ऊर्जा

बेतन कर्णालीले माग्यो अन्तर्राष्ट्रिय परामर्शदाता

इकागज |
असार १६, २०७९ बिहिवार १५:१७ बजे

काठमाडौँ- कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लगानी रहेको वेतन कर्णाली जलविद्युत् आयोजना (४३९ मेगावाट) ले अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ ।


आगामी वर्षदेखि निर्माणमा जाने लक्ष्य रहेको यो आयोजनाले यो वर्ष निर्माणअघिका सबै प्रक्रिया पूरा गर्न परामर्शदाता नियुक्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको बेतान कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक दीपक रौनियारले बताए । 


‘नेपालकै पहिलो ठूलो अर्धजलाशययुक्त आयोजना भएकाले विश्वस्तरकै परामर्शदाता आओस् भनेर हामीले त्यहीअनुसारको प्रतिस्पर्धा गराउँदैछौं,’ प्रबन्ध सञ्चालक रौनियारले बिहीबार इकागजसँग भने, ‘अहिले आशय पत्र (इओआई) जारी गरेसकेपछि हामी प्राविधिक र वित्तीय प्रस्ताव माग्छौं ।’

नेपालमा नदी प्रवाही (आरओआर) आयोजना निर्माणको अनुभव भए पनि माथिल्लो तामाकोसीपछि सबैभन्दा ठूलो तर अर्धजलाशययुक्त (पीआरओआर) मा सबैभन्दा ठूलो आयोजना भएकाले त्यहीअनुसारको प्रक्रिया अपनाइने रौनियारले बताए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नियुक्ति भई आउने परामर्शदाताले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को समीक्षा, पुनःमूल्यांकन र आवश्यक परे संशोधन, टेण्डर डकुमेन्ट तयार गर्ने, सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो–मेकानिकल, प्रसारण लाइन तथा सवस्टेशन लगायत सम्पूर्ण निर्माण कार्यको रेखदेख (सुपरभिजन) गर्नुपर्नेछ ।
दैनिक ४ देखि ६ घण्टासम्म पिकिङ इनर्जी उत्पादन (माग धेरै भएका बेला) हुने यो आयोजनाको बाँध नदीको सतहदेखि सय मिटरको छ भने यसले बिजुली उत्पादन गर्ने बेला वर्षायाममा ५८५ घनमिटर प्रतिसेकेण्ड (क्यूमेक्स) र हिउँदयाममा ५३६ क्यूमेक्स पानी उपयोग गर्छ । धेरै पानी र अग्लो बाँध भएका कारण यसका भौतिक संरचना पनि जटिल प्रकृतिका हुनेछन् । 

रौनियारका अनुसार परामर्शदाता र ठेकेदार नियुक्तिबाहेक निर्माणपूर्वका अन्य प्रक्रियाहरु पूरा भइसकेका छन् । आयोजनालाई आवश्यक पर्ने जग्गा अधिग्रहण १८४४ रोपनी (भुक्तानी मात्र हुन बाँकी), प्रवेश मार्ग निर्माण, क्याम्प स्थापनाका काम पूरा भएको रौनियारले बताए । ‘थोरै समयमा धेरै काम भइसकेको छ, यो नेपालको उत्कृष्ट आयोजना हुनेछ,’ रौनियार भन्छन्, ‘अबको चार, पाँच वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।’

यो आयोजनाबाट वार्षिक २४०० मेगावाट घण्टा (२ अर्ब ४० करोड युनिट) बिजुली उत्पादन गर्नेछ । यसको निर्माण अवधिको ब्याजसहितको लागत (वित्तीय) ८८ अर्ब र ब्याजबाहेकको लागत (आर्थिक) ७४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । 

रौनियारका अनुसार यो आयोजना निर्माण पूर्ण रुपमा स्वदेशी लगानीमा हुनेछ । ‘नेपालका बैंकहरुसित वित्तीय व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाएका छौं,’ यसअघि जलविद्युत् विकास तथा लगानी कम्पनी (सरकारी) को प्रमुख कार्यकारी अधिकृत रहिसकेका रौनियारले भने । 
यो आयोजनामा कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र विद्युत् उत्पादन कम्पनी (भिउसिने) को १० प्रतिशत शेयर लगानी गर्ने भनिएको छ । त्यस्तै प्रवर्द्धनको अर्काे समूह अन्तर्गत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको ४० प्रतिशत (आठ अर्ब रुपैयाँ) शेयर रहने संरचना छ ।
यसबाहेक सर्वसाधारणको १३ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको १० प्रतिशत र न्यून आय भएका परिवारको २ प्रतिशत शेयर रहने पुँजी संरचना छ । आयोजनाको कूल लागतमा ५७ अर्ब रुपैयाँ बैंक ऋणबाट बेहोरिने भनिएको छ । 

यो पनि
कमिसनको चक्करले अघि बढेन बेतान कर्णाली ४३९ मेगावाट
 


Author

थप समाचार
x