स्थानीय तह निर्वाचन २०७९

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

अतिन आचार्य |
जेठ १७, २०७९ मंगलबार ७:२४ बजे

काठमाडौँ - सोमबार राष्ट्रिय सभागृह मानिसहरूले खचाखच भरिएको थियो । सभागृहमा काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ समारोह थियो । जहाँ महानगरका १६२ नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरे । शपथ ग्रहण गर्ने जनप्रतिनिधिहरू थरिथरिका थिए । तन्नेरी मेयर र उपमेयर, युवादेखि अनुभवी वडाध्यक्ष र सदस्यहरू समारोहमा थिए । सबैले आ-आफ्नो पद र ओहदाअनुसार  फरक-फरक व्यक्तिबाट शपथ लिए । अब पाँच वर्ष महानगरदेखि वडासम्म उनीहरूको जिम्मामा हुनेछ ।​

त्यही भिडमा थिइन् २२ वर्षीया आरती सुनार । महानगरको वडा नम्बर ५ की दलित महिला सदस्य। नेकपा एमालेबाट दलित सदस्य कोटाबाट टिकट पाएकी सुनार १ हजार ५ सय ८८ मत प्राप्‍त गरी विजयी भएकी हुन् । उनी शंकरदेव क्याम्पसमा स्नातक तहमा तेस्रो वर्षमा अध्ययनरत छिन् । सानैदेखि राजनीतिमा रूचि राख्‍ने सुनार कलेजदेखि नै राजनीतिक तथा सामाजिक काममा सक्रिय थिइन् । निर्वाचनको मिति सार्वजनिक भएसँगै परिवर्तन चाहने युवा भएकाले उनले आफ्नो उम्मेदवारी दर्ता गराइन् ।


'एमालेको सक्रिय कार्यकर्ता रहेकाले युवाको पनि प्रतिनिधित्त्व हुने भएकाले पार्टीमा कुरा राखेँ,' उम्मेदवार दर्ता गर्दाको क्षण सम्झिदै उनले भनिन् ।

सुनारको परिवारमा कोही पनि राजनीतिमा आवद्ध छैनन् । उनलाई अभिभावकले सानो उमेरमा राजनीतिमा जान नहुने सुझाव दिएका थिए । परिवारको पहिलो सन्तान रहेकी उनले परिवारबाट निर्वाचन ताका भने सहयोग पाइन् । सबैभन्दा बढी सहयोग आमा लिला सुनारबाट पाएको उनले सुनाइन्।

'राजनीतिभित्र पनि धेरै राजनीति हुन्छ ,अहिले समय भएको छैन भन्दै हुनुहुन्थ्यो,' आमालाई उदृत गर्दै उनले सुनाइन्,' नसप्रिएको राजनीतिलाई युवाहरूको सहभागिताले नयाँ सन्देश दिन सकिन्छ भन्दै आएको हुँ ।'

सरकारी कार्यालयबाट दिइने सेवाबाट उनी आजित थिइन् । भन्छिन्,' वडा कार्यालयबाट हुने ढिलासुस्तीका कामलाई अन्त्य गर्ने प्रयास गर्छु । सेवाग्राहीसँग समन्वय गर्नेछु । अहिले सबै काम गर्न सक्छु भनेर भन्दिनँ तर सकेको काम र सबैलाई सहयोग गर्न निरन्तर लागिरहन्छु ।'

सबैका लागि काम गर्नेछु

वडामा शिक्षाको क्षेत्रमा भएका गतिविधिहरूलाई सुधार गर्न चाहेको उनी बताउँछिन् । शिक्षामा आदर्शको मात्र कुरा गर्न उनी चाहन्नन् । दलित समुदाय र महिलाका लागि मात्र काम नगर्ने उनको भनाइ छ । समुदायमा बसेपछि सबैका लागि काम गर्ने उनको धारणा छ ।

सुनार महिला भएर महिलाको लागि काम गर्नैपर्छ भन्ने धारणाबाट मुक्त हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, 'महिलाको मात्र कुरा गर्दा कतै पुरुषका आवाजहरू त दबिएका छैनन् भनेर सोच्नेछु । समाजमा महिला र पुरुष दुवै बस्छन् नि होइन् र? म सबैका लागि काम गर्नेछु ।'

ज्येष्ठ नागरिक तथा बालबालिकाका आफ्ना अधिकार सधैंभरी वञ्चित हुने गरेको उनले महसुस गरेकी छिन् । आफ्नो कार्यकालमा युवालाई पनि समेटेर काम गर्ने योजना बनाउने उनले बताइन् ।

आईटीमा सिकेको ज्ञान वडामा लगाउँछु

आइटी कम्पनीमा करिब डेढ वर्ष काम गरेकी उनी वडा सदस्य हुनुअघि मासिक ४० हजार तलबमा काम गर्थिन्। आईटीको काम छोड्नुको कारण सुनाउँदै भन्छिन्,' आईटीमा सिकेको काम वडा सदस्य भएर वडामा लागू गराउन चाहन्छु ।' डिजिटल मार्केटिङको पनि उनले कोर्स पूरा गरेकी छन् ।

उनी महानगरमा युवा मेयर बालेन शाहको नेतृत्व आएकाले उत्साहित छिन् । युवा उम्मेदवार दर्ता हुँदा युवा मेयर आउनुमा अझ धेरै उर्जा प्राप्‍त गरेको उनले बताइन् । पार्टीको तर्फबाट भन्दा जनप्रतिनिधिको हैसियतले भन्दा उनले राम्रो सन्देश प्रवाह गरेको धारणा राखिन्।

राजनीतिमा लागिसकेपछि पार्टीलाई महानगरको निर्वाचनमा आफूले धोका नदिएको उनले बताइन् । मेयर उम्मेदवारमा केशव स्थापितलाई भोट हालिन् । 

उनी टिम वर्कमा विश्वास गर्छिन् । 'कति कामको अनुभव बटुल्न सकिन्छ त्यस अनुसार अन्य पदमा उठ्न सकिन्छ,' उनले हाँस्दै सुनाइन्,' वडामा काम गर्ने शैली बुझेपछि माथिल्लो पदमा जान सक्छु होला ।'

शपथ लिएपछि उनले युवालाई सुझाव दिदै भनिन्,' मोबाइलले युवालाई प्रयोग गरिरहेको छ । अब युवाले मोबाइल प्रयोग गर्नुपर्छ । घरभित्रबाट सामाजिक सञ्‍जाललाई स्क्रोल गरेर बस्न हुँदैन । बाहिरी दुनियाँ हेर्नुभन्दा घरबाट बाहिर निस्कनु भयो भने युवाका लागि धेरै अवसरहरू छन् ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x