स्थानीय तह निर्वाचन २०७९

बालेनको जितको सन्देश : अजेण्डा अनुमोदन कि ‘फ्रस्ट्रेसन’ ?

कमल विष्ट |
जेठ ११, २०७९ बुधबार १९:२८ बजे

काठमाडौं – अन्ततः काठमाडौं महानगरपालिकाको मतगणनाको १२औँ दिनमा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले जित्ने निश्चित भएकाे छ । बालेनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जन सिंह र तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग बनाएको मतान्तरभन्दा गन्न बाँकी मत कम भएकाले उनको जित निश्चित भएको हो । 

यो आलेख तयार पार्दासम्मको मतपरिणामअनुसार बालेन ५५ हजार ७ सय ७७ मतसहित जित नजिक छन् । निकटतम प्रतिस्पर्धी सिंहले ३५ हजार ३ सय ७१ र स्थापितले ३४ हजार ६ सय २६ मत ल्याएका छन् । 


कांग्रेसकी उम्मेदवार सिंहले आफ्नो पराजय स्वीकारिसकेकी छन् भने बालेनले आफ्नो जित निश्चित भएपछि सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै आफ्ना शुभेच्छुकलाई बधाई दिएका छन् । काठमाडौंको मेयरको त्रिपक्षीय भिडन्तमा सहभागी स्थापितले पनि केही घण्टापछि आफ्नो हार स्वीकार्नै पर्नेछ । 

तर, देशको संघीय राजधानीसमेत रहेको काठमाडौंको मेयरमा बालेनले आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिने भनेर सार्वजनिक गर्दा धेरैले सोचेका पनि थिएनन् उनी मेयर बन्लान् भनेर । कतिपय नेता र कार्यकर्ताले त उनको उम्मेदवारीलाई हाँसोको विषयसमेत बनाएका थिए । काठमाडौंको मेयरमा सबैभन्दा बलिया प्रतिस्पर्धी आँकलन गरिएका स्थापितले उनलाई आफ्नो प्रतिस्पर्धीसमेत ठोनका थिएनन् । स्थापितले बालेनलाई चुनावी प्रचारप्रसारका क्रममा ‘फुच्चे केटो’को संज्ञा दिएका थिए । 

त्यसो त उनले उम्मेदवारी घोषणा गरेकै दिनदेखि सम्पूर्ण क्षेत्रका सेलेब्रिटी र युवा वर्गको उल्लेख्य साथ तथा समर्थन थियो । वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख १७ गते निर्वाचन आयोगबाट ‘लौरो’ चुनाव पाएर चुनावी अभियानमा होमिएपछि उनको पक्षमा अझ धेरै सेलेब्रिटी तथा युवपुस्ताको समर्थन देखियो । केही सेलेब्रिटी त उनको घरदैलौ अभियानमै हिँडे । घरदैलोका लागि उनी जहाँ जान्थे, उनको पक्षमा युवाहरूको समर्थन देखिइहाल्थ्यो, उनीसँग सेल्फी खिच्नका लागि उनी घेरिइहाल्थे । उनी सामाजिकदेखि मुलधारका मिडियामा पनि उत्तिकै छाइरहे । 

तर, यति हुँदाहुँदै पनि धैरेको अनुमान थियो– सामाजिक सञ्जालमा चर्चित र युवाहरूको साथ हुनु र चुनावमा भोट पाउनु नितान्त फरक कुरा हुन् । यस्तो अनुमान किन पनि थियो भने २०७४ सालको स्थनीय तह निर्वाचनताका पनि यस्तै भएको थियो । काठमाडौंको मेयरमा तत्कालीन विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवारी दिएकी रञ्जु दर्शनाको पक्षमा सामाजिक सञ्जाल र चुनावी अभियानमा व्यापक समर्थन देखिए पनि उनी पराजित भएकी थिइन् । 

दर्शना स्वयंले यसपालिको निर्वाचनको सन्दर्भमा एउटा टेलिभिजनमा अन्तर्वार्ताका क्रममा सामाजिक सञ्जालमा चर्चा हुनु र चुनावमा भोट ल्याउनु फरक कुरा हो भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् । 

तर, मतगणनामा जे देखिँदै गयो, त्यो सायदै कल्पना गरिएको थियो । मतगणनामा देखिँदै गयो, त्यसले उनले राम्रो भोट पाए पनि त्यो जितका लागि पर्याप्त हुँदैन भनेर अनुमान गरेकाहरूलाई आश्चर्यचकित तुल्यायो भने उनलाई ‘फुच्चे केटो’ भनेर काम आँक्नेहरूलाई ठूलो झट्का दियो । र, नतिजाले जे देखाउँदै गयो, त्यसले परिवर्तन चाहने मतदाता र सुरुवाती दिनदेखि नै उनको पक्षमा देखिएका युवाहरूलाई खुसीयाली दियो । आशा दियो, भरोसा दियो ।

