजनामा भत्ता सुविधाका लागि जाने प्रवृत्ति छ’ उनले भनिन् । उनले कर्मचारीको वृत्ति विकासमा पनि ध्यान गएको छ भन्दै दैनिक ज्यालादारीलाई मासिक ज्यालादारी बनाउन प्रक्रिया अघि बढाएको जानकारी दिइन् । यस्तै  विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताइन् । मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङ्गबाट अघि बढाउनुपर्ने बताइन् ।

उनले विद्युत खपत बढाउन विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको विस्तारलाई तीब्र रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् । भनिन्,‘ विदेशी ग्यास छोडौं स्वदेशी विद्युत जोड्यौँ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङ्गबाट अघि बढाउनु पर्नेछ ।

यसका लागि धेरै विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महशुलमा छुट दिने निर्णय भएको छ । सरकार विद्युत खपत गर्ने नीति तथा कार्यक्रमसँगै अगाडि बढाएका छौं । सरकारले विद्युतको खपत बढाउन धेरै प्रकारका कार्यक्रम सञ्चालन गरिरहेको छ ।  प्राधिकरणले सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको विस्तारलाई तीव्ररूपमा अगाडि बढाउनु पर्छ ।

उर्जा मन्त्रालयमा पनि यही कुरा लागू गरेका छौं । अब खरिद गरिने सवारी साधन विद्युतीय मात्रै हुनु पर्नेछ । विद्युत खपत बढाउनको लागि वर्षा आम र गर्मी समयको फरक फरक विद्युत महसुल निर्धारण गरिएको छ ।’

मन्त्री भुसालले धेरै विद्युत उत्पादन गर्न नसकिने मिटर जोड्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन समेत दिइन। उनले मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै मिटर जोड्ने कामलाई महिनौ लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् । मन्त्री भुसालले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताइन् ।

मन्त्रीले बोनस नपाउने बताएपछि कतिपय कर्मचारीहरू मन्त्री बोल्दा गर्दा हलबाट बाहिरिएका थिए ।


Author

थप समाचार
x