ऊर्जा

तीन गुणा महँगो सामान किन्नैपर्ने अडानले प्याकेज २ को ठेक्का रद्द हुने संघारमा

ठेक्का मामिलामा हस्तक्षेप गर्दैनौं : जाइका

इकागज |
साउन २४, २०७९ मंगलबार १३:३५ बजे

काठमाडौं - तनहुँ हाइड्रो (१५० मेगावाट) को प्याकेज २ को मुख्य लगानीकर्ता जापान इन्टरनेशल कोअपरेशन एजेन्सी (जाइका) ले आफू उक्त प्याकेजको सम्झौताको पक्षधर नभएकाले सिनो हाइड्रो र हिटाची जोजेनको ठेक्का वार्ता (नेगोसिएसन) मा सरिक नहुने बताएको छ । दुई ठेकेदार कम्पनीबीच फ्लसिङ गेटको मूल्यलाई लिएर विवाद बढ्दै गएपछि इकागजको प्रश्नमा जाइकाको नेपाल कार्यालयले आफू ठेक्कापट्टको पक्ष नभएकाले दुई ठेकदारबीचको नेगोसिएसनमा आफ्नो संलग्नता नहुने बताएको हो ।

जाइकाको नेपाल कार्यालयले इकागजलाई इमेल पठाउँदै भनेको छ, ‘जाइकाले तनहुँ हाइड्रोसँग नजिकबाट परामर्श जारी राख्नेछ र परियोजना कार्यान्वयनलाई गति दिन आवश्यक सहयोग प्रदान गर्नेछ ।’ नेपालमा सेडिमेन्ट फ्ल्यासिङ प्रणाली भएको पहिलो जलाशययुक्त आयोजना भएको उल्लेख गर्दै जाइकाले भनेको छ, ‘तसर्थ प्रविधिको गुणस्तर र सुविधाको भरपर्दाे तथा दीगो सञ्चालन सुनिश्चित गर्न महत्वपूर्ण छ भन्ने ठान्दछ ।’


इकागजले गत साउन १२ गते दुई ठेकेदारको विवादले आयोजनाको भविष्य अन्यौलमा पर्न लागेको समाचार प्रकाशित गरेको थियो । विगत चार वर्षदेखि प्याकेज २ को चिनियाँ ठेकेदार सिनो हाइड्रो र हिटाचीबीच उसले उपलब्ध गराउने प्रविधि तथा सामानको मूल्यलाई लिएर विवाद कायम छ । बजार मूल्यभन्दा तीन गुणा बढी मूल्य तिर्नुपर्ने बताएपछि सिनो हाइड्रोले उसले भनेको मूल्य तिरेर काम गर्नुको साटो ठेक्का तोडेर धरौटी बुझाउन उचित हुने भन्दै आएको छ ।

जापानको १८ करोड अमेरिकी डलर ऋण रहेको तनहुँ हाइड्रको टेण्डर डकुमेन्ट बनाउने बेलामा जापानी कम्पनी हिटाची जोजेनबाहेक  अरु कुनै पनि देशको कुनै पनि कम्पनीले आपूर्ति गर्न नसक्ने गरी बनाइएको थियो । तनहँु हाइड्रोको टेण्डर डकुमेन्ट जापानको जे पावरले बनाएको थियो । 

यसैको फाइदा उठाउँदै हिटाचीले बजारको प्रचलित मूल्यभन्दा तीन गुणा महँगोमा आफ्नो सामान लिनुपर्ने अडान चार वर्षदेखि राख्दै आएको छ । आफ्नो अडानमा टसको मस नभएपछि हिटाचीको विकल्पका रुपमा अन्य कम्पनीलाई पनि अनुमति दिनुपर्ने दबाब जाइकामाथि परेको छ ।

