स्थानीय तह निर्वाचन २०७९

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्‍नेलाई कानुनी कारबाही गर्ने करिष्माको चेतावनी

इकागज |
जेठ १३, २०७९ शुक्रबार १७:३२ बजे

काठमाडौँ -अभिनेत्री तथा एमाले नेतृ करिष्मा मानन्धरले स्थानीय निर्वाचनमा चुनावी परिणामलाई लिएर आफूमाथि भइरहेका टिप्पणी तथा समाचारको प्रतिरोध गर्ने बताएकी छिन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूलाई व्यक्तिगत रुपमा चरित्र हनन हुने गरी असान्दर्भिक र आधारहीन कुरा लेखेर प्रचारप्रसार गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यस्ता पोस्ट तथा समाचार हटाउन अनुरोध गरेकी छिन् ।

‘ हालै केही सामाजिक सञ्ंजाल र केही अनलाइन समाचारहरूमा स्थानीय निर्वाचनमा एमालेको सन्दर्भमा चुनावी गतिविधिलाई जोडेर मलाई व्यक्तिगत रुपमा मेरो चरित्र हनन हुने गरी असान्दर्भिक र आधारहीन कुरा लेखेर प्रचारप्रसार गरिएकोमा मेरो ध्यानाकर्षण भएको छ । उक्त कुराहरु पढ्दा नियतवस मलाई उत्पीडन गर्ने मनसायले फैलाएको मलाई लागेको छ,’ उनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 


उनले अगाडि लेखेकी छिन्, ‘ उक्त कुराहरु जो जसले लेखेर प्रचारप्रसार गर्नु भएको छ । उहाँहरुलाई म विनम्र अनुरोध गर्न चाहन्छु कि, कृपया उक्त असान्दर्भिक, आधारहीन कुराहरू हटाइयोस । अन्यथा उक्त कुराहरूको विरोधमा म कानुनी उपचारलगायत अन्य उचित कदम चाल्न बाध्य हुनेछु ।’

एमाले प्रवेशसँगै विवादमा परेकी करिष्माको स्थायी बसोबास रहेको गोदावरीमा एमाले उम्मेदवारले हारेपछि करिष्माले केही गर्न नसकेको भन्दै उनको आलोचना भएको थियो । थुप्रै अनलाइनले भने ‘करिष्मा जुन पार्टीमा जान्छिन् त्यो पार्टी पत्ता साफ हुन्छ’ भन्ने शीर्षकसहित समाचार लेखेका थिए । 


Author

थप समाचार
x