स्थानीय तह निर्वाचन २०७९

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

अतिन आचार्य |
जेठ १३, २०७९ शुक्रबार १५:१३ बजे

काठमाडौँ-  स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चर्चामा बालेन शाह रहे । उनी काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेसँगै चर्चाको केन्द्रविन्दुमा रहिरहे । चर्चामा मात्र रहेनन्, अन्तत: उनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरी विजयी भइसकेका छन् ।

र्‍याप गायकको पहिचान बनाएका बालेन स्ट्रकचरल इञ्जिनियरसमेत हुन् । संगीतको माध्यमबाट उनले सधैँ व्यवस्थाको विरोध गरिरहे । गीतमार्फत देश, समाज र राजनीतिक विकृतिको वकालत गर्दागर्दै बालेन ती सबै काम पूरा गर्ने जिम्मेवारीमा पुगेका छन् ।


शुक्रबार अन्तिम मत परिणाम घोषणा भएसँगै महानगरको आधिकारिक रुपमा उनी मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका शाहले विजयको माला पहिरिसकेका छन् ।

सबैभन्दा अनुशासनहीन सहर काठमाडौँ महानगर देखिएको छ । महानगरभित्र पैदल यात्रुले सडकमा जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो काट्दैनन् । बाटो-बाटोमा फोहोरका पोका फालिन्छन् । जेब्रा क्रसिङ र आकाशे पुलबाट बटुवालाई बाटो काट्न प्रेरित गर्न नसक्नु शासकको कमजोरी हो ।

सहर हुन सबै आधार पनि चाहिन्छ । सभ्य, समृद्ध र विकास पनि उत्तिकै जरुरी छ । त्यसको परिपूर्ति काठमाडौँले गरेकै छ । काठमाडौँ सहर मात्र नभइ संघीय राजधानी पनि हो । सहरलाई 'सहर'  जस्तो बनाउने जिम्मा पाएका उनले प्राचीन काठमाडौँ, सभ्य र समृद्ध बनाउन सक्लान ? उनको काँधमा महानगरको विकास र समृद्ध बनाउने अभिभारा आइपरेको छ ।

जहाँ सबै प्रकारका ज्येष्‍ठ, वयस्क तथा किशोर किशोरीले प्रतिनिधित्त्व गरेका छन् । साथसाथै उनलाई बिग्रेको अव्यवस्थित सहर, टेकोमा अडिएका सम्पदा बनाउने र अनुशासनहीन सहरलाई अनुशासित बनाउने जिम्मेवार उनको काँधमा आइपरेको छ ।  

यो समाचार तयार पार्दै गर्दा उनीसहितको टोली धन्यवाद र्‍यालीमा छन् । उनका समर्थनहरू काठमाडौँका विभिन्न ठाउँबाट स्वत:स्फुर्त र्‍यालीमा सहभागी भएका छन् । उनको विजयसँगै विभिन्न व्यक्तिहरूले उनलाई सामाजिक सञ्‍जालमा शुभकामना दिएका छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता भुषण दाहालले बधाई दिँदै भनेका छन्, 'मेयर बालेन शाह हार्दिक बधाई । काठमाडौँ महानगरले तपाईंका निर्णयहरूबाट लामो समयदेखि गुमिरहेको अनुशासन फिर्ता प्राप्त गरोस्, आधा समाधान त्यसमा नै निहित हुन्छ ।'

उनले काठमाडौँले गुमाएको अनुशासन फिर्ता ल्याउनुपर्ने धारणा राखेका छन् । उनको थप भनाइ छ,' नेतृत्व दरिलो अडान र कठोर नियमन क्षमताबाट स्थापित हुन्छ न कि लोकप्रियताबाट मात्र। सहरले गुमाएको अनुशासन र वैभव फिर्ता आओस् ।'

अधिवक्ता ओमप्रकाश अर्यालले स्वतन्त्र उम्मेदवारहरू विजयी हुँदा गणतन्त्रको अनुभूति भएको बताएका छन् । स्वतन्त्र उम्मेदवार विजयी भएपछि उनले शुभकामना दिदै सामाजिक सञ्जालमा लेखे,' अब नेतातन्त्रको जरो उखेल्न सफलता मिलोस् ।'

नाटककार विमल सुवेदीले महानगरको मेयर र उपमेयरमा विजयी दुवै युवालाई शुभकामना दिएका छन् । उनले भनेका छन्, 'अहिलेसम्म तपाईले असाधारण उदाहरणहरू स्थापित गर्नुभएको छ र मेरो लागि यो जादु हो ।'

विजयी भएपछि उनले देखिएको जादुले नेपाली राजनीतिले नयाँ दिशातर्फ डोर्‍याउनुपर्ने बताएका छन् ।

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x