ऊर्जा

स्वीट्जरल्याण्डले नेपाललाई टनेल र टर्बाइनमा सहयोग गर्ने

इकागज |
असार ७, २०७९ मंगलबार १२:५१ बजे

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छिन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिन् । नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताइन् ।


‘हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा बृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्, यस्ता समस्याको समाधान खोज्न आवश्यक छ । यी विषयमा नेपाल र स्वीस सरकार सहकार्य गरेर जानुपर्छ,’ उनले भनिन् । मन्त्री भुसालले सङ्घीयता कार्यान्वयन र रोजगारी विस्तारमा स्वीस सरकारबाट प्राप्त भएको सहयोगप्रति धन्यावाद व्यक्त गरिन् ।

सो अवसरमा राजदूत क्याप्लरले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्वीस सरकारले निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास दिलाइन् । ‘हामीसँग टनेल एवं टवाईनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौँ,’ उनले भनिन् । 

सो अवसरमा जलवायु परिवर्तनको असरका कारण आफ्नो देशको तापक्रम वृद्धि हुँदै गएको राजदूत क्याप्लरले सुनाए। भेटमा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, बाबुराम भण्डारी र पराराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।
 


Author

थप समाचार
x