त्रिपक्षीय भिडन्तमा सुरुदेखि नै अग्रता बनाएका बालेन मतगणनाको १२औँ दिन काठमाडौंको मेयरमा ठूलो मतान्तरसहित निर्वाचित हुने पक्का भएको छ । सामाजिक तथा राजनीतिक अवस्थामाथि र्यापमार्फत प्रश्न गरिरहेका बालेन अबको केही दिनमा जवाफ दिने हैसियतमा पुग्दै छन् । 

पेसाले र्यापर र स्ट्रक्चरल इन्जिनियर बालेनको एकाएक उदयको विषय अहिले चियापसलदेखि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । दशकौंदेखिका स्थापित दलहरूलाई विस्तापित गरेर उदाएका उनी अहिले धेरैको चासो र चर्चाको केन्द्रमा छन् । सबैभन्दा रोचक कुरा त के छ भने उनले आफूले जति भोट ल्याएर जित्छु भनेका थिए त्यो सत्य सावित हुँदैछ । 

आफ्ना हरेक अन्तर्वार्तामा उनको दाबी थियो– कुल मतदाताको ९० हजार ८ सय ३५ मत ल्याएर जित्छु । आफूले कुल मतदाताको ३० प्रतिशत मत ल्याउँछु भनेर दाबी गर्दा उनलाई धेरैले हाँसोको पात्र बनाएका थिए । 

तर, उनीको अनुमान सही सावित हुने बाटोमा छ । यही अनुपातमा भोट पाइरहे उनले काठमाडौंमा झरेको कुल १ लाख ८९ हजार ४३० को ३० प्रतिशत मत पाउने निश्चित छ ।

यसरी आफूले दाबी गरेजत्ति नै भोटसमेत ल्याएर उनी निर्वाचित हुनुको मुख्य कारण के होला ? उनको चुनावी अजेण्डाबाटै प्रभावित भएर नगरवासीले उनलाई भोट दिएका हुन् कि वाचामात्र गर्ने तर काम नगर्ने अन्य दलबाट ‘फ्रस्टे«टेड’ भएर भोट दिएका हुन् ? अहिले धेरैको मनमा यो प्रश्नको कौतुहलता छ । 

के भन्छन् राजनीतिक विश्लेषकहरू ?​

नगरवासीले उनलाई अनुमोदन गर्नुको मुख्य कारण उनको अजेण्डा नभएको मान्छन् राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर । बालेनसँग धनगढीका मेयर गोपाल हमाल र धरानका मेयर हर्क साम्पाङजस्तो स्पष्ट भिजन नभएको बताउँछन् । नगरवासीबाट उनले पाएको भोट हुइम र फ्रेस्ट्रसनको उपज हो भन्ने पिटरको तर्क छ । 

‘दलहरूको गतिविधिले नागरिकमा उनीहरूप्रति विश्वास कम हुँदै गयो । उनीहरू आफ्नो सिद्धान्तको राजनीतिभन्दा सुविधाको राजनीति निरन्तर लाग्दै गएपछि नागरिकहरू निराश हुँदै गए,’ आफ्नो तर्कमा पिटरको खण्डन छ, ‘बालेन पछिल्लो समय विकल्पका रुपमा देखिए । त्यसैले जनताले उनलाई अनुमोदन गरे ।’

बालेनले पाएको भोटमध्ये केही ‘नो भोट’ र केही दलप्रतिको ‘बद्ला’ स्वरुपको भोट भएको उनको भनाइ छ । विश्लेषक पिटरले २०३८ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतको प्रमुखमा स्वतन्त्र उम्मेदवार नानीमैयाँ दाहाललाई जिताएर पञ्चायती व्यवस्थासँग बद्ला लिएको घटना स्मरण गरे । 

‘काठमाडौं जस्तो सामरिक रुपमा अत्यन्तै महत्वपूर्ण शहरमा भ्रष्ट शासकहरु जन्मिइरहन्छन् । नागरिकहरू भ्रष्ट शासकहरूको विरुद्धमा यस्ता पात्रहरू निर्वाचित गरिरहन्छन्,’ उनले भने, ‘नागरिकहरू दलहरूप्रतिको अत्याचारविरुद्ध अन्तिमपल्ट सडकमा जानुपुर्व यस्ता पात्रहरू बद्ला स्वरुप उठाउँछन् । नानीमैयाँ दाहाल, गोल्छे सार्की, बालेनहरू प्रतिनिधि पात्र हुन् ।’