प्याकेज २ अन्तर्गत ‘सेडिमेन्ट फ्लसिङ गेट’, ‘वाटर लोअरिङ गेट’, ‘इन्र्भान्रनमेन्टल पावर हाउस’ निर्माण पर्छ । सेडिमेन्ट फ्लसिङ गेटको ठेक्का गर्ने बेलामा जे पावरले दुईवटा क्राइटेरिया (शर्त) राख्यो । पहिलो शर्त थियो, पाँच–पाँच मिटरको फ्लसिङ ५० मिटरभन्दा बढी पानीको चाप थेग्ने र २५ मिटरमा खोल्ने बन्द गर्ने ढोका डिजाइन, आपूर्ति, जडान, टेस्टिङ र कमिसनिङ गरेको हुनुपर्ने । 

दोस्रो, यस प्रकारको संरचनाको डिजाइन, आपूर्ति, जडान, परीक्षण गरी लगातार पाँच वर्षसम्म सफलतापूर्वक सञ्चालन गरेको हुनुपर्ने । प्याकेज २ का लागि जाइकाले ऋण दिएकाले उक्त संरचना पनि हिटाची जोजेनबाहेक अरु कसैले बनाउन नसक्ने गरी जापानले शर्त राखेको हो । त्यतिबेला इटालीको एटीबी रिभाले पनि यस्तो स्टील गेट बनाउन सक्ने भए पनि यस्तो गेट बनाएर सञ्चालन गरेको पाँच वर्षे अनुभव नभएका कारण हिटाची एकमात्र विकल्प थियो ।

प्याकेज २ का लागि चिनियाँ कम्पनी सिनो हाइड्रो र इटालियन कम्पनी सीएमसीले प्रतिस्र्धा गरेका थिए । आयोजना स्रोतका अनुसार सीएमसीले इटालीकै एटीबी रिभाको हाले पनि पाँच वर्षे अनुभव नभएको कारण उसले पनि हिटाची जोजेनसँगै ‘सहमति’ गरेको थियो ।

ठेक्का प्राप्त गरेको सिनो हाइड्रोले पनि हिटाची जोजनसँग सहमति गरी ठेक्का हालेको थियो । ठेक्का  हाल्दा यति पैसा पर्छ भन्ने कुनै सम्झौता भएको थियो । हिटाचीजस्तो कम्पनीले निश्चय पनि बजार मूल्यमै उपलब्ध गराउनेमा सिनो हाइड्रो ढुक्क थियो ।

फ्लसिङ गेटसम्बन्धी काम अघि बढाउने बेलामा हिटाचीले बजार मूल्यभन्दा तीन गुणा महँगो दिने भए मात्र आफूले आपूर्ति गर्न सक्ने बताउन थाल्यो । यस्तो संरचनाको बजार मूल्य करिब एक करोड ३० लाख अमेरिकी डलर पर्ने विज्ञहरूबताउँछन् ।

सन् २०१८ मा ठेक्का हुँदा विश्वका कुनै पनि कम्पनीले यस्तो संरचना आपूर्ति वा निर्माण वा सञ्चालन गरेको पाँच वर्ष पुगेको थिएन । सन् २०२२ मा आइपुग्दा इटालियन कम्पनी एटीबी रिभाको भने उक्त शर्तजन्य अनुभव हासिल गरेको छ । 

यो प्याकेजको ठेक्का सन् २०१८ को अक्टोबर १ मा भ्याटबाहेक १५ करोड ११ लाख अमेरिकी डलर (हालको मूल्यमा १८ अर्ब ५८ करोड रुपैयाँ) मा सिनो हाइड्रो कर्पाेरेशन लिमिटेडले पाएको थियो । सन् २०१९ को जनवरी १८ देखि काम सुरु भएको यो ठेक्का १८७३ दिन (मार्च ४, २०२४) पूरा गर्नुपर्नेछ । 

यो पनि 

तनहुँ हाइड्रोमा जापानी ऋणको गलपासो 

तीन गुणा महँगो सामान किन्नैपर्ने अडानले प्याकेज २ को ठेक्का रद्द हुने संघारमा


Author

थप समाचार
x