स्थानीय तह निर्वाचन २०७९

अस्ट्रेलियामा ८ वर्ष बसेका वडाध्यक्ष किरणको पहिलो निर्णय 'स्कुल टु वर्क'

इकागज |
जेठ १३, २०७९ शुक्रबार १०:३७ बजे

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिका-१३ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । ३६ वर्षीय वडाध्यक्ष किरण बरालले पदभार ग्रहणपछि पहिलो निर्णय सामुदायिक विद्यालयमा ‘स्कुल टु वर्क’ कार्यक्रम गर्ने भएका छन् ।

‘वडाभित्रका माध्यमिक विद्यालयहरूमा ‘स्कुल टु वर्क’ कार्यक्रम सञ्चालन गरी विद्यालय शिक्षालाई सीप विकास र कामसँग जोडेर शैक्षिक गुणस्तर विकास गर्ने निर्णय गरियो ,’ वडाध्यक्ष बरालले भने ।


सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई फिल्डमै लगेर सम्बन्धित विषयको जानकारी दिन यो कार्यक्रम सुरु गर्न लागिएको उनले प्रष्ट पारे । ‘फिल्डमा लगेर सम्बन्धित विषयको जानकारी दिँदा उनीहरूले व्यवहारिक रुपमा पनि बुझ्‍न सक्छन् र शिक्षामा सुधार हुन सक्छ । त्यसकारण यो निर्णय गरेका हौँ,’ उनले सुनाए ।

प्रत्येक घरमा कागतीको बिरुवा वितरण गर्ने निर्णय पनि गरेको छ । यस वडामा बसोबास गर्ने सम्पूर्ण घरपरिवारलाई कृषिमा आत्मनिर्भर हुने कार्यको थालनी गर्न र वातावरण स्वच्छ बनाउन ‘एक घर, एक कागतीको बिरुवा वितरण’ गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ,’ निर्णयबारे सुनाउँदै उनले भने ।

यसले वातावरण स्वच्छ हुने र वडावासीले उपभोग पनि गर्न पाउने हुँदा यो अभियान थालनी गरिएको बरालको भनाइ छ । वडावासीलाई कागतीको बिरुवा वडाले नै उपलब्ध गराउनेछ ।

किरण बराल २ हजार ९ सय ४० मत प्राप्त गरी विजय वडाध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्तराज बराललाई २ हजार २ सय ३४ मतले पराजित गरेका हुन् ।

अध्यक्ष बराल अस्ट्रेलियामा ८ वर्ष बसेर आएका हुन् । अध्यक्ष भएपछि उनले विदेशमा अध्ययन गर्दा हासिल गरेको अनुभव, सिकेका सीप र देखेका विकास आफ्नै वडामा उपयोग गर्ने बताए ।


Author

थप समाचार
x