ऊर्जा

प्रधानमन्त्री देउवा र केयुका ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच छलफल

इकागज |
साउन २३, २०७९ सोमवार १४:१ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच आज बालुवाटारमा छलफल भएको छ । छलफलमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, केयुका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापा, केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र वातावरण इन्जिनियर लक्ष्मण लामा सहभागी थिए ।

छलफलमा विज्ञ टोलीको तर्फबाट ग्रीन हाइड्रोजन उत्पादनमा हालसम्म नेपालले हासिल गरेको उपलब्धिबारे प्राध्यापक डाक्टर विराज सिं थापाले प्रधानमन्त्री देउवालाई जानकारी गराए । प्रधानमन्त्री देउवाले विज्ञ टोलीलाई नेपालमा हाइड्रोजनबाट मल कारखाना खोल्न सकिन्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा डाक्टर थापाले ग्रीन हाइड्रोजनबाट नेपाल सरकारले आफ्नै रसायनिक मल कारखाना खोल्न सक्ने र त्यसको प्राविधिक पक्ष थप सबल हुँदै गइरहेको बताए ।


केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर लामाले संघीय सरकारको ऊर्जा, अर्थ, कृषि मन्त्री र बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीसंग ग्रीन हाइड्रोजन, एमोनिया उत्पादन र मल कारखाना खोल्नका लागि भइरहेको कामको जानकारी गराउँदै नेपालमै रसायनिक मल कारखाना खोल्ने विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक समन्वय र सहकार्य गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

विज्ञ टोलीले ग्रीन हाइड्रोजनको क्षेत्रमा काम गरिरहेकाको हौसलाका लागि हाइड्रोजनबाट चल्ने सवारीसाधन प्रयोग गर्न समेत प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । हालसम्म काठमाडौँ विश्वविद्यालयले गरेको अध्ययन र खोजबाट ग्रीन हाइड्रोजनको प्रयोग गरेर मल कारखाना खोल्न सकिने कुरा राख्दै सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवाला पक्षलाई आवश्यक हाइड्रोजन उत्पादनसंग सम्बन्धित नीति, नियम र कानुन निर्माणका लागि निर्देशन दिन विज्ञ टोलीले विशेष आग्रह गरेको छ । 

नेपालको बिजुली र पानीको प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्ने, हाइड्रोजनबाट उत्पादन हुने एमोनिया अन्तर्राष्ट्रिय स्तरमा निर्यात गरेर नेपालको अर्थतन्त्र बजबुद बनाउन सकिने कुरामा प्रधानमन्त्री देउवालाई विज्ञ टोलीले सुझाव दिएको छ । त्यस्तै नेपालमा फलामको प्रशोधन गर्नका लागि कोइलाबाट नभइ हाइड्रोजनको प्रयोग गरेर प्रशोधन गर्नुपर्नेमा समेत विज्ञ टोलीले जोड दिएको छ । 

छलफलमा सहभागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विज्ञको कुरा सुनेर अघि बढ्नुपर्ने बताए । उनले बढ्दो वातावरणीय प्रदूषण रोक्न पनि ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोगमा मुलुकले ठोस योजना, नीति र कानुन बनाएर अघि बढ्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

विज्ञ टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले कोप २६ मा सन् २०४५ भित्र नेपाल कार्बन न्यूटल मुक्त देश बनाउने प्रतिबद्धता स्मरण गदै ग्रीन हाइड्रोजनको उत्पादन र उपयोगितामा नेपाल सरकारले आवश्यक नीति, कानुन बनाएर यथाशीघ्र कार्यान्वयनमा जाने बताए ।


Author

थप समाचार
x