धेरैलाई बालेनले मेयरमा लड्ने घोषणा एक्कासी गरेका हुन् वा भनौँ पूर्वतयारी बिना गरेका हुन् भन्ने लागेको छ । तर, यो कुरा साँचो होइन । उनले त आफू मेयरमा लड्ने घोषणा गत निर्वाचनताकै गरिसकेका छन् । काठमाडौं महानगरपालिकाको निर्वाचनकै दिन उनले अर्को पटक आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए । 

उनले त्यति बेला लेखेका थिए–

मैले आज भोट हालिनँ
किनकि म उम्मेदवार होइन 
मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेको छु 
स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गर्दैछु
मलाई देश कसरी बनाउनुपर्छ भनेर थाहा छ
म अर्को पटक आफैँ उम्मेदवार भएर आफैँलाई भोट हाल्नेछु
आफैँ मेरो राष्ट्र विकास गर्नेछु
मलाई अरु कसैको भर लाग्दैन । 

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने बालेनले पाएको मत यी पाँच वर्षमा उनले गरेको गृहकार्यको प्रतिफल भएको मान्छन् । लामो समयदेखि योग्य प्रतिनिधि खोजिरहेका नगरवासीहरूले बालेनलाई आफ्नो प्रतिनिधिका रुपमा देखे र विश्वास गरे भन्ने आचार्यको बुझाइ छ । 
‘नागरिकले उनलाई योग्य विकल्पका रुपमा देखेर भोट दिएका हुन्,’ उनले भने ।

के भन्छन् बालेनलाई भोट दिएका स्थानीयहरू ?

काठमाडौं वडा नं ३२ कोटेश्वर निवासी मनिष थापाले मेयरमा बालेनलाई भोट दिए । तुलानात्मक रुपमा बालेन आफ्नो काम र योजनामा स्पष्ट भएकाले आफूले उनलाई भोट दिएको थापा बताउँछन् । थापाले बालेनको भिजनमा हरेक क्षेत्रको विकास समेटिएको पाए । 

‘काठमाडौं एक सांस्कृतिक सहर हो । उनले सुरुको केही अन्तर्वार्तामा यहाँको ढुंगेधारा, फाल्चा, चाँडपर्व आदि कुरा राखे र त्यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने उपाय पनि सुझाए । जसले नेवार समुदायलाई समेत धेरै हदसम्म आकर्षण ग¥यो,’ थापाले बालेनलाई मत दिनुको कारणमा भने, ‘म सामाजिक विकाससँगै आर्थिक विकास, शहरी विकास हुनुपर्छ भन्ने व्यक्ति भएकोले उनको विचार मेरो सोचसँग मिलेको महसुस भयो र आफूले पनि मत हालेँ र चिनेजानेकालाई पनि मत हाल्न सुझाएँ ।’

आफूमाथि अरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा नकारात्मक टिप्पणी गर्दा पनि त्यसको प्रतिरोधमा नउत्रिएर बरु सकारात्मक रुपमा प्रतिक्रिया दिने बानीले पनि थापा आफू बालेनप्रति प्रभावित भएको बताउँछन् । 

थापा अनुभवका हिसावले केशव स्थापित उम्दा भए पनि बोली र व्यवहारले उनी सफल हुन नसकेको बताउँछन् । उनी बालेनले जित्नुको एउटा मुख्य कारण मतदाताहरूको राजनीतिक दलप्रतिको वितृष्णा पनि हो भन्ने मान्छन् । 

काठमाडौं महानगर वडा नं ४ सुकेधारा निवासी सृजन राजवंशीले पनि बालेनको भिजन मन पराएर उनलाई भोट दिए । राजवंशी बालेनलाई पाँच वर्षदेखि तयारी गरिरहेका एक सक्षम उम्मेदवार मान्छन् । त्यसमाथि उनी पेसाले पनि इन्जिनियर भएकाले उनी अझ सक्षम छन् भन्ने लागेर आफूले भोट दिएको राजवंशी बताउँछन् । 

‘पूराना पार्टीहरूमा आफूले जो उठाए पनि जित्छ भन्ने दम्भ थियो । नागरिकहरूले यसपालि एउटा सक्षम उम्मेदवारलाई जिताएर उनीहरूको दम्भ तोड्ने काम गरेका छन्,’ राजवंशीले भने ।

उनले अगाडि भने, ‘काठमाडौंका जनताहरूले आफू कसैको रैती होइन, अधिकांश नेवाःहरू जातीय साम्प्रदायिक कुरामा सहिष्णु नै हुन्छन् भन्ने देखाउन पनि बालेनलाई भोट दिएका हुन् ।’


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x