स्थानीय तह निर्वाचन २०७९

अबको ५ वर्षमा काठमाडौँलाई विश्वकै सुन्दर सहर बनाउने नवनिर्वाचित मेयर बालेनको घोषणा

इकागज |
जेठ १३, २०७९ शुक्रवार ८:५० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकको प्रमुखमा बालेन्द्र शाह विजयी भएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले महानगरको प्रमुखमा बालेन्द्र शाह विजयी भएको औपचारिक घोषणा गरेको हो ।

घोषणापछि बोल्दै नवनिर्वाचित मेयर शाहले काठमाडौँलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने घोषणा गरे । उनले काठमाडौँलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित मेयर शाहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको बताए । उनले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने बताए ।


नवनिर्वाचित मेयर शाहले भने, ‘शुरुवातको रुपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको सुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्ण रुपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौँलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित शाहले ६१ हजार ७६७ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिद्वन्दी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।

त्यस्तै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भएकी छन् । औपचारिक घोषणा कार्यक्रममा काठमाडौँका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित मेयर शाह र उपमेयर डंगोललाई जितको बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।


Author

थप समाचार
x