स्थानीय तह निर्वाचन २०७९

गण्डकीमा दोहोर्‍याएर उम्मेदवारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

इकागज |
जेठ ७, २०७९ शनिवार १४:४१ बजे

पोखरा – गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन् । यस्तै, सिरान्चोक गाउँपालिका उपाध्यक्षमा रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी छिन् ।


तर, गोरखाकै धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ पराजित भइन् । यता, तनहुँको बन्दिपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ पनि पराजित भएकी छिन् । ऋषिङकी उपाध्यक्ष गीनुमाया थापा, म्याग्देका बालकृष्ण घिमिरे र भीमादका उपमेयर सारदा खनाल भने विजयी भइन् । कास्कीको रुपा गाउँपालिकामा उपाध्यक्ष लालसुब्बा गुरुङ पुनः निर्वाचित भएकी छिन् भने पोखरा महानगरमा दोहोर्‍याउन खोजेकी मन्जुदेवी गुरुङको गणना सकिएको छैन । स्याङजामा कालिगण्डकीको उपाध्यक्ष सावित्रा कोइराला दोश्रो पटक निर्वाचित हुँदा पुतलीबजारका महेश पुरी र गल्याङकी देवीसरा थापा पराजित भइन् ।

दोहोर्‍याएर मनोनयन दर्ता गरेकी नवलपुरकी एकमात्र उपमेयर देवचुली नगरपालिकामा दोश्रो पटक पनि विजयी भएकी छिन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ढिकी गुरुङ पुनः निर्वाचित भएकी छिन् । बागलुङ ढोरपाटनकी उपमेयर करमती पुन र पर्वतको फलेबास नगरपालिका उपमेयर मन्जु अधिकारी पराजित भएका छन् । यस्तै, उपाध्यक्षबाट अध्यक्षमा बढुवा हुन खोजेका दुईजना पनि पराजित भए । कांग्रेसबाट मुस्ताङको थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचन र एमालेबाट स्याङजाको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ अध्यक्षमा पराजित भएका हुन् ।


Author

थप समाचार
x