स्थानीय तह निर्वाचन २०७९

कर्णालीको ६ पालिकामा कहाँ कसले जिते ?

लक्ष्मी भण्डारी |
जेठ १, २०७९ आइतवार १७:३० बजे

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेशका ६ वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा अहिलेसम्म ६ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको  हो । कम मतदाता रहेका पालिकाका मत परिणाम छिटो सार्वजनिक भएका छन् । 

जसमध्ये १० जिल्लामध्ये हिमाली जिल्ला डोल्पाका चार, हुम्लाको एक र दैलेखको एक स्थानीय तहमा जनप्रतिनिधि विजयी भएका छन् । यी मध्ये तीन वटा पालिकाहरुमा निर्विरोध भएको थियो । 


सार्वजनिक भएका मत परिणाम अनुसार डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादीले जितेको  छ  ।  माओवादीबाट अध्यक्षका उम्मेदवार नारसिं रोकायाले सात सय ७० मत पाएर विजयी भए भने एमालेका हेमबहादुर महतराले सात सय ४६ मत प्राप्त गरेर पराजित भए । यसैगरी उपाध्यक्षमा पनि माओवादीकी अमरिता बोहरा सात सय ५९ मतका साथ विजयी हुँदा एमालेकी चन्द्रावती थापा पराजित भएकी छन् । 

त्यसैगरी दैलेखको नौमुले गाउँपालिकाको मतगणनाबाट माओवादीका छवि सुवेदी विजयी भएका छन् । सुवेदीले तीन हजार दुई सय मत पाए भने काँग्रेसका भदे बुढामगरले  २५ सय ४४ मत पाए । बुढामगर ०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ  । उपाध्यक्षमा समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत प्राप्त गरेका छन् । 

हुम्लाको खार्पुनाथमा भने नेपाली काँग्रेसले जितेको छ  । त्यहाँ काँग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।  उनी काँग्रेस माओवादीका गठबन्धनका उम्मेदवार हुन् । रावलले एक हजार आठ सय १० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् ।

रावलले ०७४ को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंहले १ हजार आठ सय ७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले आठ सय ५० मत ल्याएका छन् । यस्तै खार्पुनाथका पाँचवटै वडामा गठबन्धन निर्वाचित भएको छ ।

डोल्पाको तीन वटा स्थानीय तहमा निर्विरोध निर्वाचित भएका छन् । डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट अध्यक्ष निर्विरोध भएका छन् । 

काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भएका थिए भने छार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरूङ निर्विरोध भए । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भएका छन् । अन्य स्थानीय तहहरुको पनि नजिता आउनेक्रम जारी छ  । 


Author

थप समाचार
x